अध्यादेशले राजनीतिले ‘तातिएकै बेला’ उपेन्द्रले बोलाए केन्द्रीय समिति बैठक

हिमाल प्रेस २६ माघ २०८१ ८:५०
132
SHARES
अध्यादेशले राजनीतिले ‘तातिएकै बेला’ उपेन्द्रले बोलाए केन्द्रीय समिति बैठक उपेन्द्र यादव

काठमाडौँ- सरकारले संसद्मा पेस गरेको अध्यादेश पारित हुने तरखरमा रहेका बेला चासोका साथ कसैलाई इंगित गरिएको छ भने ती नेता हुन्, उपेन्द्र यादव। राष्ट्रियसभामा निर्णायक बनेका उनी अब कसरी अघि बढ्लानज् भन्ने विषय कौतुहलताको विषय बनेको छ।

सरकारले गत माघ १८ मा दुवै सदनमा अध्यादेश पेस गर्‍यो। तत्काल पारित गर्ने सूची राखे पनि हालसम्म पारित हुन सकेन। कारण हो, उपेन्द्रको भूमिका। उनी सत्ता पक्षमा छन् तर अध्यादेशप्रति सकारात्मक छैनन्। यही कारण सरकार उपेन्द्र फकाउन लागेको छ।

उपेन्द्रसँग प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कुराकानी गरे। उनीहरूले उपेन्द्रसँग अध्यादेश पारित गरेर सहयोग गर्न अनुरोध गरेका थिए। तर उपेन्द्रले यही अवस्थामा पारित गर्न नसकिने अडान लिए। राष्ट्रियसभामा उपेन्द्रले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा)को ३ सिट छ।

सत्तापक्षको बहुमत पुग्न राष्ट्रियसभामा ३० सिट अर्थात् ३० मत चाहिन्छ तर जसपा नेपालबिना २९ मत मात्र हुन्छ। यसैले उपेन्द्रको राजनीतिलाई निर्णायक मानिएको छ। सत्ताघटक दलका अनुसार अध्यादेश पारित गर्न उपेन्द्रले शर्त राखेका छन्।

मधेश प्रदेशको मुख्यमन्त्री र संघीय सरकारमा एउटा मन्त्री पाउनुपर्ने अडान उपेन्द्रको छ। यता सत्तापक्षले भने यसबारे धारणा सार्वजनिक गरेको छैन। मधेशमा सीके राउत नेतृत्वको जनमत पार्टीको सरकार छ। मधेशको राजनीतिमा सीके र उपेन्द्र प्रतिस्पर्धी हुन्।

केन्द्रीय सत्ता साझेदार दलहरूले सीकेलाई अघि बढाउन मधेशमा यसअघि मुख्यमन्त्री दिएको जसपा नेपालको आरोप छ। यही कारण यतिबेला उपेन्द्रले च्याखे थापेका छन्। उपेन्द्रले आउँदो फागुन १९, २० र २१ गते काठमाडौँमा केन्द्रीय समिति बैठक राखेका छन्। उनले केही समयपछिका लागि बैठक राखे पनि हाललाई आफू पार्टीको आन्तरिक राजनीतिमा भुलिएको आभास दिलाइरहेका छन्।

यसअघि नै उपेन्द्रले केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखिसकेका थिए। तर एकाएक केन्द्रीय समिति बैठक राख्नुले तत्काल अध्यादेशप्रति धारणा सार्वजनिक नगर्ने योजनामा उपेन्द्र रहेको सत्तापक्षीय नेताहरूको अनुमान छ। यता जसपा नेपालले भने अध्यादेशबारे बैठकमा छलफल नहुने बताएको छ।

पार्टी प्रचार तथा प्रशासन विभाग प्रमुख पूर्ण बस्नेतले बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा जानकारी दिएका छन्।

बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन्।

त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक कार्ययोजनालगायतका एजेन्डामा बैठक केन्द्रित हुने भएको छ।
अध्यादेशका लागि कार्यदललाई टेको!

अध्यादेशबारे छलफल गर्न कार्यदल बनाइएको छ। प्रतिनिधिसभा सांसद एवं पाटी उपाध्यक्ष सांसद राजकिशोर यादवको संयोजकत्वमा संसदीय कार्यदल गठन गरेको हो । कार्यदलमा यादवसहित मृगेन्द्रकुमार सिंह यादव, रेखा यादव र दीपक कार्की छन्।

कार्यदलले विज्ञहरूसँग परामर्श गरेर अध्यादेशको पक्षमा उभिने वा अस्वीकृत गर्ने भन्ने निष्कर्ष दिने बताइएको छ।

प्रकाशित: २६ माघ २०८१ ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast