काठमाडौँ- क्रिकेटमा कहिलेकाहीँ अप्रत्यासित नतिजा आउने गर्दछन्। कहिले हार नजिक भएको टिमले जित निकाल्छ त कहिले अपत्यारिलो लक्ष्य पनि पूरा हुन्छ।
यस्तै भयो, बुधबार पाकिस्तानको कराँचीमा। जहाँ अहिले दक्षिण अफ्रिका, पाकिस्तान र अष्ट्रेलियाको त्रिदेशीय एक दिवसीय शृंखला चलिरहेको छ। बुधबार पाहुना टोली दक्षिण अफ्रिकाले पाकिस्तानलाई ३५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। घरेलु टोली पाकिस्तानले लक्ष्य पूरा गर्दै कीर्तिमान रचेको छ।
पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवान र उप कप्तान सलमान अघा दुवैले शतक प्रहार गर्दा दक्षिण अफ्रिकामाथि पाकिस्तान ६ विकेटको जितको भागीदार बन्यो। यो जितले पाकिस्तान त्रिदेशीय शृंखलाको फाइनल पुगेको छ। पाकिस्तानका लागि रिजवान एक्लैले रिजवान १२८ बलमा ९ चौका र ३ छक्कासहित १२२ रन बनाएका थिए।
उपकप्तान सलमान अघाले १०३ बलमा १६ चौका र २ छक्कासहित १३४ रनको शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए।
जित्नलाई ३५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि सन् २०२३ मा घरेलु मैदान लाहोरमै अष्ट्रेलियाविरुद्ध ३ सय ४९ रनको लक्ष्य पूरा गरेको थियो ।
लुंगी एनगिडीको ४९ औं ओभरको पाँचौं बलमा एज लागेको अपिलमा दक्षिण अफ्रिका सफल भएपछि सलमान अविजित फर्किन पाएनन्। उनी आउट हुँदा जित्नलाई २ रन आवश्यक हुँदा तयाब ताहिरले चौका हान्दै खेल सकाए।
कप्तान मोहम्मद रिजवान १२८ बलमा ९ चौका र ३ छक्कासहित १ सय २२ रनमा अविजित रहे। एक समय १०।४ ओभरमा ९१-३ को अवस्थामा पुगेको पाकिस्तानलाई चौथो विकेटका लागि रिजवान र सलमानले २ सय २९ बलमा २ सय ६० रनको साझेदारी गरेका थिए।
यो पाकिस्तानी ब्याटरले एक दिवशीय क्रिकेटमा चौथो विकेटलाई गरेको उच्च साझेदारी हो। यसअघि चौथो विकेटलाई सन् २००९ मा सोएब मलिक र मोहम्मद युसुफले भारतविरुद्ध २०६ रनको साझेदारी गरेका थिए।
पाकिस्तान एक दिवशीय इतिहासकै यो तेस्रो ठूलो साझेदारी हो। यसअघि ओपनर फखार जमान र इमाम उल हकको २०१८ मा जिम्बावेविरुद्ध ३ सय ४ तथा सन् १९९४ मा न्युजिल्यान्डविरुद्ध इन्जामाम उल हक र अमर सोहेलले दोस्रो विकेटलाई २ सय ६३ रनको साझेदारी गरेका थिए।
ओपनर फखार जमान २८ बलमा ६ चौका र १ छक्कासहित ४१, बाबर आजम १९ बलमा ४ चौकासहित २३ र साउद सकिल १५ रनमा आउट भए । दक्षिण अफ्रिकाका वियान मुल्डरले २, लुंगी एनगिडी र कोब्रिन बोचले १(१ विकेट लिए।
त्यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो। युवा ब्याटर म्याथ्यु ब्रिट्ज्कीले ८४ बलमा १० चौका र १ छक्कासहित ८३ रन बनाए।
उनले न्युल्यिान्डविरुद्ध डेब्यू खेलमै १ सय ५० रनको शतकीय इनिङ खेलेका थिए । हेनरिक क्लासेनले ५६ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन जोडे । कप्तान टेम्बा बभुमा ९६ बलमा १३ चौकासहित ८२, टोनी डी जोर्जी २२, काइल भेरेभन ४४ रनमा आउट भए।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले २, नसिम साह र खुसदील शाहले १-१ विकेट लिए। फाइनलमा शुक्रबार न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन्। न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ६ विकेट र पाकिस्तानलाई ७८ रनले हराएको थियो।