डिभोर्सपछि एलिनालाई रचना र समीक्षाले के भने?

हिमाल प्रेस ३० माघ २०८१ १६:२४
36
SHARES
डिभोर्सपछि एलिनालाई रचना र समीक्षाले के भने?

काठमाडौँ- चर्चित गायिका एलिना चौहानले मंगलबार सामाजिक सञ्जालबाट श्रीमान् विष्णु सापकोटाबाट सम्बन्ध विच्छेद (डिभोर्स) भएको खबर औपचारीक रूपमा सार्वजनिक गरेपछि उनीप्रति सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन्।

एलिनाप्रति उनकै छिमलका गायिकाहरू रचना रिमाल, समीक्षा अधिकारीलगायतले सहानुभूति जनाएका छन्। उनीहरूले एलिनालाई हौसलाका साथ अगाडि बढ्न सुझावहरू दिइरहेका छन्। गायिका रिमालले आफूहरूले सांगीतिक क्षेत्रमा प्रवेश गरेदेखि नै एक अर्काको दुःख सुख साटिरहेको बताएकी छिन्। उनले आफूहरूको सम्बन्धमा दरार ल्याउन केही मान्छेहरू लागि परे पनि त्यो सफल नभएको बताएकी छिन्।

एलिनाले भोगेको पीडाहरू सुन्दा आफूलाई नै पीडा महसुस हुने गरेको पनि रिमालले उल्लेख गरेकी छिन्। उनले लेखेकी छन्,‘हामो कुराकानी हुँदा तपाईंको भित्री मनले भोगिरहेको पीडा थाहा पाउँदा कति समय म आफूलाई नै पीडा महसुस हुन्थ्यो। अन्ततः आज तपाईँले एकदम ठूलो आँट र मनले यो निर्णय लिनुभएको छ। दिदी, अब तपाईँलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ। अरू खुसी आउँदै, जाँदै गर्छन् तर मनको खुसी आफैंले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदी।’

अर्की गायिका समीक्षाले पनि डिभोर्सको निर्णय लिएर एलिनाले आफूलाई सक्षम र साहसी नारी साबित गरेको बताएकी छन्। हिजोका दिनमा आफूलाई पीडा पर्दा उत्प्रेरणा दिएको पनि उनले भनेकी छिन्। समीक्षाले लेखेकी छिन्,‘हिजो मलाई अन्यायका विरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यति बेलै तपाईँ साँच्चै साहसी लाग्नुहुन्थ्यो। आज हिंसा र यातना विरुद्ध जीवनको सारथिबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक साबित गरिदिनुभएको छ। सलाम छ। बहिनीका रूपमा म सधैँ तपाईंको साथमा रहिरहनेछु।’

मंगलबार काठमाडौँ जिल्ला अदालतबाट एलिना र विष्णुले सम्बन्ध विच्छेद गरेका थिए। सम्बन्ध विच्छेदपछि आफूले पाउने सम्पत्ति नलिनेसमेत एलिनाले बताएकी थिइन्। उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्,‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।’

उनले विष्णुलाई सम्बोधन गर्दै प्रगतिको शुभकामना समेत दिएकी थिइन्। उनको भनाइ थियो, ‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ। आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु। (माघ २९)’

प्रकाशित: ३० माघ २०८१ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast