खेती किसानी

कृषि उत्पादनमा चुनौती बन्दै मिचाहा झार

रमेश भारती २३ माघ २०८१ २१:२१
8
SHARES
कृषि उत्पादनमा चुनौती बन्दै मिचाहा झार खाली जमिनमा फैलिएको कालो कुरो । तस्बिरः वनस्पती विभाग

काठमाडौँ– जमिन बाँझो हुँदै गएपछि मिचाहा झार बढ्दै गएको छ। नेपालमा ७० भन्दा बढी जिल्लामा मिचाहा भारका प्रजाति फैलिएको वनस्पति विभागले जनाएको छ। विभागले जलवायु परिवर्तनका कारण मिचाहा प्रजाति फैलिँदै गएको र यसका रोकथाममा विशेष ध्यानदिनुपर्ने सुझाव वन मन्त्रालयलाई दिएको छ।

वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राई मिचाहा झारका वनस्पति फैलिँदै गएका कारण नगदेबाली उत्पादनमा असर पर्न थालेको बताउँछन्। जानकारहरूका अनुसार मिचाहा प्रजाति फैलिनुमा मानवीय गतिविधि जिम्मेवार देखिन्छ भने अर्को पाटोचाहिँ जमिन बाँझो हुनु हो। मानिस आउजाउ हुँदा, सवारीसाधन, चौपायाको गोबरलगायतका माध्यमबाट पनि मिचाहा झारका प्रजाति फैलिएका छन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २०१६ मा १ सय २४ देशमा गरेको एक अध्ययनमा बाह्य मिचाहा प्रजातिले कृषि क्षेत्रमा आक्रमण गरिरहेको उल्लेख छ। मिचाहा प्रजाति भन्नाले ‘जानीजानी अथवा अज्ञानमै’ खेतीपातीसँग भित्रिने झार हो। यसलाई इसिमोडले गैररैथाने अथवा बाह्य प्रजातिको झार पनि भनेको छ। मिचाहा झारका कारण जंगली फलफूल, धान, मैक, तोरी, फापर र अन्य नगदे बालीमा पर्ने जोखिमका हिसाबले नेपाल तेस्रो स्थानमा अध्ययनमा उल्लेख छ। मंगोलिया पहिलो, गिनी बिसाउ दोस्रो र बंगलादेश चौथो स्थानमा छन्। इसिमोडले पनि मिचाहा प्रजातिका झार नियन्त्रणका लागि योजना ल्याउन कृषि मन्त्रालयलाई सुझाव दिएको छ।

नेपालमा मिचाहा प्रजातिका झार ६० मिटरदेखि ३६०० मिटरसम्म फैलिएको छ। सन् २०५० सम्ममा ४ हजार मिटरभन्दा माथिसम्मको क्षेत्रमा फैलिने अनुमान विभागको छ।  वनस्पति अध्येता डा. उत्तमबाबु श्रेष्ठ मिचाहा प्रजाति फैलिँदै गए जैविक विविधता, रैथाने वनस्पति, सिमसार क्षेत्र, कृषि उत्पादन र जंगली फलफूल उत्पादनमा असर पर्ने  बताउँछन्। उनले पनि खेतबारी, चौर, बाँझो जमिन, खुला जमिन, पार्क, पोखरी, तालतलैया र खोला किनारमा मिचाहा झारका प्रजाति फैलिएको बताए।

मिचाहा प्रजातिका झार जंगल, सडक आसपास, बाँझो जमिन र सहरको बस्ती नजिकै, मठमन्दिर र ऐतिहासिक सम्पदा क्षेत्रमा समेत फैलिने क्रम बढ्दै गएको श्रेष्ठले बताए। ‘मिचाहा प्रजाति बढ्दै गए खाद्य सुरक्षा र मानव स्वास्थ्यमा संकट आउन सक्छ। यसका लागि रोकथामको उपाय बेलैमा खोज्नुपर्छ’, उनले भने।

इसिमोडको अध्ययनमा पनि मिचाहा झार फैलिँदै गए अर्थतन्त्र, वातावरण र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने उल्लेख छ।  इसिमोडका अनुसार यस्ता प्रजातिहरू प्रायः छोटो जीवनकाल हुन्छ।  साथै यसको उच्च वृद्धिदर र धेरै क्षेत्रमा फैलिन सक्ने क्षमता हुन्छ। विज्ञहरूका अनुसार धेरै संख्यामा बिउ उत्पादन हुने तथा नयाँ परिवेशलाई छिट्टै आफ्नो नियन्त्रणमा ल्याउन सक्ने क्षमता भएकाले मिचाहा बाह्य प्रजातिले रैथाने प्रजातिमाथि आधिपत्य स्थापना गर्न सक्छन्।

विभागले मिचाहा वनस्पतिको सूचीमा काँडे लुँडे, सेतो गन्धे, थाकल, कालो कुरो, फूल झार, चित्लांगे, करौंते घाँस, लज्जावती, सुगा प्वाँखे, चरीअमिलो, कुम्भिका, ठूलो टाप्रे, आलु पाते, सिंगापुर डेजी, जंगली सूर्यमुखी, भेडे कुरो, इपिलजस्ता झार राखेको छ।

तीन वर्षअघि वनस्पति विभागले प्रकाशित गरेको ‘नेपालमा फैलिएका बाह्य मिचाहा प्रजाति’ पुस्तकमा सेतो गन्धेझार सबैभन्दा धेरै ५२ जिल्लामा फैलिएको उल्लेख छ। यसै झारसँग मिल्ने सेतो वनमारा २३, जलकुम्भी १५, वनफाँडा ३४ र लहरे वनमारा १२ जिल्लामा फैलिएको छ।

नेपालमा बाह्य मिचाहा वनस्पति प्रजातिहरूको फैलावटको अवस्था। 

विभागले कालो वनमारा (एजिरेटिना एडिनोफोरा) नीलो गन्धे, जलजम्बु, वन सिलाम र पातीझारलाई समेत मिचाहा झारकै दर्जा दिनुपर्ने सुझाव वन मन्त्रालयलाई दिएको छ। उल्टा काँडा (मिमोसा डिप्लोट्रिचा), लहरे वनमारा (माइकेनिया मिक्रान्था), सेतो वनमारा (क्रोमोलेना ओडेरलामा), काँडे वनमारा/वनफाँडा (लान्टना क्यामेरा) र जलकुम्भी (इकोर्निया क्रसिपिस) अति हानिकारकको सूचीमा संसारभर अभिलेखित छ।

वन मन्त्रालयले कृषि उत्पादनका लागि मिचाहा झारलाई २०७३ सालमै हानिकारकको सूचीमा राखेको थियो।

नेपालमा पहिलो पटक सन् १८४८ मा मिचाहा झारका केही प्रजातिको पहिचान भएको थियो। रंगीचंगी सानासाना फूलको गुच्छा बनेर फुल्ने मिचाहा झारका प्रजाति आकर्षक देखिन्छ। अहिले मिचाहा झार फैलिँदै गएका कारण किसानका लागि टाउको दुखाइको विषय बन्दै गएको छ। विभागका अनुसार मिचाहा झारको फैलावट कर्णाली प्रदेशका जिल्लामा बढी देखिएको छ।

नेपाल राष्ट्रिय रेडप्लस रणनीति (२०७५-२०७९) मा बाह्य मिचाहा प्रजाति वन क्षयीकरणको एक महत्त्वपूर्ण कारक भएको औँल्याइएको थियो। कृषि मन्त्रालयले २०७८ सालमा प्रकाशित गरेको ‘कृषकका लागि तथ्यपत्र’ अनुसार सर्वप्रथम सिंगापुर डेजी काभ्रे जिल्लाको पाँचखाल क्षेत्रमा सन् २०२० मा पहिचान भएको थियो। अहिले यही मिचाहा झार फैलिँदै गएको वनस्पति विभागले जनाएको छ।

मिचाहा प्रजातिले कति जमिनमा प्रभाव पारेको छ भन्ने यकिन तथ्यांक सरकारसँग छैन। यसको तथ्यांक संकलनका लागि जिल्ला कृषि कार्यालयबाट काम भइरहेको कृषि मन्त्रालयले जनाएको छ। मिचाहा झारबाट भएको हानिनोक्सानीको हिसाब निकाल्न सजिलो नभएको कृषि मन्त्रालयका कर्मचारीहरू बताउँछन्।

‘मिचाहा झार फैलिँदै गए रोकथाम समस्या हुन्छ। यसको रोकथामका लागि स्थानीय सरकारले विशेष योजना बनाउनुपर्छ। वन मन्त्रालयले मिचाहा झार फँडानीका लागि काम थालेको छ’, उनले भने।

प्रकाशित: २३ माघ २०८१ २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast