![‘परालको आगो’ मा भित्रिए जितु](https://himalpress.com/wp-content/uploads/2025/02/Paralko-Ago-and-Jitu-nepal.jpg)
काठमाडौँ- कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई फिल्ममा अनुबन्ध गरेका हुन्।
मैनाली कथा पुरस्कार ट्रस्टले केही महिनाअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिइसकेको छ। ‘परालको आगो’ मैनालीको कथासंग्रह ‘नासो’मा समावेश छ। निर्माता पोखरेलकाअनुसार जितु फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन्।
‘अर्को प्रमुख पात्र चाँडै फाइनल हुनेछ। यसबाहेक सेकेण्ड लिडका लागि एक महिला पनि फाइनल हुँदैछिन्’, निर्माता पोखरेलले भने, ‘चामे, गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितुको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेका छौँ।
फिल्ममा यसअघि नै अभिनेत्री सुहाना थापा फाइनल भइसकेकी छन्। कथा ‘परालको आगो’ मा एक दम्पति चामे र गौँथली पात्रको झैँझगडालाई प्रस्तुत गरिएको छ। यही नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए। निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गर्न लागेको बताए।
फिल्म लक्ष्मण सुनारले निर्देशन गर्नेछन्। फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ। फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन्।
निर्माता पोखरेलले यसअघि फिल्म ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन्।