राजनीतिप्रति आस्था, विश्वास र भरोसा बढाउन विश्वप्रकाश शर्माले अघि सारे यस्ता उपाय

हिमाल प्रेस २७ माघ २०८१ १६:३०
16
SHARES
राजनीतिप्रति आस्था, विश्वास र भरोसा बढाउन विश्वप्रकाश शर्माले अघि सारे यस्ता उपाय सांसद विश्वप्रकाश शर्मा।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले राजनीतिप्रति आस्था, विश्वास र भरोसा बढाउनका लागि विभिन्न उपाय अघि सारेका छन्। उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा सम्बोधन गर्दै संसद्, राजनीतिक दल र सरकारप्रति नागरिकको आस्था, विश्वास र भरोसा बढाउन सबैको साझा दृष्टिकोण हुनुपर्नेमा जोड दिएका हुन्।

शर्माले संसद्‌मा गम्भीर विषयलाई पनि सरल शब्द र शैलीमा प्रस्तुत गर्न सकिने बताए। संसद्मा सांसदहरूको आवेगात्मक प्रस्तुतिले राजनीतिक छविलाई असर गरेको उनको भनाइ छ। त्यसैले गम्भीर विषयलाई पनि विनम्रताका साथ प्रस्तुत गर्न सकिने उनले बताए। शर्माले भने, ‘हाम्रो आवेगात्मक प्रस्तुतिले छविलाई असर गरेको छ। शब्द र शैलीमा विनम्रताका साथ विषयवस्तुको कठोरतालाई प्रस्तुत गर्न सकिन्छ।’

यसैगरी उनले सांसदरूले विधायिकी कर्ममा अझै जिम्मेवार हुनुपर्ने बताए। सांसदहरूले संसद्को विधायिकी कर्ममा योग्यता प्रदर्शन गर्न नसक्दा जनतामा विश्वास टुट्दै गएको उनको भनाइ छ। शर्माले भने, ‘हामी एकपछि अर्को सरकार बनाउन जति क्षमता राख्छौँ त्यति नै छिटो विधेयक पारित गराउन सकेका छैनौँ।’ विधेयक पारितमा ढिलाइ हुनुमा एउटाले अर्कोलाई दोष देखाएर पन्छिने अवस्था नरहेको उनले बताए। उनले अख्तियार, निजामती, शिक्षाजस्ता विधेयक पारितमा ढिलाइ भएको बताए।

शर्माले अघि सारेको अर्को सूत्र हो, दोहोरो मापदण्ड भत्काउनुपर्ने। उनले भने, ‘हामीले दोहोरो मापदण्डको मानसिकतालाई भत्काउनुपर्छ। कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा प्राकृतिक र कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा कसरी अप्राकृतिक?’

उनले कांग्रेस र एमाले गठनको आवश्यकता र औचित्यबारे प्रस्ट पार्दै अध्यादेश संविधानबमोजिम नै ल्याइएको बताए। शर्मा अध्यादेश चोरबाटोबाट ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको टिप्पणी गर्दै जिम्मेवार नेताले संविधानअनुसार बोल्नुपर्ने बताए।

यसैगरी उनले दल र सांसदहरूले आपसी र खुला संवाद गर्न आवश्यक रहेको बताए। उनले भने, ‘हामी आपसी र खुला छलफल गरिरहेको छैनौँ।’ सामाजिक सञ्जाल विधेयकमा सरोकारवालासँग खुला संवाद भएको भए अहिले सिंगो समाज एउटा ठाउँमा आउन सक्ने उनको भनाइ छ।

यसैगरी उनले आस्था, भरोसा र विश्वास बढाउन राष्ट्रिय मुद्दाका विषयमा साझा दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘संसद्को चालु अधिवेशनमा कैयौँ विषयमा साझा दृष्टिकोण बनाएर अघि बढेमा संसद्प्रति जनताको भरोसा बढ्नेछ।’

प्रकाशित: २७ माघ २०८१ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast