मलेसियामा रोजगारी खुल्नुअघि नै कामदारसँग पैसा असुल्दै म्यानपावर

हिमाल प्रेस २८ माघ २०८१ १५:३०
62
SHARES
मलेसियामा रोजगारी खुल्नुअघि नै कामदारसँग पैसा असुल्दै म्यानपावर तस्बिर स्रोत : पिक्सेल

काठमाडौँ- गत मार्चदेखि मलेसियामा वैदेशिक रोजगारी बन्द छ। मलेसिया सरकारले आंशिक रूपमा नेपाली कामदारका लागि कात्तिकदेखि आवेदन खुलाएको थियो। त्यसयता केही म्यानपावरले कृषि, बार्बर र साना उद्योगमा कामदार पठाइरहेका छन्। मलेसियाले मार्चदेखि विदेशी कामदारका लागि मागपत्र खुलाउने तयारी गरे पनि निर्णय भने गरेको छैन।

केही म्यानपावर कम्पनीले मलेसियामा रोजगारी खुल्दैछ भनेर कामदारसँग ५० देखि ७० हजार रुपैयाँसम्म रकम लिइरहेको गुनासो आउन थालेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए। उनका अनुसार मलेसियाको रोजगारी पूर्ण रूपमा खुलेको छैन।

‘म्यानपावरसँगै स्वास्थ्य परीक्षण गर्ने मेडिकलले पनि रोजगारी खुल्नुअघि स्वास्थ्य परीक्षण गराइरहेको गुनासो लिएर कामदार विभागमा आउँछन्। यस विषयमा छानबिन र अनुसन्धान हुन्छ’, सुवेदीले भने। एक वर्षयता मलेसियाको रोजगारी बन्द छ। मलेसिया केही क्षेत्रमा गत कात्तिकदेखि कामदार लैजान थालेको र म्यानपावर कम्पनीले डिमान्ड ल्याएर अन्तर्वार्तासमेत गराउँदै आएको सुवेदीले बताए।

यसरी ठगिएका पीडित कामदार विभागमा आउने गरे पनि उनीहरूसँग प्रमाण नहुने गरेको उनले जानकारी दिए। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको नेपाल स्वास्थ्य व्यवसायी महासंघमा आबद्ध मेडिकलले पनि म्यानपावरसँगको मिलोमतोमा कामदारको स्वास्थ्य परीक्षण गराइरहेको पाइएको छ। ‘यस विषयमा पटकपटक महासंघअन्तर्गतका ३६ वटा मेडिकललाई सूचना गरे पनि बेवास्ता गरिरहेका छन्’, विभागका एक उच्च अधिकारीले भने।

पीडित कामदारको उजुरीका आधारमा ३० वटा म्यानपावरलाई कालोसूचीमा राखेर कामकारबाही रोक्का गरी अनुसन्धान भइरहेको सुवेदीले बताए। मलेसिया रोजगारी बन्द भए पनि एक सय ३० वटाभन्दा बढी ठगीका मुद्दा विभागमा दर्ता भएका छन्। विभागले यी उजुरीका आधारमा म्यानपावर कम्पनीमाथि अनुसन्धान गर्न नसकेको पीडित कामदारको आरोप छ। मलेसियाले विदेशी कामदार भित्र्याउन रोक लगाएपछि एक लाखभन्दा बढी रोजगारी गुमेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए। उनले मलेसियाको रोजगारी खुल्नुअघि कामदारसँग कुनै पनि म्यानपावरले अग्रिम पैसा उठाएको भए कानुनी कारबाही हुनुपर्ने माग गरे। मलेसियाले केही क्षेत्रमा रोजगारी खुलाएकाले डिमान्ड ल्याएर म्यानपावरले ल्याउन थालेको उनले बताए।

आर्थिक वर्ष २०८०/८१ मा मलेसियाका लागि श्रम स्वीकृति लिने र नवीकरण गर्नेको संख्या ८१ हजार ३८२ रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। १४ हजार मात्र कामदार मलेसिया पुगेको विभागको जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा यस्तो संख्या दुई लाख १९ हजार ३ सय ७५ थियो। सन् २०२४ को मे अन्त्यतिर मलेसिया सरकारले कुनै पनि नयाँ विदेशी कामदारलाई नल्याउने नीति लिएपछि मलेसियाबाट मागपत्र आउन बन्द भएको थियो।

प्रकाशित: २८ माघ २०८१ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast