
काठमाडौँ- पूर्वप्रधानमन्त्री शेख हसिनासँग सम्बन्धित समूहलाई लक्षित गरी गरेको ‘अपरेसन डेभिल हन्ट’ नामक कारबाहीमा एक हजार ३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको बंगलादेश प्रहरीले जनाएको छ।
बंगलादेशको अन्तरिम सरकारका गृहमन्त्री जहाँगीर आलम चौधरीले ‘सैतानलाई जरैदेखि उखेलेर नफाल्दासम्म’ यो अभियान जारी रहने बताएका छन्।
प्रहरी प्रवक्ता इनामुल हक सागरले शनिबारदेखि सुरू भएको अभियानबाट देशभर एक हजार ३०८ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। यो अभियान अझै जारी रहने उनको भनाइ छ।
फेब्रुअरी महिनाको सुरूमा हसिना नेतृत्वको विपक्षी दल अवामी लिगको नेतृत्वमा आन्दोलनको घोषणा भएपछि सुरक्षा कारबाही सुरू गरिएको हो।
ढाकास्थित प्रधानमन्त्रीको कार्यालयमा भीडले आक्रमण गरेपछि पूर्वप्रधानमन्त्री हसिना हेलिकप्टरबाट भागेर नयाँदिल्ली पुगेकी थिइन्। उनी हाल नयाँदिल्लीमा निर्वासित जीवनयापन गरिरहेकी छन्।
७७ वर्षीया हसिना छिमेकी मुलुक भारतबाट फेसबुकमार्फत नेता तथा कार्यकर्तासँग संवाद गरेको समाचारपछि सरकारले अवामी लिगका नेता, समर्थक र कार्यकर्तामाथि धरपकड सुरू गरेको थियो।
अभियानको नाममा हसिनाका स्वर्गीय पिता एवं बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको संग्रहालय र पूर्वघरसमेत रहेका भवनहरू ध्वस्त भएपछि नागरिक अधिकारकर्मीको एक समूहले यसको निन्दा गरेको छ।