भुसालमाथि नेपालको पनि पेलान

किरण पौडेल २९ माघ २०८१ २१:०४
54
SHARES
भुसालमाथि नेपालको पनि पेलान

काठमाडौँ- केपी शर्मा ओलीको ‘कपट’ मा परेर एमालेबाट अलग भएका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा पनि पेलानमा परेका छन्। अध्यक्ष नेपालले लगाम लगाएपछि महासचिव भुसाल समाजवादीभित्र निरीह बन्दै गएको नेताहरूले बताए। भुसाल समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको टकरावमा कमजोर बनेको समाजवादीका उनीहरूको दाबी छ।

समाजवादीमा नेपालले भुसाललाई चाहेको जिम्मेवारी नदिएको र भुसाल निकट नेतालाई पनि किनाराकृत गर्न खोजेको गुनासो बढेको छ।

नेपाल र भुसालबीच अन्तरसंघर्ष चलेको गत असारमा सम्पन्न समाजवादी १० औँ महाधिवेशनदेखि हो। महाधिवेशनमा भुसाल अध्यक्षमा लड्ने तयारीमा थिए। नेपालले भुसाललाई महासचिवमै थमाएर अध्यक्षमा दोहोरिए। नेताहरूका अनुसार पछिल्लो समय अध्यक्ष नेपालले महासचिव भुसाललाई जिम्मेवारीविहीन बनाउन खोजेका छन्। यद्यपि यसबारे भुसालले पार्टीमा केही बोलेका छैनन्। ‘अध्यक्ष कमरेड र महासचिवबीच तिक्तता देखिएको छ। जसकारण पार्टीको जिम्मेवारी बाँडफाँट पनि लम्बिएको छ,’ समाजवादीका एक नेताले भने।

भुसाल किनारामा पर्नुको कारण अध्यक्षमा प्रतिस्पर्धा गर्न उत्रन खोज्नु रहेको ती नेताको दाबी छ। भुसाल एमालेमा रहँदा नेपाल निकटस्थ थिए। नेपालले एमालेबाट विद्रोह गर्दा भुसाल एमालेमै रहे। एमालेमा ओलीका कारण लामो समय टिक्न नसकेका भुसाल २०७९ पुसमा समाजवादीमा प्रवेश गरे भने सोही वर्ष चैतमा महासचिव बनेका थिए।

नेपालले आफू निकट वेदुराम भुसाललाई पार्टी महासचिव हटाए घनश्यामलाई भित्र्याएका थिए। भुसाल एक वर्षपछि अध्यक्ष नेपाललाई टक्कर दिने गरी अघि बढे। सोही कारण नेपालले दबाउन थालेको उनी निकट नेताहरूको दाबी छ।

महाधिवेशनपछि भुसालले आफूलाई संगठन विभागको प्रमुख दिन अनुरोध गरेका थिए। नेपालले घनश्यामलाई नदिई बेदुराम भुसाललाई जिम्मेवारी दिए। पछिल्लो समय त भुसाल निकटस्थ मानिने नेताहरूलाई पदबाट समेत नेपालले हटाउन थालेका छन्।

समाजवादीका नेताहरूका अनुुसार महाधिवेशनमा भुसाललाई अध्यक्षमा बनाउन लाग्नेहरू अहिले नेपालले जिम्मेवारीविहीन बनाउँदै लगेका हुन्। ‘महासचिवलाई रोक्न जिम्मेवारी बाँडफाँट माघसम्म पुर्‍याइयो। नभए अस्ति टुंगिन्थ्यो’, एकीकृत समाजवादीका नेता दीपक जीएम भन्छन्, ‘अहिले महासचिव बोल्नु’भा छैन। जिम्मेवार ठाउँमा पुगेपछि जबाफदेहितासमेत लिुनपर्‍यो।’

भुसाल पक्षका आरती र कृष्णलाई डण्डा!

पार्टीको १० औँ महाधिवेशनमा घनश्याम भुसाललाई अध्यक्षमा मत माग्ने समाजवादीका भ्रातृ संगठनका नेताहरू केही दिनयता पदविहीन बनेका छन्। अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका संयोजक कृष्ण विश्वकर्मालाई पदबाट हटाइएको छ। उनीहरूलाई अपानि (अन्तरपार्टी निर्देशन) मार्फत हटाइएको हो।

कृष्ण र आरती झलनाथ पक्षमा थिए। पार्टी महाधिवेशनपछि उनीहरू घनश्याम पक्षमा खुलेका थिए। ‘म नेतृत्व छाड्ने थिएँ तर बहिर्गमनका लागि समय दिइएन,’ आरतीले हिमालप्रेससँग भनिन्, ‘कारण के हो थाहा भएन।’

विश्वकर्माले पनि एकाएक जिम्मेवारीबाट हटाइएको जानकारी दिए। उनले भने, ‘नयाँ नेतृत्व लिनका लागि जिम्मेवारीविहीन बनाउन खोजिएको भनिएको छ तर कसरी गरिन्छ अधिवेशन?’ यसअघि विद्यार्थीको संगठनमा सुदेश पराजुली अध्यक्ष रहँदा आरती महासचिव थिइन्।

पराजुली अध्यक्ष नेपाल निकटस्थ हुन्। पराजुलीले छाडेपछि आरती अध्यक्ष बनिन् भने महासचिवमा महेश श्रेष्ठ चयन भए। आरतीलाई हटाएर अन्य कसैलाई पनि विद्यार्थी नेतृत्वको जिम्मा दिइएको छैन। युवा संघमा कृष्णभन्दा अगाडि नरेश शाही अध्यक्ष थिए। शाहीले छाडेपछि युवा संघमा किचलो बढेको थियो। कृष्ण विश्वकर्माले युवा संघको अध्यक्ष बन्दा समानान्तर गतिविधिसमेत बढेको थियो। अध्यक्ष नेपाल निकट नितेश पौडेलले समानान्तर गठन गरेका थिए। अहिले नेपालले विकलाई हटाएका छन्। ‘हामीलाई किन हटाइयो जानकारी छैन। म काम गरिरहेकै थिएँ,’ विश्वकर्मा भन्छन्।’

महाधिवेशन नै विवादको बिउ

समाजवादीको महाधिवेशन असारमा भए पनि पदाधिकारी र पोलिटब्युरो सदस्यको चुनाव भने असोजमा गरिएको थियो। भुसाल-नेपाल समूहका नेताबीच पदीय भागबन्डा नमिल्दा चुनाव गर्नुपरेको थियो। चुनावमा नेपाल पक्षले चिट बाँडेर भुसाल पक्षलाई हराएको नेताहरूको आरोप छ।  ‘भुसाल पक्षधर नेतालाई हराउनकै लागि चिट बाँडिएको थियो,’ एक नेता भन्छन्। यस विषयमा भुसाल मौन रहँदै आएका छन्।
यसअघि समाजवादीमा नेपाल-खनाल विवाद हुने गरेको थियो। महाधिवेशनपछि भने भुसाल-नेपाल पक्षको टक्कर बढेको छ।

घनश्याम पहिले विद्रोही, अहिले निरीह

घनश्याम भुसाल कम्युनिस्ट आन्दोलनका दरिलो नाम भएका नेता मानिन्छन्। उनी प्रस्ट वक्ता र सैद्धान्तिक नेताको छवि भएका नेता रहेको जानकारहरूको बुझाइ छ। यही कारण उनी एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीको आलोचक थिए।

एमालेको १० औँ महाधिवेशनमा ओलीको चाहनाविपरीत भुसालले उपाध्यक्षमा लडे। चितवनमा भएको महाधिवेशनको बेला भुसालले ‘ओली कमरेड हामीलाई हार्न दिनुहोस्’ भने र चुनाव लडिछाडे। ओली आफूले घोषणा गरेको प्यानललाई सर्वसम्मत गराउन चाहन्थे। भुसालसहितका केही नेता बाधक बनेका थिए। चुनाव हारेपछि पनि ओलीका नजरमा भुसाल सधैँ ‘आलोचक’ देखिरहे।

भुसाल पनि ओलीविरुद्ध वाक्युद्धमा लाग्थे। एमालेको १० औँ महाधिवेशनलाई भुसालले ‘सौराहा काण्ड’ भनेका थिए। ‘ओलीजीले फरक मतलाई मार्न खोज्नुभयो। तर जिउँदो संगठनमा त्यस्तो सम्भव हुँदैन’, भुसालले एक अन्तर्वार्तामा भनेका छन्।

पार्टी बैठकमा समेत ओलीले बोल्न निषेध गर्ने गरेको भुसाल बताउँथे। ओलीले पनि भुसाललाई किनारामा पु¥याएरै छाडे। महाधिवेशनमा उपाध्यक्षमा हराइदिएका ओलीले भुसाललाई प्रतिनिधिसभाको निर्वाचनमा पनि टिकट दिएनन्।

रूपन्देही १ बाट चुनाव लड्ने तयारी गरेका भुसाललाई रोकेर एमाले सचिव छविलाल विश्वकर्मालाई ओलीले टिकट थमाए। ओली-भुसाल सम्बन्ध टुट्ने कारण त्यही बन्यो। भुसाल चुनाव उठ्नैका लागि एमालेबाट बाहिरिए। उनी वामपन्थी षट्कोण चुनाव लिएर चुनाव लडे र हारे।

त्यसपछि एमालेबाटै फुटेको एकीकृत समाजवादीतिर लागे भुसाल। महासचिव लिने सर्तमा समाजवादी पुगेका उनी १० औँ महाधिवेशनमा अध्यक्षका आकांक्षी देखिए। समाजवादी नेताहरूका अनुसार त्यसबेला नेपालले अर्का सम्मानित नेता झलनाथ खनालसँग मिलेर अध्यक्षमा सर्वसम्मत भए भने भुसाल महासचिव बने।

‘मैले यसपटक पुस्तान्तरण गर्न सकिनँ तर लागिरहन्छु,’ भुसालले महासचिव चुनिएपछि भनेका थिए। निकट नेताहरूका अनुसार भुसाललाई नेपाल-खनाल गुट मिल्दा अध्यक्षमा रोकिएको थियो।
भुसालले पुस्तान्तरणको कुरा उठाएका थिए तर नेपाल-खनालले मानेनन्। यसपछि भने भुसाललाई शक्तिमा आउन नदिन नेपाल लागेको निकट नेताहरू बताउँछन्। समाजवादी नेता दीपक जीएम केन्द्रीय नेतृत्वकै कारण पार्टीमा मनमुटाव बढेको सुनाउँछन्।

समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्याल भने पार्टी नेतृत्वले गरेका कामकारबाही सही वा गलत भन्ने विषय पार्टीभित्रकै बहस भएको बताउँछन्। ‘पार्टीले भनेपछि मान्नुपर्छ। सही वा गलत भन्न मिल्दैन’, अर्यालले भने।

समस्या छ : भुसाल

भुसाल पनि जिम्मेवारी बाँडफाँटमा ‘समस्या’ रहेको स्विकार्छन्। ‘धेरैलाई व्यवस्थापन गर्दा असन्तुष्टि देखिन सक्छ। सबै कुरा नमिलेको हुन सक्छ,’ भुसालले हिमाल प्रेससँग भने। तर उनले आफू पनि जिम्मेवारी बाँडफाँटमा लागेको बताए।

‘म पनि जिम्मेवारी बाँड्ने तहमै थिएँ। मैले असन्तुष्टि जनाउनुपर्ने कारण छैन’, भुसाल भन्छन्। उनी अहिले समाजवादीको अनुगमन तथा मूल्यांकन विभाग प्रमुख छन्। समाजवादीका नेताहरूका अनुसार भुसाललाई नेपालले संगठन विभाग नदिने भएपछि भुसालले उक्त विभाग मागेका थिए। भुसाल निकट एक अर्का नेताले भने, ‘महासचिव कमरेडले अनुगमन विभाग माग्नु भा’हो तर रहरले होइन।’ भुसाल आगामी महाधिवेशनबाट नेतृत्व लिने गरी तयारीमा लागेकाले पनि अध्यक्ष नेतापलले लगाम लगाएको नेताहरूको दाबी छ।

प्रकाशित: २९ माघ २०८१ २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast