ध्यान : भ्रम र यथार्थ

बद्रीप्रकाश ओझा ३० माघ २०८१ ८:५७
16
SHARES
ध्यान : भ्रम र यथार्थ

पूर्वमा ध्यानलाई प्राचीनकालदेखि नै धर्मसँग जोडिँदै आएको छ। बुद्धले भारतभरि ध्यानको प्रचार गरेका थिए। जैन धर्मले ध्यान प्रविधिलाई अगाडि बढाएको पाइन्छ। यजुर्वेदमा जैन तीर्थांकरहरूको वर्णन गरिएकाले वेदभन्दा अघि नै जैन धर्म विकास भएको लिखतहरू भेटिएका छन्। त्यसैले पूर्वमा ध्यानको चर्चा वेदभन्दा अघिदेखि भएको पाइन्छ। पतञ्जलीको ध्यानसम्बन्धी परिभाषा भने आधिकारिक मानिन्छ।

पश्चिममा भने सन् १८८३ मा अमेरिकाको सिकागोमा आयोजित धर्म सम्मेलनमा पहिलोपटक योग ध्यानबारे चर्चा भयो। चर्चा गर्ने व्यक्ति थिए, स्वामी विवेकानन्द। नेपालबाट त्यतिबेला बझाङी राजा जयपृथ्वीबहादुर सिंहले भाग लिएका थिए। नेपालमा गोर्खापत्र स्थापनाका लागि योगदान दिएका सिंहले विश्व धर्म सम्मेलनमा मानवतावादबारे चर्चा गरे। आज यसैलाई मानववादका रूपमा व्याख्या गरिन्छ।

विवेकानन्दले ध्यानबारे प्रवचन दिएपछि अमेरिकामा अलि चासो बढ्यो। त्यसपछि उनकै चेला परमहंस योगानन्दले गुरुकै पदचाप पछ्याउँदै पश्चिममा ध्यानको महत्त्व फैलाउन सुरु गरे। उनको पुस्तक ‘एक योगीको जीवनी’ मा ध्यानबारे व्याख्यान गरेको पाइन्छ।

सन् १९६० को दशकमा महेश योगीले भावातीत ध्यानलाई अघि बढाए। यसैबेला अस्ट्रेलियाका चिकित्सक डा. आइन्जली मेयर्सले काठमाडौँमा शिवपुरी बाबासँग ध्यान सिकेर मेलबर्न फर्किएर प्रचार गरे। उनले आफैँले अभ्यास गरेर बहोस पार्ने प्रविधिसमेत प्रयोग नगरी आफ्नै दाँतको शल्यक्रिया गरेका थिए।

शिवपुरी बाबाले बेलायतको दरबारमा बसेर महारानी भिक्टोरियालाई योगध्यान सिकाएको बेलायती लेखक जोन जी बेनेटले लेखेको पुस्तक ‘लङ पिलग्रिमेज’ मा उल्लेख छ। उक्त पुस्तकमा सन् १९०१ मा महारानीको निधन भएपछि बाबा अमेरिका भ्रमणमा गएको प्रसंग पाइन्छ। त्यसपछि उनले अमेरिकी महादेशका विभिन्न स्थानमा भ्रमणका क्रममा पक्कै पनि ध्यानबारे चर्चा गरे होलान्।

सन् १९५० पछि पश्चिममा तिब्बती र भारतीय गुरुहरू निकै लोकप्रिय बने। अमेरिकालगायतका मुलुकमा क्रमश: ध्यानको प्रभाव विस्तार हुन थाल्यो। यस बीचमा केही पश्चिमले पनि ध्यानबारे चर्चा गरेको पाइन्छ। सन् १९७० मा अमेरिकाको हार्वर्ड विश्वविद्यालयका चिकित्सक हर्बट बेन्सनले पहिलो पटक ध्यानबारे वैज्ञानिक अनुसन्धान गरी पुस्तक लेखेका थिए। दलाई लामालगायतका धेरै तिब्बती धर्मगुरु तथा भारतीय गुरुहरू जे कृष्णमूर्ति, सत्यनारायण गोयन्का, ओशोलगायतका पूर्वेली बाबा पनि प्रसिद्ध भए। उनीहरूको प्रभाव पश्चिममा निकै पर्‍यो।

वैज्ञानिक आधार र गैररहस्यको विषय

पश्चिममा ध्यान विधिको प्रयोग गरी पहिलो पटक अस्ट्रेलियामा क्यान्सरपीडित पशुचिकित्सक इयान गाउलरको उपचार गरिएको लिखत पाइन्छ। उनी जीवितै छन्। उनीमाथि उपयोग गरिएको ध्यान विधिको रहस्यमाथि अनुसन्धान जारी छ। उक्त विधि शिवपुरी बाबाले डा. मेयर्सलाई सिकाएका थिए। बाबाको विधिलाई मेयर्सले थप अनुसन्धान गरी पश्चिमीकरण गरेको उनको पुस्तक ‘रिलिफ विदाउट ड्रग’ मा उल्लेख छ।

सन् १९९० पछि ध्यानबारे प्रशस्त अनुसन्धान भए। अमेरिकामा मासाचुसेट्स विश्वविद्यालयका चिकित्सक प्रा.डा. जोन कबाट जिनले विपश्यना ध्यान विधिमाथि अनुसन्धान गरी ‘माइन्डफुल बेस्ट स्ट्रेस रिडक्सन’ (एमबीएसआर) विधि निकाले। यो विधि निकै लोकप्रिय बन्यो। पश्चिमाहरूले बुझ्ने भाषामा विकास गरिएकाले यो विधि अमेरिकाबाट संसारभरि फैलियो। यतिमात्र होइन कबाट जिनले ध्यानगुरुबाट ध्यान प्रशिक्षकको दर्जासमेत विकास गरेका थिए।

पूर्वमा ध्यान सिकाउनेलाई महाभारतकालमा धनुवाण हान्न वा युद्धकला सिकाउने जस्तै गुरु मानिन्थ्यो। ध्यानीले मांस र मादक पदार्थ वर्जित गर्नुपर्छ, पलेटी मारेर बज्रासनमा बस्नुपर्छ भनिन्थ्यो। कबाट जिनपछि यस अवधारणामा परिवर्तन आयो।

ध्यानलाई मानसिक स्वास्थ्यको अभिन्न अंगका रूपमा विकास गरिएको छ। बितेका ५५ वर्षमा १६ हजारभन्दा बढी ध्यानसम्बन्धी अनुसन्धानात्मक आलेख प्रकाशित भएको पाइन्छ। अझ सन् २००६ पछि ध्यानसम्बन्धी अनुसन्धान बढेको हो। हाल विश्वमा गरिएकामध्ये ध्यानसम्बन्धी अनुसन्धानमध्ये ४७ प्रतिशत मनोविज्ञान र २० प्रतिशत अनुसन्धान मनोचिकित्सासँग सम्बन्धित छन्। बाँकी अन्य विभिन्न विषयसँग सम्बन्धित छन्।

ध्यानलाई विश्वमा नाम चलेका विश्वविद्यालयहरू जस्तै– क्याम्ब्रिज, हार्वर्ड, प्रिन्स्टन, यल, मासाचुसेट्स आदिमा पठनपाठन र अनुसन्धान हुन थालेपछि यसबारे पश्चिममा चासो चुलिएर गएको छ। हाल आएर यसलाई ‘वेलनेस’ अथवा आरोग्यसँग जोडिएको छ। वेलनेसलाई उद्योगका रूपमा परिभाषित गरिन्छ।

सन् २०२२ को विश्व तथ्यांकअनुसार ‘वेलनेस’ उद्योगको मूल्य पाँच हजार ६ सय अर्ब अमेरिकी डलर थियो। बर्सेनि १२ प्रतिशतका दरले यसको मूल्य बढ्दै गएकाले सन् २०२७ मा पुग्दा यसको विश्वव्यापी मोल आठ हजार पाँच सय अर्ब अमेरिकी डलर पुग्ने आकलन गरिएको छ। ‘वेलनेस’ भित्र विभिन्न किसिमका शारीरिक अभ्यासदेखि नाचसम्म र योगासनदेखि ध्यानसम्म पर्दछन्।

ध्यानकै मात्र तथ्यांक हेर्ने हो भने सन् २०२३ मा ध्यानले विश्व बजारमा आठ अर्ब ७० करोड कमाइ गरेको पाइन्छ। यो उद्योग वर्षमा साढे १० प्रतिशतले वृद्धि हुँदै गएकाले सन् २०३२ मा पुग्दा यसको बजार मूल्य २२ अर्ब अमेरिकी डलर पुग्ने आकलन छ।

ध्यानको मोल बढेपछि विश्वमा ध्यान सिकाउने प्रतिशक्षकको पनि धुइरो लागेको छ। पश्चिममा पहिलो पटक सरकारले मान्यता दिएको ध्यान सिकाउने संस्था अस्ट्रेलियाको ध्यान परिषद् हो। यसले ध्यानसम्बन्धी पाठ्यक्रम तयार पार्छ र ध्यान प्रशिक्षणसम्बन्धी तालिम दिन्छ। हाल विश्वमा अनगिन्ती ध्यान प्रशिक्षण केन्द्र सञ्चालनमा छन्।

धेरै मानिसले ध्यान कठिन कार्य मान्छन्। यहाँ ध्यानसम्बन्धी केही भ्रम र तथ्यबारे छलफल गरी वास्तविकता उजागर गरिन्छ। यसलाई ‘डिमिस्टाफाइङ मेडिटेसन’ भनिन्छ। अचेल पश्चिमका धेरै विश्वविद्यालयले डिमिस्टाफाइङ मेडिटेसन पढाउँछन्। यस्ता छन् भ्रम र यथार्थ :

भ्रम १ : ध्यान गर्न दिमाग खाली हुनुपर्दछ।
तथ्य : दिमाग कहिल्यै खाली हुँदैन। सधैँ विचार आइरहन्छ। ध्यान गर्दा विचारको पछि नलागी विचार हेर्ने प्रयास गर्नुपर्छ। यसलाई साक्षीभाव भनिन्छ।

भ्रम २ : घन्टौँ ध्यान नगरी फल पाइन्न।
तथ्य : यो गलत हो। दैनिक १०–१२ मिनेट ध्यान गरे पुग्छ। तर नियमित गर्नुपर्छ। मिलेसम्म सधैँ एउटै समय (बिहान) मा गरे राम्रो हुन्छ।

भ्रम ३ : ध्यान त आध्यात्मिक वा धार्मिक व्यक्तिले मात्र गर्ने हो।
तथ्य : ध्यानको सुरुवात पूर्वीय धार्मिक दर्शनबाट सुरु भएको हो तर हाल यसलाई मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनमा उपयोग गरिन्छ। यो जोकोहीले पनि गर्न सक्छ। ओशोले त ध्यानलाई मानिसको नैसर्गिक अधिकारका रूपमा परिभाषित गरेका छन्।

भ्रम ४ : ध्यानका लागि शान्त वातावरण चाहिन्छ।
यथार्थ : ध्यान जहाँ पनि गर्न सकिन्छ।

भ्रम ५ : ध्यान वास्तविकताबाट भाग्ने बाटो हो।
यथार्थ : ध्यानले त अझ वास्तविकताभित्र डुबेर सचेत बन्ने र वर्तमानमा जिउने कला सिकाउँछ।

भ्रम ६ : ध्यान गर्न पलेँटी मारेर बस्नुपर्छ।
यथार्थ : ध्यान गर्न आसन चाहिन्छ भन्ने धारणा छ तर कुर्सीमा बसेर पनि आरामले ध्यान गर्न सकिन्छ। सुतेर, उठेर, हिँडेर, बसेर जसरी पनि ध्यान गर्न सकिन्छ। यो दिमागी विषय भएकाले आसनसँग कुनै सम्बन्ध छैन।

भ्रम ७ : ध्यान शान्त मानिसले मात्र गर्न सक्छ।
यथार्थ : ध्यान जोकोहीले पनि गर्न सक्छ। अझ तनाव तथा संवेग व्यवस्थापन आदिका लागि ध्यान उपयोगी मानिन्छ।

भ्रम ८ : ध्यान गर्नासाथ तनावबाट मुक्त भइन्छ।
यथार्थ : होइन, यो नियमित प्रक्रिया हो। लामो समसयसम्म ध्यान गरे तनाव व्यवस्थापन गर्न सकिन्छ।

भ्रम ९ : असल मान्छेले मात्र ध्यान गर्नुपर्छ।
यथार्थ : होइन, यसमा राम्रो वा नराम्रो भन्ने विषय हुँदैन। ध्यान मानसिक शान्ति र बिनापूर्वाग्रह वास्तविकता स्वीकार गर्ने गुण विकास गर्ने माध्यम हो।

भ्रम १० : ध्यान वाक्कलाग्दो विषय हो।
यथार्थ : सुरुमा ध्यान गर्दा दिकदारी लाग्न पनि सक्छ तर बिस्तारै ध्यानले संवेग व्यवस्थापन तथा चेतना अभिवृद्धिमा सहयोग गर्दछ।

भ्रम ११ : ध्यान गर्न गुरु वा प्रशिक्षक आवश्यक पर्छ।
यथार्थ : गुरु थापेर वा प्रशिक्षक राखेर पनि ध्यान गर्न सकिन्छ। परापूर्वकालमा गुरु आवश्यक मानिन्थ्यो। अहिले किताब, इन्टरनेट र एपका कारण गुरु थापिरहनुपर्दैन।

भ्रम १२ : ध्यान शिथिलताका लागि मात्र गरिन्छ।
थयार्थ : शिथिल बन्नु पनि ध्यानको एउटा लाभ त हो तर यो मुख्य विषय भने होइन। ध्यानले संवेग व्यवस्थापन, सचेतना र शरीर स्वस्थ राख्न सहयोग गर्दछ।

भ्रम १३ : ध्यानको प्रभाव धेरै पछि मात्र देखिन्छ।
यथार्थ : होइन, दैनिक पाँच, १० मिनेटमात्र नियमित ध्यान गरे पनि परिणाम प्राप्त हुन्छ।

(अस्ट्रेलियाको ध्यान परिषद्‌बाट प्रशिक्षित ओझाले कृषि सञ्चारमा विद्यावारिधि उपाधि लिएका छन्।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast