![थारू सीप र संस्कृतिको प्रवर्द्धन गरौँ : सभापति देउवा](https://himalpress.com/wp-content/uploads/2025/02/sherbhadur_deuba.jpg)
दाङ– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
अन्तरप्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएता पनि त्यसको बजारीकरण र प्रवर्द्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताए।
सभापति देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चितीकरणमा परेकाले यस समुदायका अगुवाले शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए। उनले थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको चर्चा गरे। सभापति देउवाले दाङको विकासका लागि टरिगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको उल्लेख गरे।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको कला, संस्कृति र सीप जर्गेना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले सीपलाई आयआर्जनको माध्यमका रूपमा विकास गर्न आग्रहसमेत गरे।
मटावाँ बरघर भलमन्साका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बरघर भलमन्सा ऐन ल्याउन प्रदेश सरकार अग्रसर हुनुपर्ने बताए।
चौधरीले भने, ‘लोकतन्त्रको सुन्दर अभ्यास थारू मटावाँमा रहेको छ, त्यसलाई वैधानिकता दिनुपर्छ।’
उनले थारू संरक्षित क्षेत्र घोषणा गरी थारू कला संस्कृति जगेर्ना गर्न आग्रह गरे।
मटहवाँ संघ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीले भूह्यार संरक्षणका लागि तीन तहकै सरकारले ध्यान दिनुपर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेका केन्द्रिय सदस्य बालकृष्ण खाँड, दिपक गिरि, गेहेन्द्र गिरि, प्रदेश सभापति अमरसिँह पुनलगायतले सम्बोधन गरेका थिए।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पश्चिम नवलपरासिदेखि कञ्चनपुरसम्मका थारु बडघर, मटहवाँको सहभागिता रहेको छ। यस अवसरमा एक सय चालिस समूहका विविध संस्कृति र परम्परा झल्कने प्रस्तुति रहने छन्।