चीनमा सर्प वर्षको उल्लास

अजय अलौकिक २६ माघ २०८१ १७:०२
20
SHARES
चीनमा सर्प वर्षको उल्लास

चिनियाँ नयाँ वर्ष, जसलाई वसन्त चाडका रूपमा पनि चिनिन्छ। यो संसारभर व्यापक रूपमा मनाइने चाडमध्ये एक हो। गत वर्षदेखि (२०२४ डिसेम्बर ४) यो चिनियाँ वसन्त चाडलाई युनेस्को गैरभौतिक सांस्कृतिक सम्पदा सूचीमा समेत सूचीकृत गरिएको छ। यसबाट पनि यो चाडको व्यापकता बुझ्न सकिन्छ। साथै यसको गरिमा अझै बढेको छ।
जनवरी २९ तारिखदेखि चिनियाँहरूको नयाँ वर्ष आरम्भ भएको छ। यस वर्ष सर्प वर्ष हो। नेपालमा पनि तामाङसहित विभिन्न जनजातिले यसै समयमा वा वरपर ल्होसार अर्थात् नयाँ वर्ष मनाउँछन्।

वसन्त चाड

चन्द्र पात्रोमा आधारित यो चिनियाँ नयाँ वर्ष पारिवारिक पुनर्मिलनका साथै सांस्कृतिक परम्परा र उत्सवको समय हो। नयाँ वर्षमा परिवारका सदस्य एकै ठाउँमा भेला हुन्छन्। अरू बेला जतिसुकै टाढा भए तापनि वसन्त चाडलाई पारिवारिक पुनर्मिलनका रूपमा लिने गरिन्छ। नयाँ वर्षको पूर्वसन्ध्यामा गरिने पुनर्मिलन रात्रिभोज वर्षभरिकै सबैभन्दा महत्त्वपूर्ण भोज हो। भोजका परिकारहरू र त्यसको नामको उच्चारण, ध्वनि, अर्थ वा प्रतीकात्मक रूपले भोजलाई थप सुसज्जित बनाएको देखिन्छ। जस्तै, माछा (यू) ले प्रचुरताको प्रतिनिधित्व गर्दछ। यसैगरी मम, चाउचाउ र अरू परिकारको पनि आआफ्नै अर्थ र महत्त्व छ।

जताततै राताम्मे, रातो रङ यस चाडको अर्को आकर्षण हो। चिनियाँ नयाँ वर्षमा भाग्य, खुसी र समृद्धिको प्रतीकका रूपमा रातो रङले भरेको पाइन्छ। घरभित्र र बाहिर रातो लालटिन, झ्याल, ढोकामा कागजका कटिङ सजाइएका हुन्छन्। साथै मानिसहरू सौभाग्यलाई आकर्षित गर्न रातो लुगा (भित्री वस्त्र पनि) लगाउँछन्। अनि दक्षिणास्वरूप सद्भाव र आशीर्वादका रूपमा पैसासहितको रातो खाम दिने चलन छ।

दुष्ट आत्मालाई भगाउने र सौभाग्य ल्याउने विश्वासका साथ आतिसबाजी र पटाका पड्काउनु पनि नयाँ वर्षको एक परम्परा हो। हाल सहरहरूमा प्रदूषणकारी पटाका र आतिसबाजी प्रतिबन्ध छ।

वसन्त चाडको अवधिमा चिनियाँहरू मन्दिर मेला जान्छन्। यो रमाइलो मेलामा सिंह र ड्र्यागन नृत्यलगायत रमाइला गतिविधि तथा मनोरञ्जनात्मक खेल र विभिन्न परिकारको स्वाद चाख्न पाइन्छ। यो मन्दिर मेला र लालटिन मेलाले दर्शकलाई मोहित पार्नुका साथै वसन्त चाडको वातावरणलाई थप उत्सवमय बनाउँछ।

सन् २०२३ मा चिनियाँहरूको परम्परागत नयाँ वर्ष, वसन्त चाडलाई संयुक्त राष्ट्रसंघको बिदाका रूपमा निश्चित गरिएको थियो। सन् २०२४ मा युनेस्कोको मानवजातिको गैरभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत भएपछि विश्वभरि व्यापक मान्यता पाएको छ।

सर्प वर्ष

चिनियाँ राशिले १२ वर्षको चक्र पछ्याउँदछ। प्रत्येक वर्ष एक पशु या पक्षी चिह्नसँग सम्बन्धित हुन्छ। चिनियाँ राशिमा सर्प छैटौँ जनावर हो र बुद्धि, अन्तर्ज्ञान र अनुग्रहसँग सम्बन्धित छ। यसले चिनियाँ संस्कृतिमा ज्ञान, रहस्य र रूपान्तरणको अर्थ बोकेको छ।

सर्प वर्ष रणनीतिक योजना र आत्मसुधारका लागि एक शुभ समय पनि मानिन्छ। यो परिवर्तनलाई अँगाल्ने, बुद्धि विकास गर्ने र दीर्घकालीन लक्ष्यहरूमा ध्यान केन्द्रित गर्ने वर्ष हो।

ज्ञान र रूपान्तरणको विषयवस्तुका साथ सर्प वर्षले व्यक्तिहरूलाई परिवर्तन अँगाल्न र व्यक्तिगत विकासलाई पछ्याउन प्रोत्साहित गर्दछ। साथै यस राशिअन्तर्गत जन्मेकाहरूलाई आफ्नो जन्मजात शक्तिको प्रयोग गर्न र धैर्य तथा लचिलोपनका साथ चुनौती सामना गर्न हौसला प्रदान गर्दछ।

सर्प वर्षमा जन्मिनेको गुण

सर्प वर्षमा जन्मिने मानिस बुद्धिमान, विश्लेषणात्मक र दबाबमा शान्त रहने स्वभावको मानिन्छ। तिनीहरूलाई प्राकृतिक आकर्षण र अन्तर्ज्ञानको गहिरो भावना भएको पनि भनिन्छ। काँचुली अर्थात् आफ्नो छाला फेर्न सक्ने क्षमता भएकाले सर्पलाई नवीकरण र रूपान्तरणको प्रतीक मानिन्छ। जसकारण व्यक्तिगत विकास र नयाँ सुरुवातको शक्तिशाली प्रतीककमा रूपमा हेरिन्छ।

सर्प वर्षमा जन्मेकाहरूलाई प्राय: बुद्धिमानका रूपमा हेरिने भएकाले तिनीहरूसँग जटिल परिस्थितिहरू बुझ्ने र विचारशील निर्णयहरू गर्ने प्राकृतिक क्षमता हुन्छ। यस वर्ष जन्मेका व्यक्तिहरू क्यारिज्म्याटिक, आकर्षक र सुन्दर हुन्छन् र भावनात्मक रूपमा बलिया हुन्छन्। तिनीहरू दृढसंकल्प र अर्जुनदृष्टिका लागि पनि चिनिन्छन्। एकचोटि कुनै लक्ष्य निर्धारण गरिसकेपछि त्यसलाई प्राप्त गर्न लगनशील भई काम गर्छन्। तिनीहरू चुनौती सम्हाल्न सक्ने हुन्छन्। यति राम्रा गुणहरू भएको सर्प वर्षमै कतै तपाईँको जन्म भएको त होइन? तपाईँलाई अवश्य खुलदुली लागेको हुनसक्छ।

हेर्नुस् त, सर्प वर्षमा जन्मेका केही प्रसिद्ध व्यक्तिहरूका नाम यस्ता छन्: महात्मा गान्धी, माओ, जोन एफ केनेडी, बब डिलन, बब मार्ली, जेके रौलिङ, टेलर स्विफ्ट आदि।
आउनोस्, मनलाई शान्त पार्नुस्। सन् १९२९, १९४१, १९५३, १९६५, १९७७, १९८९, २००१ र २०१३ सर्प वर्ष थिए। के तपाईँको जन्म यीमध्ये कुनै वर्षमा भएको हो? यदि हो भने तपाईँ सर्प वर्षमा जन्मनुभएको छ।

चीनको पूर्वी जिआङ्सु प्रान्तको उक्सी सहरमा आयोजित रोजगारी मेलामा भाग लिएका छन्। बिदामा देशभर विभिन्न प्रकारका रोजगारी मेला आयोजना गरिन्छन्। तस्बिर : सिन्ह्वा/रासस

चालु वर्ष अर्थात् सन् २०२५ सर्प वर्ष हो। यसपटक काठ सर्प वर्ष रहेको छ। चिनियाँ राशिमा १२ पशुपक्षीसहित पञ्चतत्व पनि जोडिएको हुन्छ। अर्थात् अघिल्लो सर्प वर्ष, २०१३ पानी सर्प वर्ष थियो। यसपछि २०३७ मा मात्र सर्प वर्ष पर्छ र त्यस बेला आगो सर्प वर्ष हुनेछ।

सर्प वर्षमा जन्मेकाहरू अन्तर्मुखी हुन सक्छन्। आफ्ना विचार र भावनाहरू आफैँमा राख्न पनि रुचाउँछन्। यसबाहेक सर्प राशिको नकारात्मक पक्षमा धूर्त, छल र ईर्ष्याको स्वभाव र प्रलोभनको पनि प्रतिनिधित्व गर्दछ।

सर्प राशि हुनेका लागि सर्वश्रेष्ठ जोडीका रूपमा गोरू (सन् १९७३, १९८५, १९९७, २००९), भाले (सन् १९६९, १९८१, १९९३, २००५) हुन् भने प्रतिकूलमा बाघ (सन् १९६२, १९७४, १९८६, १९९८, २०१०) तथा सुँगुर वर्ष (सन् १९७१, १९८३, १९९५, २००७) मा जन्मेका हुन्छन्।

नेपाली समाजमा सर्पलाई पुज्ने गरिन्छ। सर्प र नागको पर्वको रूपमा नाग पञ्चमी मनाउने चलन छ। यसैगरी, कथा, किंवदन्तीहरूमा पनि सर्पको विशिष्ट स्थान छ। चिनियाँ संस्कृतिमा पनि सर्पको विशेष स्थान रहेको पाइन्छ। सर्प बुद्धि, रहस्य र रूपान्तरणसँग सम्बन्धित छ।

सर्प वर्षको आगमनको उत्सव मनाउँदै गर्दा रमाइलो पुनर्मिलन, आतिसबाजी वा रातो खामको न्यानोपनले चिनियाँ नयाँ वर्षको रीतिरिवाजसँगै जीवनप्रति गहिरो कृतज्ञता र समृद्ध वर्षको आशालाई प्रतिबिम्बित गर्दछ। युनेस्कोको गैरभौतिक सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत भएपछिको यो पहिलो वसन्त चाडले चीनसहित विश्व अर्थतन्त्रलाई चलायमान बनाएको छ।

चाड र अर्थतन्त्र

कुनै पनि जाति, समुदाय र देशको चाडबाडले सांस्कृतिक रूपमा मात्र नभएर इतिहासदेखि नै समृद्ध भएको पुष्टि गर्दछ। यो चिनियाँ वसन्त चाड पनि सांस्कृतिक परम्परालाई पछ्याउनेबाहेक आर्थिक गतिविधिलाई चलायमान बनाउने पर्वको रूपमा रहँदै आएको छ। यसले हरेक वर्ष नयाँ नयाँ रेकर्ड सिर्जना गर्दै आएको छ।

यसै वसन्त चाडको समयमा हुने विश्वको सबैभन्दा ठूलो जनसंख्याको स्थानान्तरण, जसलाई चिनियाँमा छुनयुन भनिन्छ, यसले यातायातको क्षेत्र तथा पर्यटकीय स्थल र बजारलाई तातो बनाएको छ।

सर्प वर्षको वसन्त चाडमा चिनियाँहरूको उपभोग र खपतले ठूलो उत्साह देखाएको छ। चीनमा ५० करोड व्यक्ति घरेलु पर्यटनका लागि गएका छन्। र पूर्वानुमानित कुल खर्च ६ खर्ब ७७ अर्ब चिनियाँ युआन पुगेको छ, यो गत वर्षको सोही अवधिको तुलनामा क्रमशः ५.९ प्रतिशत र ७ प्रतिशतले वृद्धि भएको छ। चीनका सीमाशुल्क निकायहरूले १ करोड ४३ लाख चिनियाँ र विदेशीहरुलाई प्रवेश र निकासीका लागि सेवा प्रदान गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले वृद्धि भएको छ। फ्रि भिसा र भुक्तानी सुविधालगायतका नीतिले वसन्त चाडको अवसरमा अझ धेरै विदेशी पर्यटकलाई चीनको यात्रामा आकर्षित गरेको छ।

चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयको तथ्यांक केन्द्रका अनुसार वसन्त चाडको ८ दिने छुट्टीमा चीनभरि यात्रा गर्ने पर्यटकको संख्या ५० करोड १० लाख पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले वृद्धि भएको हो। आन्तरिक यात्रामा कुल खर्च ६ खर्ब ७७ अर्ब २० लाख युआन भएको छ। यो पनि गत वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशतले वृद्धि भएको छ।

चिनियाँ राष्ट्रिय रेलमार्ग समूहका अनुसार जनवरी १४ तारिख देखि फेब्रुअरी ६ तारिखसम्म वसन्त महोत्सवको यात्राको सुरुवातदेखि कुल ३१ करोड यात्रुको ढुवानी गरिएको छ। फेब्रुअरी ६ तारिखमात्र राष्ट्रिय रेलमार्गले १ करोड ५१ लाख ४० हजार यात्रु बोकेको थियो। फेब्रुअरी ७ तारिख, राष्ट्रिय रेलमार्गले १ करोड ४१ लाख यात्रु बोक्ने अपेक्षा गरिएको छ।

चिनियाँ नयाँ वर्षको चलचित्रको बक्स अफिस र दर्शकहरुको संख्या दुवैले पनि रेकर्ड तोडेको छ, र २०२५ मा चीनको चलचित्र बजारले उत्तरी अमेरिकाको बक्स अफिसलाई उछिनेर विश्वमा पहिलो स्थानमा पुगेको छ।

यद्यपि विश्व अर्थतन्त्र अनिश्चित देखिन्छ। तर चीनको अर्थतन्त्र स्थिर छ र दीर्घकालीन रूपमा स्थिर रहने प्रवृत्तिमा कुनै परिवर्तन छैन। नयाँ सर्प वर्षको बजारले राम्रो सुरुवात देखाएको छ। कोङ सी फा छाई!, तपाईँलाई समृद्धिको कामना!

यो दौडमा कछुवा छैन, त्यसैले खरायो वर्ष!

प्रकाशित: २६ माघ २०८१ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast