![पार्टी गुटको सिकार बन्यो समाजवादी अनेरास्ववियू](https://himalpress.com/wp-content/uploads/2025/02/Nepal_khanal_bhusal.jpg)
काठमाडौँ- स्थापनादेखि नै विभिन्न समूहमा सक्रिय नेकपा एकीकृत समाजवादीभित्र गुटकै कारण कलह हुनु नयाँ घटना होइन। कहिले अध्यक्ष माधव नेपाल पक्षले एकलौटी गरेको त कहिले सम्मानित नेता झलनाथ खनालले ‘फरक मत’ राखेको विषय समाजवादीमा आइरहन्छ।
गुटकै कारण समाजवादीमा तिक्त सम्बन्ध बन्दा पार्टी राजनीति कमजोर हुँदै गएको नेताहरू बताउँछन्। कहिले पार्टी निर्णयविरुद्ध आपत्ति जनाउने त कहिले बहिष्कार गर्ने प्रवृत्ति समाजवादीमा मौलाइरहेको छ। पछिल्लो समय त भ्रातृ संगठनसमेत गुटको राजनीतिमा रुमल्लिएका छन्।
युवा संघमा केही समयअघि संयोजक कृष्ण विकविरुद्ध उपसंयोजक नितेश पौडेलले समानान्तर कमिटी गठन गरेपछि दुई समूहबीच ‘पानी बाराबरको स्थिति’ आएको थियो। विकले नितेश समूहका नेतालाई साधारण सदस्यसमेत नरहने गरी हटाएका थिए।
गएको महाधिवेशनपछि युवा संघको विवाद केही साम्य बन्यो। तर पछिल्लो समय युवासंघमै विवाद बढेको छ। विकलाई पार्टीले अन्तर पार्टी निर्देशन (अपानि) मार्फत हटाएपछि विवाद चुलिएको हो। यतिमात्र होइन, विद्यार्थी संगठनमा समेत समाजवादीको गुट छताछुल्ल बनेको छ।
हुन त विद्यार्थीभित्र अध्यक्ष नेपाल गुट र सम्मानित नेता झलनाथ खनाल गुट सक्रिय थियो। गुटकै कारण कतिपय पदीय जिम्मेवारीमा विद्यार्थी नेता पाखा लागेको गुनासो सुनिन्थ्यो। पछिल्लो समय विद्यार्थी संगठनभित्र तिक्तता बढेको छ।
पार्टीको आधिकारिक लाइन भन्दै अपानिमार्फत अध्यक्ष आरती लामालाई हटाएर महासचिव महेश श्रेष्ठलाई अध्यक्ष बनाएपछि संगठनमा तीव्र विवाद देखिएको हो। युवा संघ अध्यक्ष विकलाई जस्तै लामालाई पनि हटाएपछि विवाद सुरु भएको थियो। रोचक कुरा के हो भने समाजवादीभित्र स्थापनाकालमा माधव र झलनाथ गुट थिए। अहिले भुसालको गुट मौलाएको छ। नेपालले आफूनिकट विद्यार्थीलाई आयोजक कमिटीमा स्थान दिएको भुसाल-खनाल पक्षधर नेताको आरोप छ।
खनाल-भुसाल पक्षधर विद्यार्थी नेताले नेपालको निर्देशनमा बनाएको नयाँ कमिटी बहिष्कार गर्ने र अर्को कमिटी बनाउने बताउँदै आएका छन्। ‘हामीले बहिष्कार गरेका छौँ। अब नयाँ आधिकारिक कमिटी गठन गर्छौँ,’ असन्तुष्ट विद्यार्थी नेता मिलन राई भन्छन्, ‘हामीले अध्यक्ष-महासचिव चेक एन्ड ब्यालेन्समा गर्नुपथ्र्यो तर अध्यक्ष पक्षधरले महासचिवमा चेक एन्ड ब्यालेन्स गरेन।’
खनाल-भुसाल पक्षले नयाँ कमिटीविरुद्ध लिखित असन्तुष्टि जनाएको छ। अध्यक्षमा श्रेष्ठ हुँदा उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, किशोर टण्डन, भूपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईँ, डम्बर सिंह, राजकिशोर यादव र नरेश न्यौपाने चयन भएका थिए। महासचिवमा राजन शर्मा पराजुली चयन भएका थिए।
राईका अनुसार बहुसंख्यक र सक्रिय विद्यार्थी राजनीति गरेकालाई स्थान दिइएको छैन। ‘एकाएक जुनियर नेतालाई जिम्मेवारी दिइएको छ। हामी मान्न तयार छैनौँ’, राई भन्छन्।
संस्थापन पक्षधर भने मिलेर जाने बताउँदै आएको छ। ‘केही असन्तुष्टि थिए/छन्। तर मिलाएर लैजाने प्रयत्नमा छौँ’, अध्यक्ष श्रेष्ठ भन्छन्। इतरपक्ष भने संस्थापनसँग नझुक्कने अडानमा छ। हालसम्म विद्यार्थी संगठनका ६ प्रदेशका अध्यक्षहरूले पार्टीको निर्णय नमान्ने भन्दै विज्ञप्ति सार्वजनिक गरेका छन्।
विज्ञप्तिमा कोशी अध्यक्ष शम्भु घिमिरे, मधेश अध्यक्ष राजकुमार विक, बागमती अध्यक्ष दीपक बुढाथोकी, उपत्यका अध्यक्ष प्रदीप थापा, लुम्बिनी अध्यक्ष टेकेन्द्र मल्ल, सुदूरपश्चिम अध्यक्ष पुष्पलाल रोकायले हस्ताक्षर गरेका छन्।
नयाँ कमिटीमा भूपेन्द्र शाह, नरेश न्यौपाने र मिलन राईलाई उपाध्यक्षमा मनोनीत गरिएको छ। तर उनीहरूले विज्ञप्तिमा केन्द्रीय कार्यालय सदस्यकै हैसियतमा हस्ताक्षर गरेका छन्।
झाँक्रीले रिस फेरेको आरोप
केही दिनअघि पार्टीले विद्यार्थी इन्चार्जमा रामकुमारी झाँक्री र सहइन्चार्जमा भीम राईलाई चयन गरेको थियो। झाँक्री र राईले संगठनको केन्द्रीय कार्यालय बैठक बोलाएर श्रेष्ठलाई अध्यक्ष बनाएका थिए। झाँक्रीले इतर पक्षलाई नसमेटेको गुनासो विद्यार्थी नेताको छ।
‘महाधिवेशनमा उपाध्यक्षमा झाँक्री दिदीले हार्नुभयो। उहाँले हामीमाथि हराएको आरोप लगाउनुभएको थियो’, एक विद्यार्थी नेता भन्छन्। गत महाधिवेशनमा झाँक्री अध्यक्ष माधव नेपाल पक्षबाट र जयन्ती राई महासचिव भुसाल पक्षबाट महिला उपाध्यक्षमा लडेका थिए। राईले जितिन् भने झाँक्रीले हारिन्। त्यसबेला विद्यार्थी-युवा नेताहरू पुस्तान्तरणको मुद्दा अघि सार्दै भुसाल पक्षमा खुलेका थिए। त्यही कारण झाँक्रीले हारेको र अहिले रिस फेरेको विद्यार्थी नेताहरूको दाबी छ।
नेतृत्वको ‘चेक एन्ड ब्यालेन्स’ मा ‘ब्रेक’
एमालेबाट विभाजित भएर समाजवादी बन्दा अनेरास्ववियूको संयोजक सुदेश पराजुली र महासचिव आरती लामा थिए। सुदेश नेपाल निकट र आरती खनाल निकटस्थ मानिन्थे।
विद्यार्थी नेताहरू खनाल-नेपाल पक्षमै ‘सन्तुलन’ मिलाएर संगठन विस्तार गरिएको बताउँथे। केही वर्षपछि पराजुलीले विद्यार्थी राजनीति छाड्दा लामा अध्यक्ष भइन् भने महासचिवमा महेश श्रेष्ठ आए। श्रेष्ठ नेपाल पक्षधर नेता भएको नेताहरू बताउँथे। अध्यक्ष महेश र महासचिव राजन शर्मा पराजुली दुवै नेपाल पक्षधर छन्। यसपटक नेपालले सन्तुलन नमिलाएको गुनासो इतर पक्षको छ। साथै लामाको बिदाइ ‘अवैध’ तरिकाले भएको नेताहरू सुनाउँछन्।
‘म छाड्ने थिएँ तर किन अपानिबाट हटाइयो थाहा भएन,’ पूर्वअध्यक्ष लामा भन्छिन्। लामालाई सर्लाहीको पार्टी सहइन्चार्ज तोकिएको छ। अध्यक्ष श्रेष्ठ आफू मिलाएर लैजान तयार रहेकोे बताउँछन्। ‘पहिल्यैबाट समस्या थियो। अब समाधान हुन्छ। पहिलो बैठकबाट महाधिवेशन तोकिन्छ,’ श्रेष्ठ भन्छन्, ‘हामी स्ववियु सफल बनाउन लाग्नुपर्नेछ। त्यसैले फागुन पहिलो साता पहिलो बैठक डाकेर समाधान खोजिन्छ।’
किन एकपक्षीय बनाइयो समिति?
२०७८ भदौमा समाजवादीको स्थापना भएको हो। विद्यार्थी संगठनको हालसम्म महाधिवेशन भएको छैन। एमाले निकट अनेरास्ववियुले विभाजनपछि अधिवेशन गरेर अर्को अधिवेशन मिति पनि तोकिसकेको छ।
समाजवादीमा महाधिवेशन नभए पनि नेतृत्व हस्तान्तरणचाहिँ भइरहेको छ। नेताहरूका अनुसार पार्टी नेतृत्वले नचाहेकै कारण हालसम्म महाधिवेशन भएको छैन। ‘नयाँ संगठन भएकाले महाधिवेशन गरिएको थिएन’, अध्यक्ष श्रेष्ठ भन्छन्। इतरपक्ष भने नेपाल पक्षीय विद्यार्थी कमजोर भएकाले महाधिवेशन नभएको आरोप लगाउँछन्। ‘अहिले पनि हामी बलिया छौँ। यही कारण नेपाल महाधिवेशन गर्न इच्छुक नभएका हुन्’, इतर पक्ष एक नेताले भने।
इतर पक्षीय नेता राईले यही कारण अब आफ्नो गुट बलियो बनाउन अध्यक्ष-महासचिव हडपेको आरोप लगाए। ‘इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र महासचिव एकै पक्षीय बनाएपछि कसरी हुन्छ सन्तुलन?’ राई भन्छन्, ‘हामी यो निर्णय मान्नेवाला छैनौँ।’ इतर पक्ष भने अब हुने महाधिवेशन पनि ‘निर्वाचन’ नगर्ने पक्षमा नेपाल लागेको बताउँछन्। ‘नेपाल निर्वाचनमा जानुहुँदैन भन्नेमा छन्। पार्टी महाधिवेशन पनि पहिले त्यस्तै भयो,’ एक विद्यार्थी भन्छन्, ‘आफ्नो गुट दरिलो बनाउन यसरी हाबी भइरहेका छन्।’
समाजवादीका नेता दामोदर अर्याल भने पार्टीको निर्णय सबैले मानेर जानुपर्ने बताउँछन्। ‘सही वा गलत के हो त्यो पार्टीभित्र मिलाउने कुरा हो। तर पार्टीले निर्णय गरेको विषयमा विवाद गर्नुहुन्न’, उनले भने।
आक्रोश हुन्छ तर हामी मिलाउँछौँ : सहइन्चार्ज राई
नयाँ बनेको कमिटीमा सामान्य विवाद भए पनि मिलेर जाने नेताहरूको भनाइ छ। विद्यार्थी सहइन्चार्ज राई अहिले आक्रोश भए पनि बिस्तारै मिल्दै जाने सुनाउँछन्।
‘आयोजक कमिटी मात्र गठन गरिएको हो। अब महाधिवेशनमा हामी जान्छौँ,’ राई भन्छन्, ‘सबै विद्यार्थी भएकै बेला नयाँ कमिटी घोषणा गरिएको थियो। बाहिर हल्ला धेरै भयो।’ सांगठनिक कमजोरी भए पनि अब मिल्दै जाने उनको दाबी छ।