![शंखरापुरको स्कुल बस दुर्घटना अपडेट : ४३ घाइतेमध्ये २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा](https://himalpress.com/wp-content/uploads/2024/08/Accident-Photo-himal.jpeg)
काठमाडौँ- काठमाडौँको शंखरापुर नगरपालिका-५ मा बुधबार दुर्घटनाका ४३ घाइतेमध्ये २७ जना डिस्चार्ज भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार सामान्य घाइते २७ जना डिस्चार्जपछि आज बिहान घर फर्किएका हुन्।
गत बुधबार नगरकोटमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस कात्तिकेमा दुर्घटना भएको थियो।
सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका-७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका १४ वर्षीय शुसांक डोटेलको मृत्यु भएको थियो। उनीहरू तीनै जना विद्यार्थी हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसांकको शंखरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
अहिले दुईको केएमसी अस्पतालमा, नौको एनएमसी अस्पतालमा, एकको मेडिसिटी अस्पतालमा, दुईको शिक्षण अस्पताल महाराजगञ्जमा, एकको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोहराले जानकारी दिए। बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि उनले बताए।