![वैदेशिक रोजगार मुद्दाका ९३ मेलमिलापकर्ताले लिए शपथ](https://himalpress.com/wp-content/uploads/2025/02/baideshik-rojgar-nyayadhikaran.jpg)
काठमाडौँ- वैदेशिक रोजगार कसुर मुद्दामा मेलमिलापकर्ताको जिम्मेवारी प्राप्त गरेका ९३ जना कानुन व्यवसायी तथा मेलमिलापकर्ताले शपथ लिएका छन्। वैदेशिक रोजगार न्यायाधीकरणले आज (शुक्रबार) यहाँ आयोजना गरेको कार्यक्रममा न्यायाधीकरणका अध्यक्ष गोकर्ण डाँगीले उनीहरूलाई शपथ गराए।
न्यायाधीकरणले गत पुस १ गते सोसम्बन्धी कसुर मुद्दामा मेलमिलापकर्ताका रूपमा काम गर्न सूचीकृत भएका कानुन व्यवसायी तथा मेलमिलापकर्ताको टुंगो लगाएको थियो। वैदेशिक रोजगारीमा हुने संस्थागत र व्यक्तिगत ठगीसम्बन्धी मुद्दाको फैसला (वैदेशिक रोजगार विभागबाट सजाय हुने भनी लेखिएका बाहेक) न्यायाधीकरणबाट हुँदै आएको छ।
इजाजतपत्र बिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार विदेश पठाएमा, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा, लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा तथा इजाजत पत्रवालाले व्यक्तिगत रूपमा कामदार पठाएर ठगी गरेको मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार क्षेत्र यस न्यायाधीकरणको रहेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका कुल तीन सय ८१ मुद्दामध्ये दुई सय २९ फैसला भएका र त्यसमध्ये ५४ वटा मेलमिलापबाट टुङ्ग्याइएको न्यायाधीकरणका रजिष्ट्रार दिनेश आचार्यले जानकारी दिए।
चालु आवको पुस मसान्तसम्म गत आवको जिम्मेवारी सरेको एक सय ५२ र नयाँ दर्ता भएका ९९ मुद्दामध्येबाट ९० वटा फैसला भएका र त्यसमा २८ वटा मिलापत्रबाट टुंगिएको न्यायाधीकरणले जनाएको छ।
रजिष्ट्रार आचार्यले पीडक र पीडितबीच मेलमिलाप गराएर शीघ्र न्याय दिलाउने र सबैलाई जितको भावना दिलाउने वातावरण बनाउनु मेलमिलापकर्ताको दायित्व रहेको बताए।