![बंगलादेशमा हसिना समर्थकविरूद्ध ‘डेभिल हन्ट’ अभियान](https://himalpress.com/wp-content/uploads/2024/10/bangladesh_prtest.jpg)
काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनानिकट समूहले प्रदर्शनकारीहरूमाथि आक्रमण गरेपछि सरकारले आइतबार ठूलो सुरक्षा अभियान सुरू गरेको छ।
हसिनानिकट समूहले प्रदर्शनकारी विद्यार्थीमाथि आक्रमण गरेपछि बंगलादेश सरकारले सुरक्षा अभियान सुरू गरेको हो।
हसिनानिकट समूहलाई त्यहाँको सरकारले ‘स्वेच्छाचारी शासनसँग सम्बन्धित गिरोह’ भनेको छ।
‘पतीत स्वेच्छाचारी शासनसँग सम्बन्धित गिरोहले विद्यार्थीहरूको एक समूहमाथि आक्रमण गरी उनीहरूलाई गम्भीर रूपमा घाइते बनाएपछि अभियान सुरू भएको हो,’ सरकारी विज्ञप्तिमा भनिएको छ।
सन् २०२४ अगस्तको विद्यार्थी नेतृत्वको क्रान्तिमा अपदस्थ भएपछि सत्तामा आएको अन्तरिम सरकारका गृह मन्त्रालयका प्रमुख जहाँगीर आलम चौधरीले यसलाई ‘डेभिल हन्ट’ नाम दिएका छन्।
‘दानवहरूलाई जरैदेखि उखेल्न नसकेसम्म यो जारी रहनेछ,’ चौधरीले पत्रकारहरूलाई भने।
देशमा शान्ति व्यवस्था कायम गर्न सुरक्षा अभियान सुरू गरिएको उनले बताएका छन्।
देश छोडेर गएको ६ महिनापछि प्रदर्शनकारीहरूले हसिना र उनको परिवारसँग सम्बन्धित घरहरू बुधबार भत्काएका थिए। प्रदर्शनकारीहरूले हसिनाका बुबा एवं बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घरमा समेत तोडफोड गरेका थिए।
भारतमा निर्वासित जीवनयापन गरिरहेकी ७७ वर्षीया हसिनाले सामाजिक सञ्जालमार्फत धारणा राख्न थालेपछि बंगलादेशमा विरोध प्रदर्शन सुरू भएको हो।
बंगलादेशको अन्तरिम सरकारले हिंसाको जिम्मेवारी हसिनालाई दिएको छ। शुक्रबार अन्तरिम सरकारका सल्लाहकार मुहम्मद युनुसले शान्ति कायम गर्न अपिल गरेका थिए।