धरौटी बुझाएर छुटेका कृषि विज्ञ राई यौन दुरूपयोग कसुरमा दोषी ठहर, १८ महिना जेल

हिमाल प्रेस २५ माघ २०८१ २१:३३
30
SHARES
धरौटी बुझाएर छुटेका कृषि विज्ञ राई यौन दुरूपयोग कसुरमा दोषी ठहर, १८ महिना जेल

काठमाडौँ- खोटाङ– बाल यौन दुरूपयोग कसुरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैद सजाय तोकेको छ। साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार सजाय निर्धारण गरेको हो।

माघ १० गते दोषी ठहरिएका कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैदका साथै एक लाख रुपैयाँ जरिवानासमेत निर्धारण भएको जिल्ला अदालत खोटाङका स्रेस्तेदार सीताराम खड्काले जानकारी दिए।

यस्तै, पीडित किशोरीलाई एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन सजाय फैसला भएको अदालतले जनाएको छ।

कृषिविज्ञ राईमाथि आफैँले सञ्चालन गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन (शुभम्) फाउण्डेशनका किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो। बाल यौन दुरूपयोग कसुरमा अदालतले कृषिविज्ञ राईलाई माघ १० गते कसुर ठहर गरेको थियो।

फाउण्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई विसं २०८० वैशाख २९ गते पक्राउ परेका थिए।

आरोपित कृषिविज्ञ राई मुद्दाको फैसला नभएसम्म फाउण्डेशनमा जान नपाउनेगरी विसं २०८० जेठ २२ गते चार लाख नगद धरौटी बुझाएर तारेखमा रिहा भएका थिए।

आरोपित कृषिविज्ञ राईविरूद्ध विसं २०८० जेठ–२१ गते जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा बाल यौन दुरूपयोगसम्बन्धी अभियोगपत्र दायर गरेको थियो। जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा कृषिविज्ञ राईलाई तीन वर्ष कैद र ७५ हजार नगद जरिवाना माग गरिएको थियो।

कृषिविज्ञ राईको पहलमा वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभम् फाउण्डेशनमा करिब एक सय ५० विद्यार्थी अध्ययनरत छन्। वस्तुगत सीप र व्यावहारिक शिक्षासहित पठनपाठन हुँदै आएको फाउण्डेशनले नेपालमा छुट्टै पहिचानसमेत बनाएको छ।

फाउण्डेशनका संस्थापक कृषिविज्ञ राईलाई अदालतले बाल यौन दुरूपयोग कसुरमा दोषी ठहर गरेर कैद सजायका साथै जरिवानासमेत तोकेपछि फाउण्डेशन परिवार चिन्तित बनेका छन्। प्रतिवादी कृषिविज्ञ राईतर्फबाट दुई वरिष्ठसहित १४ जना कानुन व्यवसायी र वादी सरकारकातर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका थिए।

फाउण्डेशनका संस्थापक रहेका ७५ वर्षीय कृषिविज्ञ राईले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका थिए। यौन शिक्षाका नाममा सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेको विषयमा संरक्षक कृषिविज्ञ राईको चौतर्फी आलोचना हुँदै आएको थियो।

प्रकाशित: २५ माघ २०८१ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast