![नेसपा नयाँ शक्तिमा चुनावी प्रक्रिया सुरु, निर्वाचन मापदण्डसहित](https://himalpress.com/wp-content/uploads/2025/02/natashakti-mahadhiweshan-himalpres-16-1.jpg)
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ। आइतबार सुरु भएको पार्टीको महाधिवेशनमा संयोजक डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित भएको नेता कृष्ण शर्माले जानकारी दिए। भट्टराईले आइतबार ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक शक्तिको औचित्य र आधार’ शीर्षकको प्रतिवेदन पेस गरेका थिए।
महाधिवेशनको बन्दसत्रमा प्रतिवेदनउपर विभिन्न टोली गठन गरेर छलफल भएको थियो। त्यसपछि टोली नेताले आआफ्नो टोलीको राय सोमबारको बैठकमा पेस गरेका थिए। बैठकले समसामयिक राजनीति प्रस्ताव र विधान संशोधन प्रस्ताव पारित गरेको शर्माले बताए।
यस्तो छ केन्द्रीय समिति निर्वाचनको मापदण्ड
नेसपा नयाँ शक्तिले समावेशी समानुपातिक सिद्धान्तको आधारमा दलित, आदिवासि जनजाति, खस/आर्य, मधेशी, थारु, मुस्लिम र धार्मिक, यौनिक तथा जातीय भाषिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति छनोटको आधार तय गरेको छ। केन्द्रीय समितिको संख्या ९९ सदस्यीय हुनेछ। ९० जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चुनिनेछन् भने ९ जना मनोनीत हुनेछन्। पदाधिकारीको संख्या ११ हुनेछ।
केन्द्रीय अध्यक्ष खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने उपाध्यक्ष ५ जना रहनेछन्। महिला उपाध्यक्ष, खस/आर्य उपाध्यक्ष, आदिवासी जनजाति उपाध्यक्ष, मधेसी/थारू, उपाध्यक्ष र दलित उपाध्यक्षको प्रावधान रहेको छ। महासचिव एक जना खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने तीन सचिव हुनेछन्। यसैगरी कोषाध्यक्ष एकजना खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछ।
बाँकी ७९ जना सदस्यमध्ये प्रत्येक प्रदेशबाट २ जना (१ खुल्ला, १ महिला) गरी १० प्रदेशबाट २० जना निर्वाचित हुनेछन्। यसैगरी १२ जना खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। जसमध्ये ६ जना खुला, २ जना महिला, २ जना युवा, २ जना युवा महिला हुनेछन्। खस आर्य क्लस्टरअन्तर्गत १४ जना सदस्यमध्ये ६ जना खुला, ३ जना महिला, ४ जना युवा, १ जना युवा महिला सदस्य हुनेछन्।
आदिवासी जनजाति क्लस्टरअन्तर्गत १३ जना सदस्यमध्ये ६ जना खुला, ३ जना महिला, ३ जना युवा, १ जना युवा महिला सदस्य हुने प्रावधान पार्टीको रहेको छ।
मधेशी क्लस्टरअन्तर्गत ७ जना सदस्यमध्ये ४ जना खुल्ला, १ जना महिला, १ जना युवा, १ जना युवा महिला सदस्य हुनेछन्। दलित क्लस्टरअन्तर्गत ६ जना सदस्यमध्ये, ३ जना खुल्ला, १ जना महिला, १ जना युवा, १ जना युवा महिला सदस्य हुनेछन्
थारू क्लस्टरअन्तर्गत ३ जना सदस्यमध्ये १ जना खुल्ला, १ जना महिला, १ जना युवा सदस्य हुनेछन्। अल्पसंख्यक/मुस्लिम २ मध्ये १ खुला र १ महिला साथै अल्पसंख्यक तथा फरक क्षमता भएका धार्मिक, यौनिक, जातीय/भाषिक अल्पसंख्यकबाट २ जना महिला सदस्य हुनेछन्।