
काठमाडौँ- ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ नगरपालिका–१ घर भई हाल काठमाडौँ–२६ लैनचौर बस्ने २५ वर्षीय दिनेश सिग्देल र डडेलधुरा गन्यायपधुरा–५ घर भई लैनचौर बस्ने २२ वर्षीय रमेश फुलारा रहेका छन्।
उनीहरूले गत २४ गते राति ड्युटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए। ५/६ जनाको समूहमा रहेका उनीहरूले हो–हल्ला गरिरहँदा सम्झाउने प्रयास गर्दा ड्युटीमा रहेका प्रहरीहरू रघु घर्ती र नगेन्द्र विष्टलाई कुटपिट गरेका थिए। उनीहरूले प्रहरीको मोटरसाइकलमा तोडफोडसमेत गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले खोजतलासका क्रममा उनीहरूलाई आइतबार एयरपोर्ट क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका दुवै जना अमृत साइन्स क्याम्पसका विद्यार्थी हुन्।
अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा पाँच दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।