अखिलको नेतृत्व हत्याउन रस्साकस्सी, ओलीको आशीर्वाद पाउन ‘होडबाजी’

किरण पौडेल २५ माघ २०८१ ७:११
72
SHARES
अखिलको नेतृत्व हत्याउन रस्साकस्सी, ओलीको आशीर्वाद पाउन ‘होडबाजी’

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सम्मेलनको मिति तोकिएपछि आगामी नेतृत्व लिने रस्साकस्सी सुरु भएको छ। हरेक दुईदुई वर्षमा हुने सम्मेलन यसपटक आफ्नो पक्षमा पार्न बनाउन दोस्रो स्तरका नेता सक्रिय भएका छन्।

अखिलले सम्मेलन जेठ १ देखि ४ गतेसम्म सम्मेलन गर्ने निर्णय गरेको छ। चार महिनापछि हुने सम्मेलनबाट नेतृत्व लिन विद्यार्थी नेताहरू अहिलेदेखि नै लागेका हुन्। विद्यार्थी नेताहरू पार्टी नेताहरूको नैतिक समर्थन लिन र विद्यार्थीमाझ आफ्नो प्रचार गर्न दौडधूपमा छन्।

वर्तमान अध्यक्ष समिक बडालले नेतृत्व छाड्ने भएपछि उपाध्यक्ष र महासचिव अध्यक्ष बन्ने तयारीमा जुटेका हुन्। हुन त विद्यार्थीले हतार गर्नुको अर्को कारण सम्मेलन सर्नु पनि हो। अखिलले यसअघि सम्मेलन फागुनमा गर्ने निर्णय गरेको थियो। फागुनमै मिति तय भएपछि विद्यार्थी नेताले साेहीअनुसार तयारी गरेका थिए। तर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव चैत ५ मा सरेपछि अखिलले सम्मेलन जेठमा पुर्‍याएको हो।

‘स्ववियु चुनाव फागुन १५ मा गर्ने पहिलेको निर्णय भएकाले फागुन ५ मा हाम्रो संगठनको सम्मेलन तोकिएको थियो,’ अध्यक्ष बडाल भन्छन्, ‘तर स्ववियुको चुनाव सरेर चैतमा पुगेपछि हामीले सम्मेलन जेठमा पुर्‍यायौँ।’ तर दुई वर्षअघि पनि स्ववियु चुनावको संघारमै अखिलले सम्मेलन गरेको थियो।

२०७९ फागुन ४ मा सम्मेलन गरेर २०७९ चैत ५ मा भएको स्ववियु चुनावमा होमिएको थियो तर अहिले स्ववियु चुनावलाई नै देखाएर सम्मेलन पछाडि धकेलिएको छ। ‘त्यसबेला नेतृत्व आयोजक कमिटीको रूपमा थियो। अहिले निर्वाचित हो,’ बडाल भन्छन्, ‘सुनिता बराल पार्टी नेतृत्व र सांसद पनि भएकाले नयाँ नेतृत्वको खाँचो परेकाले तत्काल गरिएको थियो। अहिले त्यस्तो अवस्था छैन।’

अखिलका नेताहरूको भने भनाइ फरक छ। उनीहरू आगामी नेतृत्वको समीकरण नमिल्दा सम्मेलन सरेको बताउँछन्। एमालेले भाबी नेतृत्व कसलाई सुम्पने भन्ने निर्णय लिइसकेको छैन। विद्यार्थी नेताहरूका अनुसार अहिलेकै अध्यक्षलाई दोहोर्‍याउने कि दोस्रो पुस्ताबाट नेतृत्व छान्ने दोधारमा पार्टी छ।

एमाले निकट स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले बडाललाई दोहोरिन प्रस्ताव गरेका थिए। ‘अध्यक्षज्यूले समिकलाई दोहोरिन प्रस्ताव राख्नुभएछ। तर समिकजी नदोहोरिने पक्षमा हुनुहुन्छ,’ एक विद्यार्थी नेता भन्छन्, ‘उहाँ अर्को पुस्तामै नेतृत्व जाओस् भन्नेमा हुनुहुन्छ।’

बडाल पनि  पार्टी नेतृत्वले चाहे पनि आफू नदोहोरिने बताउँछन्। ‘मैले राम्रो काम गरेकाले नेतृत्वले दोहोरिन भने पनि मेरो चाहना छैन। अरू कोही अध्यक्ष बनून् भन्नेमा छु,’ बडालले भने। उनले आफू उमेरले ४० हाराहारी पुग्न लागेकाले नेतृत्व सुम्पन चाहेको बताए। उनले नेतृत्व छाडेपछि अब उपाध्यक्ष र महासचिवले दाबेदारी प्रस्तुत गर्न थालेका छन्।

को बन्ला अखिलको अध्यक्ष?

विद्यार्थी नेताहरूका अनुसार आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्ष नारायण घर्ती, धर्म गिरी, गोविन्द गिरी, मर्यादा विष्ट र महासचिव नरेश रोकाया नेतृत्वको आकांक्षी छन्। उनीहरूमध्ये कसलाई अघि बढाउनेमा एमाले अन्योलमा छ। यी सबै विद्यार्थी नेताहरू एमाले नेतृत्वको नैतिक समर्थन खोजिरहेका छन्। उनीहरू पार्टी नेतृत्वले आफूलाई नै अघि बढाउने बताउँछन्।

‘मलाई नै नेतृत्वमा पार्टीले चाहन्छ भन्ने मलाई लाग्छ। म उपाध्यक्ष भएकाले पनि स्वाभाविक दाबेदार हुँ,’ उपाध्यक्ष नारायण घर्ती भन्छन्। अर्की उपाध्यक्ष मर्यादा विष्ट पनि आफू नेतृत्वको तयारीमा लागेको सुनाउँछिन्। ‘सम्मेलन सरेकाले अहिले नै भन्न सक्ने अवस्था छैन। तर नेतृत्व लिनुपर्दा म डराउँदिनँ।’

उम्मेदवारका आकांक्षीहरू पनि आ-आफ्नै लबिइङमा लागेका छन्। उनीहरू जिल्लाका सम्मेलनमा जाने र उम्मेदवार हुने आकांक्षा व्यक्त गर्ने गरिरहेका छन्।

ओली र पोखरेलको ‘आशीर्वाद’ लिने होड

भाबी नेतृत्व लिन पाँचजनै तयार छन्। तर अहिलेसम्म नारायण घर्ती र नरेश रोकायको माहोल बढेको विद्यार्थी नेताहरू सुनाउँछन्। उनीहरू दुवै सुदूरपश्चिम रहेकाले पनि यसपटक रोचक प्रतिस्पर्धा हुने नेताहरू सुनाउँछन्। घर्ती सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएकोले नेतृत्वमा दाबेदारी प्रस्तुत गरेको सुनाउँछन्।

यसअघि पनि आफू पार्टी नेतृत्वको ‘सिग्नल’ अनुसार उपाध्यक्षमा आएकाले अब पनि आउने निकट नेताहरूसँग सुनाउँछन्। महासचिव रोकाय पनि दाबेदार प्रस्तुत गर्नेमा कम छैनन्। उनी विद्यार्थी नेताहरूलाई आफ्नै माहोल बनेकाले तयारीमा रहन अनुरोध गर्ने गरेका छन्। घर्ती र रोकायमा पार्टी नेतृत्वले कसलाई अघि बढाउँला भन्ने चासोको विषय छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको ‘आशीर्वाद’ लिन सबै आकांक्षी लागेका छन्।

आरोपप्रत्यारोबाट गलाउने रणनीति

अहिले अध्यक्षका आकांक्षीमध्ये मर्यादा विष्टले निकट नेताहरूसँग ‘सम्मानजनक बर्हिगमन’ भएमा आफू तयार रहेको बताउने गरेकी छन्। तर भाबी अध्यक्षका तयारीमा पनि जुटिरहेकी छन्। उनीबाहेक अन्य चार जनाले भने बहिर्गमनको विषय उठाएका छैनन्। उपाध्यक्ष घर्ती आफू पार्टी अध्यक्ष-महासचिवसँग निरन्तर छलफलमा रहेको बताउने गरेका छन्। उनी भने पार्टी उपाध्यक्ष विष्णु पौडेल निकटस्थ रहेको उनका प्रतिस्पर्धी आकांक्षीहरूको आरोप छ।

पार्टीमा शंकर-विष्णु गुटगत राजनीतिलाई देखाएर घर्तीलाई ब्याक गराउन अन्य आकांक्षी लागेका देखिन्छ। घर्तीलाई पूर्वअध्यक्ष ऐन महरको समेत समर्थन छ। महर घर्तीलाई अघि बढाउन लागिरहेको विद्यार्थी नेताहरू बताउँछन्।

यता रोकाया पनि आफू पार्टी महासचिव पोखरेल निकटस्थ भएको दाबी गर्ने गरेका छन्। तर गत महाधिवेशनमा भने पार्टी अध्यक्ष ओलीले समर्थन गरेको प्यानलबाहिरबाट लडेर रोकायले महासचिव जितेका थिए। ओलीले समर्थन गरेका भाष्कर खनाल हार्दा रोकाया महासचिवमा विजयी बनेका थिए। उनलाई पनि अखिलभित्र आरोप लगाउनेको कमी छैन। उनी पार्टी नेता कर्ण थापाका नातेदार हुन्।

पछिल्लो समय थापाको सम्बन्ध एमाले नेतृत्वसँग सुमधुर नभएको चर्चा छ। ‘नातेदार हुँदैमा उहाँ (रोकाय) अनुपयुक्त भन्ने त होइन। तर उहाँलाई त्यस्तो आरोप छ,’ एक विद्यार्थी नेता भन्छन्। यता गोविन्द गिरी पनि सुदूरपश्चिमकै नेता हुन्। उनी पार्टी नेता एवं उद्योग वाणिज्य मन्त्री दामोदार भण्डारी निकटस्थ हुन्। यसअघि उनले भण्डारीकै सचिवालयमा समेत काम गरिसकेका छन्।

प्रकाशित: २५ माघ २०८१ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast