
इटहरी- पक्राउ परेकालाई रिहाइ गर्ने आश्वासन दिएर ‘नक्कली इन्स्पेक्टर’ बन्ने एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका वडा नं ६ घर बताउने २२ वर्षीय आकाश भन्ने विनोद दाहाल रहेका छन् ।
लागूऔषध मुद्दाको अनुसन्धानको सिलसिलामा म्याद थप भइ इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका प्रतिवादी हेमन विश्वकर्मालाई हिरासतबाट मुक्त गरीदिने र आफूलाई प्रहरी निरीक्षक भन्दै रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए।
प्रतिवादी हेमनकी आमा लीला विश्वकर्माबाट पटकपटक गरी २५ हजार रकम लिएको र थप १५ हजार भएमा छुटाइदिने भन्दै ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पीडितले प्रहरीमा उजुरी दिएपछि दाहाललाई रामधुनी नगरपालिका वडा नं ५ स्थित लगौना मोडबाट रकम लिदैँ गरेको अवस्थामा पक्राउ गरिएको एसपी तिम्सिनाले बताए।
रकमसहित पक्राउ परेका उनको साथबाट १५ हजार र दाहालले प्रयोग गर्ने मोबाइल एक थान बरामद गरी पक्राउ गरिएको हो।पक्राउ परेका उनीविरूद्ध प्रहरीले जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी ठगी कसुरमा अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ।