![‘अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवनमूल्य र आदर्शप्रतिकै अवमूल्यन’](https://himalpress.com/wp-content/uploads/2025/02/ramesh_lekhak.jpg)
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो जीवनको मूल्य र आदर्शप्रतिकै अवमूल्यन भन्ने ठानेको बताएका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै गृहमन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्रकुमार रामबिच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचारमा अभिव्यक्त चासोहरु र सांसदहरुले उठाएको विषयमा गम्भीर रूपमा ध्यानाकर्षण भएको बताए।
‘वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टीका लागि विद्यार्थीकालदेखि लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवनको मूल्य र आदर्शप्रतिकै अवलमूल्यन हो भन्ने म ठान्दछु,’ उनले भने, ‘नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ।’
उनले अन्तरजातीय विवाहबारे देशमा पटकपटक विषयहरु उठ्ने गरेको बताउँदै कुनै प्रकारको जातीय विभेद र छुवाछुतविरुद्धमा आफू सधैँ रहेको जानकारी दिए।
‘यस विषयमा म र मेरो मन्त्रालय अत्यन्त संवेदनशिल रहेको छ,’ उनले भने,‘म अत्यन्तै संवेदनशील छु, म कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहेको छु, यो मेरो मात्रै विचार होइन, म सम्वद्ध भएको पार्टी नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद र छुवाछुत विरुद्ध रहेको पार्टी हो, म त्यसमा अहिले पनि र जीवनभर प्रतिवद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु।’
अन्तरजातीय विवाहलाई कानूनले नै मान्यता दिएको बताउँदै उनले उक्त कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने निकाय गृहमन्त्रालय भएको र गृह मन्त्रालय कानुनी व्यवस्थालाई कार्यान्वयन गराउन प्रतिवद्ध रहेको जानकारी दिए।
‘समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोल्कल्पित र असत्य हो भन्ने म आग्रह गर्न चाहन्छु,’ लेखकले भने, ‘समाचार थाहा पाउने बितिक्कै मैले गृह मन्त्रालयको तर्फबाट धारणा स्पष्ट पारिसकेको र नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य सार्वजनिक गर्न निर्देशन दिएअनुसार नेपाल प्रहरीले समेत विवरण सार्वजनिक गरिसकेको छ। तथापि यस विषयमा कही पनि त्रुटी भएको देखिए छानविन र कानून बमोजिम कारवाही गर्ने कुरा म सम्मानित सदनलाई विश्वास दिलाउन चाहन्छु।’
उनले पीडितको गुनासो संवोधन गर्ने र सम्पूर्ण सुरक्षाको प्रत्याभूती दिने कुरामा गृह मन्त्रालय प्रतिवद्ध रहेको बताए। ‘नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ, उहाँहरुको जीवनमा कुनै प्रतिकुल प्रभाव पर्न दिइने छैन,’ लेखकले भने,‘ सरकारले सम्पूर्ण रुपमा संरक्षण गर्ने छ भन्ने म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’
तथ्यहरूलाई तोडमोड गर्ने र समाजलाई अनावश्यक रुपमा विभाजनतिर धकेल्ने मनसायका साथ समाचार सम्प्रेषण नगर्न मन्त्री लेखकले सञ्चारजगतलाई आग्रह समेत गरे।