![महिला टी–२० : थाइल्यान्डले जित्यो त्रिकोणात्मक शृंखला](https://himalpress.com/wp-content/uploads/2025/02/thai_team.jpg)
काठमाडौँ- थाइल्यान्डले महिला टी–२० त्रिकोणात्मक शृंखला जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार अन्तिम खेलमा नेपाललाई पराजित गरेसँगै थाइल्यान्डले शृंखला जितेको हो।
नेपाल, थाइल्यान्ड र नेदरल्यान्ड्सबीच महिला टी–२० शृंखला भएको थियो। प्रत्येक टिमले ६–६ म्याच खेल्नुपर्नेमा थाइल्यान्डले नेदरल्यान्ड्सविरूद्ध एकमात्र म्याच गुमाएको थियो।
त्यस्तै नेदरल्यान्ड्सले दुई खेल थाइल्यान्डसँग गुमाएको थियो। नेपालले भने शृंखलामा एउटा पनि जित निकाल्न सकेन।
शुक्रबार भएको अन्तिम खेलमा पनि नेपाली टोलीले राम्रो प्रदर्शन गर्न सकेन। नेपालले निर्धारित २० ओभर खेलेर ७ विकेटको क्षतिमा केवल ८१ रनको योगफल खडा ग¥यो।
८२ रनको सामान्य लक्ष्य थाइल्यान्डले तीन विकेटको क्षतिमा तीन ओभर बाँकी छँदै पूरा गर्यो।
नेपालका लागि ब्याटिङ गर्ने क्रममा सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन्। त्यस्तै कप्तान इन्दु वर्मा १०, कविता जोशी १४, पुजा महतो ६ र राजमती ऐरीले ११ रन बनाइन्।
थाइल्यान्डका तर्फबाट ब्याटिङ गर्दै कप्तान नार्युमोल चाइवाईले सर्वाधिक २७ रन बनाइन्। त्यस्तै नानपट कोल्चारओन्काईले २३ रन बनाइन्।
नेपालका लागि इन्दु वर्माले २ र पुजा महतोले १ विकेट लिएकी थिइन्।