काठमाडौँ- प्रहरीले सुनचाँदी पसलमा डाँका गर्ने योजना बनाइरहेका चार जनालाई सिरहाबाट पक्राउ गरेको छ। डाँकाको योजना बनाएको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका–८ बस्ने ४५ वर्षीय इन्दल भन्ने इन्द्रनारायण चौधरी, लहान नगरपालिका–२२ बस्ने ३१ वर्षीय भैरव भन्ने देवकुमार मुखिया र भारत पश्चिम बंगाल जिल्ला हुगली ग्रामपञ्चायत भगवतीपुर–७ बस्ने निरोज भन्ने मेहराज मोन्डल रहेको सिरहा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।
डाँकाको योजना बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि लहान नगरपालिका–४ बस्ने ४१ वर्षीय दिनेश विश्वकर्मालाई पक्राउ गरेको थियो।
प्रवक्ता पासवानका अनुसार लहान–७ स्थित विकाश ट्रडर्स (सुनचाँदी व्यवसायी) मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
सिरहा जिल्ला अदालतबाट म्याद थप गरी पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।