महाकुम्भको महत्त्व किन यति धेरै?

हिमाल प्रेस ३० माघ २०८१ ८:१४
10
SHARES
महाकुम्भको महत्त्व किन यति धेरै? ‘मौनी औँसीका’ को अवसरमा बुधबार भारतको प्रयागराजस्थित गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगमस्थलमा पवित्र स्नान गर्न भेला भएका श्रद्धालु। तस्बिर : एएफपी/रासस

प्रयागराज- भारतको प्रयागराजमा लागेको महाकुम्भमा श्रद्धालु पुग्ने क्रम बढिरहेको छ। नेपाललगायत विभिन्न देशबाट श्रद्धालु भक्तजन पुगेका छन्। महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवका अनुसार मेला समापनका दिनसम्ममा ५५ करोड भक्त आउने उनको अनुमान छ।

महाकुम्भ मेलाबाट नेपालले पनि धार्मिक पर्यटन प्रवद्र्धन गरी लाभ लिन सक्ने सूचना अधिकारी यादवले बताए। महाकुम्भमा आउने अधिकांश भक्तजन अयोध्यास्थित भगवान् रामको मन्दिर र वाराणसीस्थित विश्वनाथबाबाको मन्दिरमा पुगिरहेका छन्। त्यसैगरी, उनीहरूलाई नेपालका प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीलगायत स्थानमा लैजान सकिने यादवले बताए।

विश्वका विभिन्न देशबाट महाकुम्भमा सहभागी हुन आउनेको संख्या अनपेक्षित रूपमा बढे पनि मेला व्यवस्थापन भने चुस्त छ।

सबै भक्तजनलाई स्नान गर्न मिल्नेगरी नदी किनारमा व्यवस्थापन गरिएको छ । स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि आवासीय सुविधासहितको ‘पडकास्टिङ’ सञ्चालन गर्नेका लागि पनि स्थल बनाइएको छ। साथै आगन्तुकका लागि अस्थायी आवास निर्माण गरिएको छ।

सूचना अधिकारी यादवका अनुसार मेला सञ्चालनका लागि हालसम्म भारत सरकारले ७५ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

के हो महाकुम्भ?

आजभन्दा आठ सय ५० वर्षअघि पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ। आदिशङ्कराचार्यले महाकुम्भको सुरुआत गरेका थिए। केही पौराणिक कथाहरूमा कुम्भको आयोजना समुद्र मन्थनपछि हुन थालेको वर्णन पनि पाइन्छ।

प्रसिद्ध चिनियाँ यात्री हेनसाङले आफ्नो भारत यात्राका क्रममा कुम्भमेला आयोजना भएको उल्लेख गरेका थिए।

हेनसाङका अनुसार राजा हर्षबद्र्धनले प्रत्येक पाँच वर्षमा नदीहरूको संगममा ठूला कार्यक्रम आयोजना गर्दथे। ती कार्यक्रममार्फत राज्यको सम्पत्तिबाट केही हिस्सा धार्मिक व्यक्तिहरूलाई दान दिन्थे ।

त्यसबाहेक कुम्भको महिमा शिव पुराण, मत्स्य पुराण, पद्म पुराण र भविष्य पुराणमा उल्लेख भएको पाइन्छ । समुद्र मन्थनका क्रममा जब अमृतको कलश निस्कियो तब देवता र राक्षसबीच अमृतको कशल तानातान भयो।

सोही संघर्ष कम गर्नका लागि भगवान् विष्णुले मोहिनी रुप लिएका थिए । त्यसपछि जब देवता र राक्षसहरूबीच संघर्ष बढ्न थाल्यो तब इन्द्रदेवका पुत्र जयन्तलाई अमृतको कलश जिम्मा लगाइयो।

जयन्त कौवाको रूप धारण गरी राक्षसहरूबाट अमृतकलश खोसेर उड्न थाले। उड्ने क्रममा अमृतका केही थोपा प्रयागराज, उज्जैन, हरिद्वार र नासिकमा खसेको विश्वास गरिन्छ। अमृत खसेका स्थानमा कुम्भमेला हुन थालेको हो। रासस

प्रकाशित: ३० माघ २०८१ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast