![स्वर्गद्वारी गुठीपीडित किसानका पक्षमा सांसदहरू](https://himalpress.com/wp-content/uploads/2025/02/samsadbaidhtak.jpg)
काठमाडौँ- सांसदहरूले स्वर्गद्वारी गुठीपीडित किसानलाई यथाशीघ्र न्याय प्रदान गर्न माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरूले आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित किसानलाई यथाशीघ्र न्याय प्रदान गर्न सरकारसँग माग गरेका हुन्।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले वास्तविक मोही किसानको पक्षमा भएको सहमतिअनुसार सरकारले यथाशीघ्र न्याय प्रदान गर्न आग्रह गरे। उनले भने, ‘स्वर्गद्वारी आस्थाको धरोहरका रुपमा छ। यसको संवर्द्धन र प्रवर्द्धनका लागि सरकारको चासो रहनुपर्छ।’
उनले स्वर्गद्वारी आश्रमको जग्गा मोहीका नाममा भोगचलन भइरहेको भए खोजतलास गर्न सरकारसँग माग गरे। ‘स्वर्गद्वारी आश्रमको दाङ देउखुरी र घोराहीलगायतमा रहेको जग्गा यदि कुनै संघसंस्थाले वा गैरमोही किसानका नाममा भोगचलन भइरहेको छ भने त्यसको पनि राज्यले खोजतलास राज्यले गरोस्’, गिरीले भने।
सांसद अनिशा नेपालीले आन्दोलनरत स्वर्गद्वारी गुठीका मोही किसानको जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद अस्माकुमारी चौधरीले पनि स्वर्गद्वारी गुठीपीडित किसान काठमाडौँ र जिल्लामा समेत आन्दोलन गरिरहेकाले उनीहरुका माग सुनुवाइ हुनुपर्ने धारणा राखिन्।
सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै केही समयदेखि स्वर्गद्वारी गुठीपीडित आन्दोलनरत छन्। मोही किसानहरुलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ।