सन्दर्भ : नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन

देशमा वैकल्पिक शक्तिको आवश्यकता छ, हाम्रो महाधिवेशनले त्यसको आवश्यकता र औचित्य प्रस्ट पार्छ : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता]

देशमा वैकल्पिक शक्तिको आवश्यकता छ, हाम्रो महाधिवेशनले त्यसको आवश्यकता र औचित्य प्रस्ट पार्छ : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता]

डा. बाबुराम भट्टराई संयोजक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आइतबार काठमाडौँमा सुरु हुँदैछ। २०७२ सालमा नयाँ शक्ति अभियान थालनी गरेका डा. भट्टराईले यस अवधिमा अनेक अभ्यास गरेका छन्। नयाँ शक्तिलाई वैकल्पिक राजनीतिक धारका रूपमा लिएर अघि बढिरहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग पार्टीको महाधिवेशन र समसामयिक राजनीतिक विषयमा चन्द्रशेखर अधिकारी रमेश दवाडीले गरेको कुराकानी :

२०५२ सालमा जनयुद्ध सुरु हुँदा तपाईँमा भिन्नै प्रकारको जोश र उत्साह देखिन्थ्यो। नागरिक समाज र जनस्तरबाट पनि तपाईँप्रति विशेष आशा थियो। अहिले आइपुग्दा तपाईँलाई कतिपयले राजनीतिमा असान्दर्भिक भन्न थालेका छन्। किन यस्तो टिप्पणी गरिन्छ? तपाईँको राजनीतिक अभियान सान्दर्भिक छन् भन्ने आधार केके हुन्?

व्यक्तिको सान्दर्भिकता सोच्ने होइन। मानव चेतना, ज्ञानविज्ञान, प्रविधि कहाँ पुगिसक्यो। विश्व इतिहासमा विभिन्न राज्य कसरी गठन भयो र कोही किन अगाडि गए, कोही किन पछाडि भए भन्ने निश्चित कारण हुन्छन् भन्ने बुझेर त्यसलाई बदल्न म राजनीतिमा लागेको हुँ। मैले बुझेको जीवनदर्शन संसारलाई बुझ्ने र बदल्ने हो। १८ औँ शताब्दीसम्म विश्वको हाराहारीमा भएको र संसारको सबभन्दा पुरानोमध्येको हाम्रो देश गत दुई सय वर्षमा र खासगरी पछिल्लो सय वर्षमा जसरी पिँधमा पुग्यो, त्यसको कारण खोतलेर यसलाई बदल्ने अभियानमा म लागेको हुँ। मेरो पीएचडी थेसिसको विषय पनि नेपालको अल्पविकास किन भयो र उपचार के हो भन्नेमै केन्द्रित छ।

निरंकुश राजतन्त्रात्मक शासन व्यवस्था, सामन्तवादी उत्पादन प्रणाली, जमिन केन्द्रित अर्थतन्त्र रहुन्जेल अल्पविकास हुन्छ। लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली, जनतामा अधिकार सुसम्पन्न भएर उद्योग, सेवा प्रदान अर्थतन्त्र भयो भने देश विकसित हुन्छ भन्ने इतिहाससिद्ध तथ्य हो। त्यसैले नेपालमा पहिले एउटा राजनीतिक परिवर्तनलाई पूर्णता दिनुपर्छ। निरंकुश राजतन्त्र अन्त्य गरेर लोकतन्त्रलाई पूर्णता दिएपछि त्यसको जगमा नेपालको कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक सेवा प्रदान अर्थतन्त्रमा रूपान्तरण गरेर देश समृद्ध बन्छ भन्ने सोचमा म ३४/३५ सालदेखि विद्यार्थी आन्दोलन हुँदै राजनीतिमा लागेको हुँ। म स्वविवेकले राजनीतिमा लागेको हुँ। म त्यसमै छु।

निरंकुश राजतन्त्र अन्त्यका लागि हामीले ठूलो धक्का दिनुपर्थ्यो त्यो जनयुद्धले दियो। जनयुद्ध नभएको भए राजतन्त्र जाँदैनथ्यो। जनयुद्धले पिँधैदेखि जनतालाई सचेत गरायो र त्यसैको बलमा अहिलेको व्यवस्था आएको हो। राजतन्त्र अन्त्य भए पनि पुराना शक्ति र बाह्य शक्तिको घेराबन्दी भयो। राजनीतिक पार्टीभित्र एकरूपता भएन। त्यसले गर्दा संविधान निर्माण प्रक्रिया लम्बियो। बल्ल २०७२ सालमा संविधान जारी भयो। संविधान जारी भएपछि राजनीतिक परिवर्तनको प्रक्रिया पूरा भयो। अब आर्थिक रूपान्तरण, आर्थिक क्रान्तिको नयाँ बाटोमा जानुपर्छ भन्ने अभियानमा म हिँडिरहेको हुँ। नबुझ्ने मानिसले बाबुराम असान्दर्भिक भयो भन्छन्। म त्यतापट्टि विश्वास गर्दिनँ। आफ्नो काम गर्ने हो। समाज र मानव जाति उन्नत भयो भने आफ्ना लागि खुसीको कुरा हुन्छ। अरू कुरा भोलि इतिहासले मूल्यांकन गर्नेछ।

नयाँ शक्तिमा अन्य सबै नयाँ राजनीतिक दलहरू समाहित गरेर एउटा बलियो वैकल्पिक शक्ति बनाउने परिकल्पना गर्नुभएको छ? यसका लागि केही प्रयास पनि भएका छन् कि?

पहिले पनि नेपालमा वैकल्पिक शक्ति बनेका थिए। पहिलो पार्टी प्रजा परिषद् हो। त्यसकोे वैकल्पिक शक्ति कांग्रेस आएको हो। त्यसको विकल्पमा एमाले आयो। त्यसको विकल्पमा माओवादी आयो। हामी सबै भएर २०७२ सालसम्म एउटा युग पूरा गर्‍यौँ। ती पार्टीहरू एउटा युगभित्रका वैकल्पिक शक्ति थिए। हाम्रो भनाइ युग परिवर्तन भयो भन्ने हो। महाधिवेशनमा नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक शक्तिको औचित्य र आधार भन्ने शीर्षकमा त्यो दस्तावेज लेखिएको छ।

मैले त्यहाँ युग परिवर्तनको कुरा गरेको छु। विश्वव्यापी रूपमा सत्रौँ, अठारौँ शताब्दीमा पहिलो औद्योगिक क्रान्ति सुरु भयो। पहिलो, वाष्प इन्जिनहरूको आविष्कारपछि भएको प्राविधिक औद्योगीकरण थियो। उन्नाइसौँ शताब्दीको मध्यदेखि २० औँ शताब्दीको मध्यसम्म विद्युत्‌को आविष्कारपछि विद्युत्‌को मेसिन बने। ठूलाठूला कारखाना बन्न थाले। उत्पादनमा वृद्धि भयो। त्यसलाई दोस्रो औद्योगिक क्रान्ति भनियो। २० औँ शताब्दीको मध्यदेखि अन्त्यसम्म कम्प्युटर, प्रविधिको आविष्कार भयो, त्यसले ल्याएको परिवर्तनलाई तेस्रो औद्योगिकीकरण भनियो। २१ औँ शताब्दीको सुरुवातसँगै इन्टरनेट प्रविधि, बायोटेक्नोलजी, एआईदेखि लिएर एकीकृत ढंगले तीव्र गतिमा परिवर्तन भएको छ। यसले आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका हरेका क्षेत्रमा प्रभाव पारेको छ। यसलाई चौथो औद्योगिक क्रान्ति भनिँदैछ।

वैचारिक ढंगले पनि पुँजीवाद, साम्यवाद अथवा प्रवर्धन युगका विचारहरू, स्वतन्त्रता, समानता, भ्रातृत्वमा आधारित जुन विचार थिए, ती पनि कमजोर भए। यद्यपि तिनीहरूले एक ढंगले राजनीतिक लोकतन्त्रीकरण गरेर आफ्नो काम सम्पन्न गरे। तर विश्व अन्तरसम्बन्धित भएर गयो। अब त समग्र ज्ञानविज्ञान नयाँ फड्को खोजिरहेको छ। विज्ञानमा पनि न्युटनको युगको विज्ञानलाई आइस्टाइन र क्वान्टममेकानिस्कदेखि अगाडि बढेर सबैको एकीकृत सिद्धान्त हुन्छ भन्नेतिर भौतिक विज्ञान पुगेको छ। मान्छेको चेतना नरवानर अवस्थाबाट होमोसेपियन्स हुँदै उद्विकास हुँदै आएको हो। यसका पनि आफ्नै नियम छन्।

मनोजगत्‌का कतिपय नियम हुन्छन्। दर्शनशास्त्रका विभिन्न हाँगा छन्। न्युरो साइसन्स (मस्तिष्क विज्ञान) का अध्ययन बायोटेक्नोलजीले पनि के भन्यो भने मानिसको मस्तिष्क यस्तो औजार हो, त्यसैको नक्कल गरेर कृत्रिम बौद्धिकता जस्तो भइरहेको छ। यी सबै ज्ञानविज्ञानका आधारमा समाजमा रूपान्तरण भयो। यो नितान्त गुणात्मक प्रकृतिको फरक हो। यसरी संसार त्यो युगमा पुग्यो। तर हामी कुटोकोदालो र हलो जोतिरहेका छौँ। माथिमाथि जानुभयो भयो भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौँ। त्यसैले नेपाललाई पहिलोबाट चौथोमा कसरी पुर्‍याउने? विश्वले चौथो औद्योगिक क्रान्तिको संरचना माग गरेको छ। नेपालचाहिँ पहिलो औद्योगिक क्रान्तिमा टुकटुक गरिरहेको छ। त्यसले गर्दा अर्थतन्त्र भत्कियो। रोजगारी भएन।

युवा विदेश पलायन भएका छन्। त्यसो हुँदा हामीले बाटो देखाउन पर्‍यो नि! ती देश पनि सय वर्ष पहिले हामीजस्तै थिए। यो बाटो पछ्याएर उनीहरू त्यहाँ पुगे। अहिले हामीले युगीन चेतनाका आधारमा विचारको संश्लेषण गर्ने र नयाँ वैकल्पिक शक्ति बनाउने भनेर लागेका छौँ। त्यसैले वैकल्पिक शक्ति हुनु अर्को एउटा पार्टी होइन। २००७ सालदेखि २०७२ सालसम्म एउटा कालखण्ड थियो। त्यो कालखण्डमा बनेका पार्टीहरू एउटा डालो हो। संविधान जारी भएपछि या लोकतान्त्रिक गणतन्त्र पूर्णता भएपछि अर्को डालो भयो। यतापट्टि जन्मेका पार्टीहरू वैकल्पिक हुन्। नयाँ शक्ति भनेर मैले २०७२ सालदेखि सुरु गरेँ। पछि विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टी फरकफरक ढंगले उम्रेका हुन्। बिउ त्यही हो तर स्पष्ट आकार लिइसकेका छैनन्। वैकल्पिक धारको युग सहाउँदो नयाँ दर्शन चाहियो, नयाँ राजनीति चाहियो। त्यो नै हामीले संश्लेषण गर्न खोजेका छौँ।

अहिलेका पार्टीलाई आफूमा समेट्ने, एउटै बनाउने भन्ने हो?

उनीहरू रूपान्तरण हुनै चाहँदैनन्। बूढो सुगाले पढ्दैन भनिन्छ। बूढो रूखमा जतिसुुकै मलजल गरे पनि त्यसबाट फल आउँदैन। ती पार्टीलाई जोड गर्न उपयुक्त छैन। सम्भावना छैन। ठूलो जनसंख्या उनीहरूको भ्रममा परेर बसेको छ। उनीहरूले कांग्रेस, एमाले, माओवादीलाई भोट हालेका छन्। विकल्प नपाएर न हो। १०४ वर्ष राणाशासन भोगेकै हो। ३० वर्ष राजालाई मानेकै हो। जनतालाई बाटो देखाउनुपर्छ नि त! त्यसैले हामी नयाँ ढंगले बाटो देखाउँदैछौँ। २०६३ पछिको जुन नयाँ पुस्ता आइरहेको छ यो पुस्ता वयस्क भयो अब। अबको निर्वाचनमा त्यो निर्णायक हुन्छ। त्यसले बल्ल यो चेतना बुझ्छ।

अन्य नयाँ पार्टीसँग कार्यगत एकता सम्भव छ? महाधिवेशनपछि कार्यगत एकता र चुनावसम्ममा पार्टी एकता गर्ने हो?

पहिला त हामी आफैँ वैकल्पिक केन्द्र बन्नुपर्‍यो। नेपाली राजनीतिमा वैचारिक केन्द्र बनेन। अरू पार्टीसँग सहकार्य गर्नुको अर्थ पार्टी एकता भनेर बुझ्नु हुँदैन। पहिले हामीले वैकल्पिक शक्तिको पहिचान र शक्ति आर्जन गर्ने, देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने, संगठन विस्तार गर्ने र जनताका मुद्दालाई उठाएर पार्टीलाई देशव्यापी रूपमा स्थापित गर्ने प्रयत्न गर्छौँ। अरूले हाम्रो पार्टीको सञ्जाल देशभर छैन भन्ने ठानेका छन्।

नयाँ शक्ति पार्टी घोषणाका बेला दशरथ रंगशालामा आएका मानिस अहिले पनि छरिएर रहेका छन्। ती सबैलाई जोड्छौँ। आफ्नै संगठन बलियो बनाउँछौँ। देशको समस्या समाधान गर्न भनेर हामीले ‘५स’ निर्माण गरेका छौँ। जसमा स्वाधीनता सार्वभौमिकता, समानुपातिक समावेशी लोकतन्त्र, सुशासन र सदाचार समतामूलक समृद्धि, समुन्नत समाजवाद छन्। यही विचारको वरिपरि अन्य नयाँ पार्टीसँग सहकार्य गर्छौँ।

पहिलो जोड आफू बन्नेमा हुन्छ। इन्जिन नै भएन, ड्राइभर नै भएर भने कहाँ बसाउनुहुन्छ? गाडी ठिक भएन र गाडीको दिशा ठिक भएन भने कसलाई बसाउनुहुन्छ? पश्चिम जानुपर्ने, पूर्वतिर लागियो भने गन्तव्यमा पुगिँदैन। कसैसँग भ्रष्टाचारविरुद्धमा कुरा मिल्न सक्छ, कसैसँग आर्थिक विकास र समृद्धिका विषयमा मुद्दा मिल्न सक्छ। कसैसँग लोकतन्त्रलाई अझै उन्नत बनाउन र प्रत्यक्ष निर्वाचित कार्यकारीका विषयमा मुद्दा मिल्न सक्छ। कसैले शिक्षा, रोजगारीमा मुद्दा मिल्नसक्छ। सहकारी, वित्तीय क्षेत्रका समस्याहरू छन् यसमा सहकार्य हुनसक्छ। कुनकुन पार्टीसँग मुद्दा मिल्छ त्यसका आधारमा अगाडि बढ्छौँ।

व्यक्तिकै नाम लिएर भन्नुपर्दा रवि लामिछाने पुस्ताका युवालाई कसरी आकर्षित गर्ने?

पुरानासँगको विकर्षण हो। पुरानाले गरेनन् भनेर विद्रोहका रूपमा भुल्का उठेको थियो। विरोध मात्रै गरेर समस्या समाधान हुँदैन। समाधान के हो? विश्वमा दार्शनिक, वैचारिक संकट छ। विचारले दिशाबोध नगरे त संसार अगाडि बढ्दैन। भौतिक जगत् र सामाजिक जगत्को विकासको नियम के हुन् भन्नेमा संकट छ। हिजोको साम्यवाद र पुँजीवादले पुग्दैन। त्योभन्दा माथि उठेको समुन्नत समाजवाद नामकरण गरेका छौँ। त्यो भनेको साम्यवाद र पुँजीवाद (कम्युनिस्ट-कांग्रेस) भन्ने जुन विचार हो त्योभन्दा अगाडि बढेको लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद भनेका छौँ। राजनीतिक प्रणालीमा लोकतन्त्र भनेर त भनियो तर लोकतन्त्र निरन्तर विकसित हुँदै जाने प्रक्रिया हो।

हामीले जुन संघीय लोकतान्त्रिक गणतन्त्र बनाएका छौँ। अहिले त चुनावदेखि चुनावसम्म। छलछाम गर्ने, पैसा खर्च गर्ने, सत्तामा पुग्ने, सरकार चलाउने त्यति मात्रैलाई लोकतन्त्र भनिएको छ। त्यो त होइन। जनताद्वारा जनताको नीति, जनताको शासन भन्ने नै हो। वर्ग, जाति, क्षेत्र, लिंगमा विभाजित जनता छन्। ती सबैको सहभागिताको लोकतन्त्र चाहिएको हो। त्यसलाई पनि समृद्धीकरण गर्छौँ। हाम्रो शासकीय प्रणाली संसदीय गोलचक्करमा फसिरहेको छ, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्को व्यवस्था नभएसम्म स्थिरता हुँदैन र सबैको सहभागिता पनि हुँदैन।

आर्थिक परिवर्तनका निम्ति पाँच, दस र पच्चीसवर्षे योजना बनाएर देशलाई केही दशकभित्र गरिबी र बेरोजगारीको दुष्चक्रबाट निकालेर उन्नतसम्म पुर्‍याउने योजनासहित अहिले आउँदैछौँ। यसको समग्र चित्र अरूसँग छैन। त्यसैले पुराना पार्टीको विरोध गरेर जो अगाडि आउँछ ‘म गरिदिन्छु’ भनेर पपुलर हुन्छ। कर्मचारीको कठालो समातेको हुन्छ त्यही नै ‘हिरो’ हुन्छ। त्यो त व्यक्ति विशेषले गरेर हुँदैन। त्यो त रविन स्टाइल भयो। रविनले धनीसँग लिएर गरिबलाई बाँड्थे। हामीले सुव्यवस्थित रूपले यसको समाधान दिँदैछौँ। त्यस क्रममा जो नयाँ पार्टी भनेर आएका छन् सबैसँग संवाद गरेर सहकार्य हुँदै बृहत् ध्रुवीकरणतिर लैजानुपर्छ। एउटै पार्टी भन्दिनँ। किनभने नयाँ युगमा पनि धेरै पार्टी हुन्छन्।

महाधिवेशनमा तपाईंले प्रस्तुत गर्ने राजनीतिक दस्तावेजका मुख्य विषय केके छन्?

मैले २०७० सालदेखि खाँचो नयाँ शक्तिको भनेर वैचारिक बहस सुरु गरेँ। २०७२ सालपछि नयाँ शक्ति अभियान सुरु गरेँ। त्यसैमा विभिन्न उकालीओराली हुँदै नेपाल समाजवादी पार्टी नयाँ शक्तिका रूपमा हामी अगाडि बढेका छौँ। यसको पहिलो महाधिवेशन (माघ २७, २८ र २९) हुँदैछ। यहाँ निर्वाचनलगायत सम्पूर्ण काम सम्पन्न गर्छौँ। महाधिवेशनबाट मुख्य गरी दस्तावेज पारित गर्छौँ। पार्टीको सांगठनिक राजनीतिक प्रस्तावमा अन्तर्राष्ट्रिय समस्या, वैचारिक समस्या, आर्थिक समस्या, विज्ञान र प्रविधिले ल्याएको चुनौती र सम्भावना, पर्यावरणको संकटले विश्वव्यापी रूपमा पारेको प्रभावलगायतका विषय छन्।

यसैगरी विश्वव्यापी रुपमा नयाँ राजनीतिको खोजीर नेपालले त्यसबाट सिक्नुपर्ने पाठ, विश्वमा नेपालको अवस्थाबारे पार्न खोजेका छौँ। नेपाल के हो? राष्ट्र हो कि राज्य हो कि? के हो भन्ने विषयमा अस्पष्टता छ। त्यसैले दस्ताबेजमा नेपालको राष्ट्रियताको पुनर्परिभाषा भनेर व्याख्या गरिएको छ। अर्कोचाहिँ नेपालको अर्थ-राजनीतिक समस्या, लाखौँको संख्यामा युवा पलायन हुनाको कारण र समाधानको उपाय पनि उल्लेख हुनेछ।

हामीले नेपालका विभिन्न राजनीतिक शक्तिहरूको प्रवृत्ति के के छ भनेर त्यसको विश्लेषण गरेका छौँ। उदारवादी लोकतान्त्रिक धार जसको नेतृत्व कांग्रेसले गर्छ, २००७ सालदेखि यहाँसम्म आउँदा त्योचाहिँ उही पेट्रोल सकिएको गाडीजस्तो भइरहेको छ। नवीकरण पनि छैन। घिटीघिटी गरेर धकलिरहेको छ। अर्को, कम्युनिस्ट धारका विभिन्न पार्टी छन्, मुख्यगरी एमाले र प्रचण्डले नेतृत्व गरेको माओवादी। सारमा भन्दा यिनीहरू सत्तादेखि सत्तासम्म मात्रै रुमल्लिएका छन्। त्यसले पटकपटक सत्तामा गएर केही गर्न सक्दैन। उनीहरूबाट केही हुँदैन। एउटा सानो राजावादी धार छ। संवर्धनवादी धार जहिले पनि रहन्छ। त्यो समाधान पनि होइन, त्यसको भविष्य पनि छैन। क्षेत्रीयतावादी र पहिचानवादी शक्तिहरू पनि लामो समय टिक्न सक्दैनन्। राष्ट्रिय रुपमै समाधान नगरी उनीहरूको मुद्दा समाधान हुँदैन। यी सबैको विकल्पमा पाँचौँ धार, नयाँ वैकल्पिक धारको मुख्य वैचारिक रूपमा नयाँ शक्तिका आउनुको औचित्य स्पष्ट पारिएको छ।

नेपालमा लोकतन्त्र प्राप्त भयो, जनताले अधिकार पाए, त्यसलाई कार्यान्वयन गर्न आर्थिक हैसियत र क्षमता हाम्रो छैन। राजनीतिक क्रान्तिका उपलब्धिलाई रक्षा गर्ने हो भने आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने एउटा मुद्दा छ। दोस्रो, लोकतन्त्र त हामीले ल्यायौँ तर लोकतन्त्र आफैँमा पूर्ण हुँदैन। यसलाई समृद्ध पार्दै लैजानुपर्छ। त्यसका लागि प्रत्यक्ष कार्यकारी प्रणालीमा नगएसम्म स्थिरता हुँदैन भन्ने विषय छ। चुनावलगायतका ठाउँमा चुनावी खर्च दिएर सहज बनाउने, विकृति विसंगति रोक्ने, प्रतिनिधिले गलत सोच्छन् भने तिनलाई फिर्ता बोलाउनेसहितका प्रावधान राख्ने, सँगसँगै संघीयताका त्रुटिलाई पनि सच्याउँदै लोकतन्त्रलाई पूर्ण गर्नुपर्छ।

चरम भ्रष्टाचारलाई संस्थागत ढंगले हल गर्नुपर्छ। राजनीतिमा लाग्नु भनेको पैसा कमाउन होइन। यो त समाज रूपान्तरण, समाज रूपान्तरणसँगसँगै मेरो पनि हित हुन्छ भनेर लाग्ने हो। सदाचार आयोग बनाएर पार्टी र राज्यमा पनि प्रवर्धन गर्नुपर्छ।

न्यायालयको सुधार, कर्मचारीतन्त्रको सुधार आदि गरेर संस्थाहरू बलियो बनाउनुपर्छ। त्यसो गर्दा पनि मानिसले चोरीचकारी र भ्रष्टाचार गर्छ। त्यसले गर्दा बलियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा स्वतन्त्र आयोग, त्यसलाई पृष्ठपोषण गर्ने जनलोकपाल, दण्डित गर्न सुधारिएको न्यायालय भएमा भ्रष्टाचार रोक्न सकिन्छ।

अगाडि पनि मैले भनेँ, पाँचवर्षे, दसवर्षे र पच्चीसवर्षे योजना बनाएर अहिलेको अल्पविकसित अवस्थाबाट २० वर्षपछि नेपाललाई संसारमा समुन्नत देशमा पुर्‍याउनु छ। त्यस्तो योजनाको कार्यान्वयन र यसलाई दिशाबोध गर्ने सिद्धान्त र विचार आवश्यक छ। साम्यवाद र पुँजीवादका कमजोरीलाई फ्याँकेर अहिलेको युग सुहाउँदो, पछिल्लो ज्ञानविज्ञान र दर्शन जुन छ त्यसमा आधारित भएको समुन्नत समाजवादी दर्शनको विकास गर्नु छ।

दस्ताबेजमा वैकल्पिक शक्तिका संगठनात्मक संरचना, तत्काल के गर्ने त? वैचारिक काम, सांगठनिक काम, प्रचारप्रसारको काम, जनताका मुद्दालाई लिएर व्यापक रूपमा सडकमा जाने जस्ता विषय छन्। चुनावमा श्रेष्ठता हासिल गरेर सदनमा जाने र सही नियमकानुन बनाउने र सकारमा पुगेर त्यसलाई कार्यान्वयन गर्ने, त्यसका निम्ति पहिले आफूलाई बलियो बनाउने, नयाँ र वैकल्पिक भनेर आएका शक्तिहरू छन् तिनीहरूसँग संवाद गर्ने, सके एउटा बृहत् शक्ति भएर काम गर्ने नभए कार्यगत एकता गर्ने। यसरी आगामी दिनमा देशलाई विकल्प दिने सार दस्तावेजको छ।

निष्कर्षमा के भनेका छौँ भने अझ उन्नत प्रकारको वैकल्पिक शक्तिको विकल्प छैन। यसलाई कार्यान्वयन गर्न संगठन चाहियो, पार्टी चाहियो । त्यसका लागि नेतृत्व चाहियो। नेतृत्व कस्तो भन्दा पूर्ण रुपले समानुपातिक, समावेशी ढंगको बनाउँछौँ।

हामी केन्द्र, प्रदेश र स्थानीय तहसम्म प्रत्यक्ष निर्वाचन गर्छौँ। स्थानीय तहमा सदस्यको प्रत्यक्ष गर्छौँ। डिजिटल गर्न नभ्याएको हुनाले केन्द्रमा प्रतिनिधिबाट प्रत्यक्ष गर्छौँ। १६ प्रतिनिधिले प्रत्यक्ष रूपमा नेतृत्वको निर्वाचन गर्छन्। यसरी उन्नत लोकतन्त्रको अभ्यास गरेर वैकल्पिक शक्तिको झल्को दिन्छौँ।

नेसपा नयाँ शक्तिको संरचना कस्तो हुन्छ, युवा, महिला, दलित, जनजाति, मुस्लिम आदिको प्रतिनिधित्व के कस्तो छ, पार्टीमा निर्वाचन हुन्छ कि हुँदैन?

यो पार्टीको संगठनात्मक सिद्धान्त पनि कार्यकर्ता नै सार्वभौम भनेर प्रत्यक्ष निर्वाचित प्रणाली अपनाएका छौँ। नेपाल जातीय, क्षेत्रीय, लैंगिक विविधता भएको मुलुक हो। त्यसैले सबैको सहभागिता हुनुपर्छ। अग्रगामी, वैकल्पिक राजनीतिक विचारमा प्रस्ट भएको यस्ता मान्छेहरूलाई नेतृत्वमा ल्याउनुपर्छ। खुला रूपले प्रत्यक्ष निर्वाचन नै गराउँछौँ। जोजो चाहनुहुन्छ चुनावमा उठेर जित हासिल गर्न सक्नुहुन्छ तर यो वैकल्पिक राजनीतिक अभियानको जुन लक्ष्य छ त्यसलाई दह्रोसँग समात्ने, कार्यान्वयन गर्नेचाहिँ हुनुपर्‍यो। मेरो चाहना के छ भने विचार पनि नयाँ, मान्छे पनि नयाँ हुँदा सुनमा सुगन्ध हुन्छ। त्यस्ता आऊन् भन्ने मेरो चाहना छ। विचार पुरानो मान्छे नयाँ, मान्छे पुरानो विचार नयाँ भयो भने पनि मानिसमा आकर्षण आउँदैन। सकेसम्म मेरो चाहना विचार र मान्छे दुवै नयाँ होस् भन्ने छ। अन्त्यसम्म कसरी जान्छ हेरौँ।

प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली हुँदा पिछडिएको समुदायका मानिस कहिल्यै पनि माथि आउँदैनन् भन्ने भाष्य बनाएका छन् नि!

अहिले पो को आएको छ र! टाठाबाठा आउने अहिले खतरा भइरहेको छ। पपुलर हुनुपर्‍यो, क्षमतावान् हुनुपर्‍यो, जो कोही पनि आउन सक्छ। जनता बेकुफ हुन्छ भने किन लोकतन्त्र चाहिन्छ? जनताले गलत मान्छे छान्छ भने त लोकतन्त्रको विश्वास गर्न भएन नि! देशभर जनताले छान्दा सबैको सम्भावना हुन्छ। सांसदले मात्र नेता चुन्दा जो फटाहा छ, जो ठग छ, जसले पैसा थुपारेको छ, दोहोरो कुरा गर्छ, झुक्याउन, ठग्न जान्दछ, त्यो चाहिँ सत्तामा पुग्ने सम्भावना बढी हुन्छ। हाम्रै यहीँ देख्नुभएन? केही वर्षयताको।

मैले सबैलाई आरोपित गर्न खोजेको त होइन। दुई करोड जनताले छान्ने मान्छे त दुई सय ५० जनाले छान्ने भन्दा राम्रो हुन्छ भन्ने सामान्य गणितको नियमले पनि भन्छ। जहाँसम्म क्षेत्रीयता, जातीयता, पिछडिएका मानिस चुनिँदैनन् कि भन्ने छ छ। यसलाई पनि प्रावधान राख्न सकिन्छ। राष्ट्रपति र उपराष्ट्रपति अलग जाति र अलग लिंगको भन्ने अहिले पनि छ। प्रत्यक्षमा पनि त्यसरी राख्न सकिन्छ। दुई या तीन कार्यकाल एउटै जातिबाट हुनु हुँदैन भन्न सकिन्छ।

कांग्रेस, एमाले, माओवादी पनि हामी पूर्ण पुँजीवादी, पूर्ण कम्युनिस्ट होइनौँ भन्दै समाजवादी धारमा आउन खोजिरहेका छन् भन्ने गरिन्छ। यसलाई कसरी बुझ्ने?

उहाँहरूभन्दा हामी अगाडि जाने भनिरहेका छौँ। जे भनेर भोट आउँछ उहाँहरूले त्यही भन्ने हो। कांग्रेसपछि एमाले, एमालेपछि माओवादी सत्तामा छन्। सत्तामा छउन्जेल खुब काम गरेँ भन्ने सत्ताबाट ओर्लिएपछि केही छैन। यही त भइरहेको छ नि! २०६३ सालदेखि यिनै तीन टाउकाहरूले देश चलाइरहेका छन्। मेरो भनाइ राजनीतिक संरचनात्मक समस्या हल गरौँ भन्ने हो।

शासकीय स्वरूप र निर्वाचन प्रणाली नबदलिएसम्म ५० पटक चुनाव लडे पनि केही हुँदैन। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानैपर्छ। अर्को, तपाईँले भ्रष्टाचार, भ्रष्टाचार भन्नुहुन्छ। यो त व्यक्तिको कुरा होइन। संस्था बलियो पार्न पर्‍यो। कर्मचारीतन्त्र परम्परागत छ। सोपानमा आधारित फाइल धकेल्ने कर्मचारीतन्त्रलाई एक झड्कामा भत्काउनुपर्छ। भारतमा औपनिवेशिक शासन चलाउन लर्ड मेकालेले सुरु गरेको कर्मचारीतन्त्रको प्रणाली फोटोकपी गरेर चलाउने हो अहिलेको जमानामा पनि?

अमेरिकाले आफैँ हायर-फायर गर्छ। देख्नुभएको छैन? त्यसैले हामीले कर्मचारीतन्त्र पूरै बदल्नुपर्छ। न्यायालय पुरानै प्रकृतिको छ। त्यहाँ खुला पारदर्शी ढंगको सुधार गर्नुपर्छ। छानबिन गर्ने आयोगहरूलाई स्वतन्त्र बनाउनुपर्छ। त्यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा जनलोकपाल गठन गरेर निगरानी र अभियोजनको जिम्मेवारी दिनुपर्छ। राष्ट्रपतिको मातहतमा राष्ट्रिय विकास प्राधिकरण बनाउनुपर्छ। त्यसले नेपालको विकासको बाटो तय गर्छ। यस्तो ढंगले सुशासन कायम गर्न सकिन्छ।

प्रसंग बदलौँ, तपाईँका समकालीन र कुनै बेलाका समकक्षी नेताहरू अहिले कोही प्रधानमन्त्री छन्, कोही आफूसँग सत्ताको साँचो रहेको दाबी गर्दै देश दौडाहामा व्यस्त छन्। कोही नेताहरू बिस्तारै खुम्चँदै गएका छन्? ती नेताहरूबारे तपाईँको मूल्यांकन के छ?

म व्यक्ति केन्द्रित कुरा गर्दिनँ। उहाँहरूले एउटा कामलखण्ड पूरा गर्नुभयो। उहाँहरूलाई धन्यवाद छ। अब नयाँ ज्ञान भएका नयाँ पुस्ताका मानिस राजनीतिमा आउनुपर्छ। उनीहरूलाई पो नेता बनाउने हो। म त्यो दिशातिर सोचिरहेको छु। मैले कहिल्यै कुर्सीको मोह लिएको छैन। म त अरूलाई अगाडि सार्ने मान्छे हुँ। माओवादी जनयुद्धकालमा पनि त्यही भनेको हुँ। दलहरूबीच खिचातानी भई देश अस्थिरतातिर गएका बेला शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन, संविधान बनाउनका निम्ति केही समय प्रधानमन्त्री भएको हुँ।

अब मुलुकको समृद्धिका लागि हाम्रो एजेन्डा कसरी लागू गर्ने भन्ने सोच भएका मानिस अगाडि आउनुपर्छ। पालैपालो कुर्सीमा बसेर के हुन्छ? भ्रष्टाचार गरेर अर्बौँ पैसा कमाउँछ। चुनावमा खर्च गरेर जित्छ। मण्डले-कुण्डलेतिर लागेर हिँड्छ। त्यसलाई सफल भन्ने हो? मुख्य कुरा त समाज रूपान्तरण गर्ने हो। देशलाई विकास र समृद्धिमा लैजाने हो। शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी यहीँ गर्ने हो। आधुनिक सेवासुविधाले समृद्ध बनाउने, विज्ञान प्रविधिको पहुँच सबैतिर पुर्‍याउने जस्ता भिजन लागू गर्ने मान्छे पो सही मान्छे हो। यस्ता भुइँफुट्टा मान्छेलाई हामीले ठूला मान्छे भनेर हुन्छ?

अर्थमन्त्री भएका बेला तपाईँले गरेका राम्रा कामबारे अहिले पनि प्रशंसा हुँदै आएको छ। प्रधानमन्त्री हुँदा मुस्ताङ गाडी चढेको भनेर एक खालको वाहवाही पनि पाउनुभएको थियो। तपाईँलाई चाहिँ मैले यो देशका लागि यो यो काम गरेँ, अब यो काम गर्न बाँकी छ भन्ने के लाग्छ? विगत र वर्तमानको अवस्थालाई समेटेर आफैँले आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ?

जनताप्रति म आभारी छु सद्भावका निम्ति। त्यतिबेला शान्तिप्रक्रिया पूरा गर्ने, संविधान बनाउने मुख्य जिम्मेवारी थियो। मैले विकास र समृद्धिको त ट्रेलर मात्रै मैले देखाएको हुँ। मैले बजेटमा भ्यागुतोझैं उफ्रनुपर्छ, जम्प हान्नेतिर जानुपर्छ र उडान गर्ने अर्थतन्त्र ल्याउनुपर्छ भनेको थिएँ। कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको रूपान्तरण गरेर जानुपर्छ भनेको थिएँ। बिउ मैले त्यहीँ छरेको हुँ। राष्ट्रिय गौरवका योजना भनेर मैले सुरु गरेको हुँ। त्यो अहिलेका ठूला नेताहरू भनिनेले बुझ्दा पनि बुझेनन्। मलाई दुःख के लाग्छ भने जनतालाई नेताले नबुझ्ने, ती पार्टीमा बाँधिएका कार्यकर्ताले पनि नबुझ्ने र जनताले पनि नबुझ्ने भए क्या। त्यसो भएको हुनाले वैकल्पिक शक्ति चाहिएको हो।

राजनीतिक नेतृत्वप्रति बढी नै निराशा देखिन्छ। युवा पुस्ता त उच्च शिक्षाका नाममा पलायन भइरहेका छन्। कामका लागि विदेश गएका नेपाली पनि आशावादी देखिँदैनन्। खेतबारी बाँझै छन्। जनताको भान्छामा स्वदेशीभन्दा विदेशी उत्पादनको बढी वर्चस्व छ। यसो हुनुमा हाम्रो राजनीतिक पद्धति कहाँनेर चुकेको जस्तो लाग्छ? अब सुधार कसरी गर्ने?

कृषिप्रधान अर्थतन्त्रमा आफैँ उब्जाउने आफैँ खाने धेरै हुन्छन्। सामन्त र जमिनदारहरूले अरूलाई अधियाँ लगाएर, हरुवाचरुवा गराएर खेतीपाती गराएर खान्छन्। त्यो सामन्तवादी प्रणाली हो। पुँजीवादी भनेको चाहिँ आधुनिक ढंगले बजारका निम्ति उत्पादन गर्ने त्यसबाट जुन मुनाफा हुन्छ त्यो थप मुनाफाका निम्ति लगानी गर्ने त्यसले अझ अर्को लगानी गर्ने, यसरी पुनरुत्पादन हुन्छ। पुँजीवादी विस्तारकारी हुन्छ। त्यसमा सबैको चेतना एउटै हुँदैन। जो अगाडि भयो त्यो कर्पोरेट हाउस हुँदै एकाधिकारवादी भएर ठूलो घराना हुँदै अर्बपति, खर्बपति हुन पुग्छ। अरू पछि छुट्छन्। छुटेका छुटै हुन्छन्। हाम्रो देशको हकमा पनि त्यही छ। युरोप, अमेरिका त्यसरी अगाडि बढेर ठूला बलिया शक्ति भए।

पछिल्लो चरणमा आएर पूर्वी एसियाका देश, चीन, भारतलगायत त्यसरी बनिरहेका छन्। त्यो पुँजीवादी प्रवृत्ति हो। हामीले अमेरिकालाई साम्राज्यवादी शक्ति भनेको होइन, पुँजीलाई भनेका हौँ। पुँजीवादको चरित्र विस्तारकारी हुन्छ। देशभित्र बजार कब्जा गर्ने, एकाधिकार कायम गरेर ठूलाठूला हाउस बन्छन्, घराना बन्छन् मुनाफाका निम्ति संसारभर फैलन्छन्। अरूको पुँजीले पुग्दैन। त्यसैलाई साम्राज्यवाद भनिएको हो, देशलाई भनिएको होइन। नेपाल त्यसको साङ्लोमा बाँधियो। पुँजीवादका ठूला केन्द्र छन्।

हामी काँठजस्ता भयौँ। तिनीहरू केन्द्रको पुँजीवाद भए। हाम्रो काँठे पुँजीवाद हो। काँठमा बस्ने मान्छेले सहरबजारतिर आएर लवाइखवाइ हेरेर कपी गर्न खोज्छ, सुरुसुरुमा बेढंगको हुन्छ। नेपाल पुँजीवादी संसारको काँठ हो। खानलगाउन त्यस्तो खोज्छौँ। पुग्दैन। अनि आफूले गरेको काम छोडेर तिनको पछि लाग्नुपरेको हो। सुरुमा जहाँ पनि यस्तै हुन्छ। मान्छेले पछि बुझ्दै जान्छ तर त्यत्तिले समाधान हुँदैन। सबैजना देश छोडेर बाहिर गएर त हुँदैन। अहिले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देख्नुभएको छैन के गरेका छन्? ट्रकमा हाल्दै देशबाट फिर्ता पठाउँदैछन्। त्यो समाधानको उपाय होइन। त्यसैले गर्ने नै यहीँ नेपालमै हो। यहाँ जल, जमिन, जंगल, जडिबुटी, खनिज सबै छन्। त्यसको सदुपयोग गरेर वस्तु उत्पादन गर्ने हो। हामीले त्यही अर्थतन्त्र भनेका हौँ। त्यसैले विदेशमा रूखमै पैसा फल्छ जस्तो लाग्छ मान्छेलाई। उनीहरू अगाडि बढेको हुनाले चमकधमक देखिएको हो। त्यहाँ गए पाइन्छ कि भनेर विचरा मान्छे जान्छन्।

प्रधानमन्त्री भइसकेका नेताहरू प्रायः कुनै न कुनै काण्डमा मुछिएका छन्। कोही वाइडबडी, कोही गिरिबन्धु, कोही भुटानी शरणार्थी, कोही लडाकुको रकम हिनामिना आदि। तपाईँमाथि चाहिँ यस्तो कुनै दाग लागेको देखिँदैन? कतै यस्तै कारणले त तपाईँ छायामा पर्नुभएको हो कि?

बाटो देखाउने मान्छे अगुवा हुन्छ। बाटो नभएको ठाउँमा काँडा पन्छाउँदै अगाडि बढ्छ। काँडाले चिथोर्छ, फेरि उठ्छ, बाटो देखाउँछ, ल आओस् भन्छ, अगाडि बढ्छ। मैले त २०३६ सालमा गणतन्त्र आउनुपर्छ भनेर खुलामञ्चबाट बोलेको छु। रेकर्डमै छ। हृषीकेश शाह बित्नुभयो। त्यतिबेला बहुदल र निर्दलको बीचमा चुनाव हुँदै थियो। मैले हुँकार नै के दिएको थिएँ भने लिगलिगकोटबाट ल्याएको शाहवंश हटाउँछौँ। सबैले जिभ्रो टोकेर यो बौलायो अब मार्छन् भन्थे। त्यसरी लागेर नै संविधानसभा, गणतन्त्रसम्म लाग्यौँ। थोरै थियौँ। पुर्‍यायौँ। अहिले विकास र समृद्धिको कुरा गरेका छौँ, यो पनि अहिले थोरै मानिसले बुझेका छन्, पछि सबैले बुझ्छन्, सानो शक्ति सही छ भने ठूलो हुन बेर लाग्दैन।

तपाईँ अध्ययनशील र बौद्धिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। राजनीति र संगठनका विषयमा त तपाईँले विभिन्न प्रशिक्षण दिएर युवा पुस्तालाई केही दिइरहनुभएको छ। पुस्तक अध्ययन गर्नुपर्छ, अनुसन्धान गनुपर्छ, ज्ञान निर्माण गर्नुपर्छ भन्ने विषयमा चाहिँ युवा पुस्तालाई केही हस्तान्तरण गर्न मन लाग्दैन?

पहिले त राजनीतिक रूपमा पार्टीलाई स्थापित गर्नका निम्ति विचारमा प्रस्ट भएका, संगठन कौशल भएका, इमानदार, निष्ठा भएका जो जनताको बीचमा भिज्न सक्छन्। त्यस्ता मानिसको एउटा टिम बनाएर पार्टी विस्तार गर्र्छौँ। सँगसँगै पार्टीमा आर्थिक विभाग, कृषि विभाग, शिक्षा विभाग, प्रचार विभागलगायत विभाग बनाउँछौँ। त्यहाँ तिनै मानिसलाई प्रशिक्षित बनाएर अगाडि बढाउँछौँ। उनीहरूले नै विशेषज्ञता हासिल गर्छन्। पार्टीको नीति बनाउनमा उनीहरूले पृष्ठपोषण गर्छन्। भोलि पार्टी सत्तामा पुगेको अवस्थामा उनीहरूलाई सोही किसिमको जिम्मेवारी दिन्छौँ। आसेपासे, जसले टेबलमुनिबाट करोड करोड पैसा बुझाएको छ, उसलाई सांसद, मन्त्री बनाउने भइरहेको छ। हामी त्यसैको विकल्पमा आइरहेका छौँ भने त हामीले त्यो गल्ती गर्ने कुरा त हुँदैन।

कतिपयले त तपाईँलाई विश्वविद्यालयका कक्षामा गएर राम्ररी पढाए उचित हुन्छ भनेर पनि सल्लाह दिएको पाइन्छ। यसमा नलागेर ७० वर्षको उमेरमा किन पार्टीमा लागिरहनुभएको छ? जसरी माओवादीबाट अलग हुनुभएको थियो, त्यसैगरी सक्रिय राजनीतिबाट बाहिरिन मन लाग्दैन?

त्यसो भन्ने हो भने त नोबेल पुरस्कार विजेताहरूले देश हाँकेका छन्। यो बुझाइ बेठिक हो। अर्थनीति, सामाजिक नीति, विज्ञान, प्रविधिसम्बन्धी नीतिलाई राजनीतिले नियन्त्रण गर्छ। विश्वविद्यालय चलाउने कानुन कसले बनाउँछ? संसद्ले बनाउँछ। गलत भाष्य बनाइएको छ। आफ्ना मान्छेलाई राख्ने थलो भनाइएको छ विश्वविद्यालय। प्रधानमन्त्री आफैँ कुलपति भएर विश्वविद्यालयमा बसेका छन्। विश्वविद्यालयले एकाडेमिक मान्छे, विज्ञहरू तयार पार्नुभन्दा पनि झोले कार्यकर्ता तयार पारेको छ। बेरोजगारी युवा तयार गरेको छ। अनि त्यहाँ बाबुराम भट्टराई गइदियोस् भन्ने? यो अल्प बुझाइको कुरा हो।

राजनीति जबसम्म सच्चिदैन, सुध्रिँदैन त्यतिबेलासम्म अर्थतन्त्र, शिक्षा, स्वास्थ्य कुनै पनि सुध्रिँदैन। यो कुरा बुझ्नपर्‍यो क्या। कि त राज्य नै चाहिएन। राज्य सञ्चालन गर्ने विधि भनेको राजनीति हो। त्यसलाई पो सच्याउनुपर्‍यो त। मूल धमिलो छ तल सङ्लो बनाउनुपर्छ भनेर हुन्छ? त्यो मिडियाले, अरू सबैले बुझ्नु र बुझाउनुपर्छ। त्यसैले बाबुराम भट्टराई समाज रुपान्तरणमै लागेको छ। निरन्तर लाग्छ। कुनै स्वार्थ छैन। स्वेच्छाले लाग्ने हो।

राजनीतिमा कोही शत्रु र मित्र हुँदैन भनिन्छ। तपाईँ र प्रचण्ड फेरि एउटै कित्तामा आउने सम्भावना कति देख्नुभएको छ? अनि गोरखा २ मा तपाईँले छाडेकै कारण प्रचण्डले चुनाव जितेर प्रधानमन्त्री हुनुभएको छ। त्यसपछि भने सम्बन्ध उति राम्रो देखिँदैन कारण के हो?

त्यतिबेला विशिष्ट कालखण्ड थियो। केपी ओलीजीले दुईदुई पटक संसद् विघटन गरेर व्यवस्था धरापमा पर्छ कि भन्ने बेला परिरहेको थियो। भुइँको टिप्छु भन्दा पोल्टाको पनि खस्छ भन्ने भयो। प्रचण्ड एकदम दोधारे चरित्रको मान्छे भन्ने त थाहा थियो। तैपनि मान्छे अप्ठ्यारोमा परिसकेपछि सुध्रन्छ कि भन्ने झिनो आशा थियो। माओवादी आन्दोलनमा सँगै काम गरेका साथीहरूको राय पनि अब नयाँ ढंगले जाऊँ भन्ने थियो।

हिजो माओवादी आन्दोलन पनि मैले भनेअनुसार अगाडि बढेको हो। नत्र अरू आन्दोलन तुहिएको छ। पेरु, थाइल्यान्ड, भियतनाम, मलेसियामा तुहियो। प्रचण्डको बुद्धिले मात्रै गएको नेपालमा माओवादी आन्दोलन त्यसरी नै तुहिन्थ्यो। हामीले विचारको पक्षपोषण गर्‍यौँ। हो, उहाँको पनि लड्ने, भिड्ने, मान्छेलाई ठाउँअनुसार बोलेर प्रभावित पार्ने, जादुगरे चरित्र छ। त्यो त गर्न सकिन्छ। चटकभटक त मूर्त हुँदैन। यो त विचारले गर्छ। त्यो माआवादी आन्दोलनमा भयो। अब त्यसरी हुँदैन। त्यतिबेला सहकार्य मात्रै थियो। गएको, फर्किएको होइन। मान्छे भ्रममा परेर बाबुराम फर्कियो भन्छन् क्या। त्यो सत्य कहिल्यै पनि होइन। उपलब्धि जोगाउने अर्थमा त उहाँसँग पनि हातेमालो गर्नुपर्‍यो भनिएको थियो। फेरि उहाँ पुरानैतिर फर्कनुभयो। च्याप्टर नै सकियो।

गत पुसमा भएको दुई पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनका आधारमा केपी ओली खुला र प्रस्ट, प्रचण्ड सदाझैँ कुटिल र छद्म भन्नुभएको थियो। अहिले जनस्तरमा दुवै नेताको तीव्र आलोचना भइरहेको छ। राम्रो छवि छैन। प्रचण्डभन्दा बरु ओली ठिक भन्न खोज्नुभएको हो?

कम्युनिस्ट खोल ओढेका दुवैजना अवसरवादी हुन्। दुवै जना नाङ्गो खालको राज्य दोहनकारी प्रवृत्ति गर्छन्। त्यसलाई आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिज्म) भनिन्छ। उहाँहरू दुवैले प्रयोग गर्ने त्यही हो। ओलीजीले नलुकाई, हाकाहाकी भन्छन्। प्रचण्डजी मुखले चिल्लो कुरा गर्छन्, आँसु पनि झार्छन् तर भित्री रूपमा छुरी चलाउँछन्। त्यही बिम्ब प्रयोग गरेको हुँ मैले। उहाँहरूमा कुनै तात्त्विक अन्तर छैन। ओलीजी सीधासीधा भन्छन्। प्रचण्ड भन्छन् एउटा, गर्छन् अर्को।

महाधिवेशनमा प्रमुख दलका नेताहरूलाई नडाकेर वैकल्पिक राजनीतिक शक्तिलाई मात्रै बोलाउनुको कारण के हो?

उहाँहरूबाट नयाँपन केही आउँदैन। त्यहाँ राखेर समय र शक्ति किन बरबाद गर्ने भन्ने अर्थमा नबोलाएका हौँ। औपचारिकताभन्दा पनि गम्भीर प्रकृतिको बहस र छलफल होस् भन्ने हो। सबैलाई नयाँ वैकल्पिक भन्नुभन्दा पनि केही नयाँ उदीयमान केही नयाँ काम गरिरहेका छन् उहाँहरूलाई निमन्त्रणा पठाएका छौँ। नागरिक समाज र बौद्धिक व्यक्तिहरूलाई आमन्त्रण गरेका छौँ। नागरिक समाज बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन। हामीले आर्थिक विकास र समृद्धि गर्नुछ। उद्योगी व्यावसायीलाई निमन्त्रणा गरेका छौँ। उद्यमी व्यवसायीका समस्या पनि हामीले सुन्नुपर्छ।

नेसपा नयाँ शक्तिले आफ्नो पहिलो महाधिवेशनबाट के सन्देश दिनेछ?

देशमा नयाँ वैकल्पिक शक्तिको आवश्यकता छ। पुराना शक्तिहरूलाई पटकपटक हेरिसक्यौँ। तिनीहरूबाट धोका मात्र भयो। यिनै मानिस फेरि दोहोर्‍याएर, यिनै पार्टी फेरि दोहोर्‍याएर देश कहीँ पनि पुग्दैन। पहिलो कुरा, हामी त्यो स्थापित गर्छौँ। देशको मुख्य समस्या के हुन् भन्ने कुराको वैज्ञानिक र तथ्य संगत ढंगले प्रस्तुत गर्छौँ। यसको समाधान यो हो, हामी गरिब हुनुको कारण यो हो, यसरी समृद्ध हुन सकिन्छ भनेर प्रस्ट मार्गचित्र देखाएर त्यो हामी गर्छौं भन्ने विश्वास जित्ने काम गर्छ महाधिवेशनले। त्यही आधारमा संगठनको सञ्जाल बढाउँछौँ। स्थानीय र प्रदेशको अधिवेशन सकिएको छैन। त्यो सक्छौँ। सँगसँगै प्रचारात्मक काम र मुद्दा लिएर अभियान सञ्चालन गर्छौँ।

भिडियाे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast