मन्त्रीको कार्यकक्षमा भएको आगलागीबारे सांसदहरूको ध्यानाकर्षण

हिमाल प्रेस २७ माघ २०८१ १५:२०
12
SHARES
मन्त्रीको कार्यकक्षमा भएको आगलागीबारे सांसदहरूको ध्यानाकर्षण संसद् भवन नयाँ बानेश्वरमा आइतबार प्रतिनिधिसभाको बैठकमा उपस्थित सांसदहरू। तस्बिर : रासस

काठमाडौँ- सांसदहरूले देशका विभिन्न ठाउँमा लागेका आगलागीका घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले खानेपानी मन्त्रालयमा भएको आगलागीको घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरे। उनीहरूले मन्त्रालयमा आगो लागेको विषयमा संसद्मा खानेपानीमन्त्रीले जबाफ दिनुपर्ने बताए।

सांसद अर्जुननरसिंह केसीले लाङटाङ राष्ट्रिय निकुञ्जमा विगत १० दिनदेखि लागेको डढेलो बस्तीमा प्रवेश गर्न लागेकाले नियन्त्रणका लागि सरकारसँग माग गरे। उनले डढेलोका कारण उक्त जंगल क्षेत्रमा रेड पान्डा, कस्तूरी, बँदेलजस्ता दुर्लभ वन्यजन्तु जोखिममा रहेको बताए।

अर्का सांसद ठाकुर गैरेले सिंहदरबारभित्र रहेको खानेपानी मन्त्रालयमा आगलागी हुनुले देशको सुरक्षा, संवेदनशीलता र सेचतनाप्रति प्रश्न उठेको बताए। उनले प्रश्न गरे, ‘यो घटना कसरी भयो? कसरी यस्तो घटना हुनु पुग्यो? संसद्मा यसबारेमा जानकारी भयो भने राम्रो सन्देश जान्छ।’ यसैगरी उनले राष्ट्रिय निकुञ्जमा आगलागीका घटना बढ्न थालेकाले संघ, प्रदेश र स्थानीय सरकारहरूले विपत् जोखिम न्यूनीकरणका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए।

सांसद हितबहादुर तामाङले पनि खानेपानी मन्त्रालयमा कसरी आगलागी भयो, त्यसको असर के कस्तो भएका छन्, सम्बन्धित मन्त्रालयबाट सदनलाई जानकारी गराउन माग गरेका छन्। उनले लाङटाङ राष्ट्रिय निकुञ्जमा भइरहेको आगालागीका घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।

सांसद विन्दबासिनी कंसाकारले सल्यानको महोत्सव र खानेपानी मन्त्रालयमा लागेको आगो र कमलपोखरीमा ग्यास सिलिन्डिर विस्फोट दुर्घटना मात्रै सरकारी लापरबाहीका कारण भएको आरोप लगाइन्। उनले सरकारले अहिलेसम्म ग्यास सिलिन्डरको सुरक्षाका लागि योजना बनाउन नसकेको बताइन्। साथै विद्युत् प्राधिकरणले पनि आगलागी नियन्त्रणमा योजना ल्याउन नसकेको बताइन्। सांसद कंसाकारले संसद्मा दर्ता भएको जलनसम्बन्धी विधेयक तत्काल अगाडि बढाउन माग गरिन्। उनले भनिन्, ‘आगलागीका घटना सामान्य घटना मानेर पन्छिनु हुँदैन। जलन उपचारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

सांसद अनिशा नेपाली सल्यान महोत्सवमा माघ २६ गते आगो लाग्दा करोडौँ क्षति भएको जानकारी गराउँदै घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन्। उनले व्यापारीलाई क्षतिपूर्ति दिलाउन पनि माग गरेकी छन्। नेपालीले प्रहरी ड्युटीमा नबसेका कारण पनि सल्यान महोत्सवमा आगो लागेको हुने सक्ने शंका व्यक्त गरिन्। साथै उनले प्रत्येक जिल्ला र नगरपालिकामा दमकलको व्यवस्था गर्न माग गरेकी छन्।

सांसद कान्तिका सेजुवालले जुम्लाको चन्दननाथमा लागेको डढेलो नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराइन्। उनले डेढेलाका कारण मानव बस्ती जोखिममा परेको बताइन्। यसैगरी चन्दननाथ–३ मा आगोले जलेर घर नष्ट भएका परिवारलाई उनीहरूलाई गासबास र कपासको व्यवस्था गर्न माग गरिन्। साथै उनले खानेपानी मन्त्रालयमा भएको आगलागीबारे सदनलाई जानकारी गराउनुपर्ने बताइन्।

खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको थियो। खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका थिए। आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको थियो।

प्रकाशित: २७ माघ २०८१ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast