आज अख्तियार दिवस, वार्षिक कति पर्छन् अख्तियारमा भ्रष्टाचारका उजुरी?

हिमाल प्रेस २८ माघ २०८१ ६:४६
12
SHARES
आज अख्तियार दिवस, वार्षिक कति पर्छन् अख्तियारमा भ्रष्टाचारका उजुरी?

काठमाडौँ- भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ। सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टंगालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदैछ।

आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो।

नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी अधिकार प्रदान गरेको छ। संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अंगीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ।

संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ। उक्त धारामा ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने’ उल्लेख छ।

आयोगले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानुन बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्ति उपर कानुनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ।

आयोगको ३४ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा आयोग र मातहतका कार्यालयमा २६ हजार नौ सय १८ उजुरी र गत आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ गरी ३६ हजार एक सय ८६ उजुरीमध्ये कूल २७ हजार सात सय १४ फर्छ्यौट भएका छन्। रासस

प्रकाशित: २८ माघ २०८१ ६:४६

प्रतिक्रिया

One thought on “आज अख्तियार दिवस, वार्षिक कति पर्छन् अख्तियारमा भ्रष्टाचारका उजुरी?

  1. उजुर पर्नु र फर्स्यौट गर्नु मात्र पर्याप्त होइन। मुख्य कुरा अख्तियारले अदालतमा दायर गरेका मुद्दा कति प्रतिशत जित्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast