काठमाडौँ- महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पाँचौँ खेल पनि नेपालले गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बधुबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले पराजित गरेको हो। शृंखलामा नेदरल्यान्ड्ससँग नेपालको यो तेस्रो हार हो।
टस जितेर पहिले ब्याटिङ गरी नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले कुनै विकेट नखसाई दुई बल बाँकी छँदै १५१ रन बनायो। नेदरल्यान्ड्सका लागि स्टेरी क्यालिसले ९८ र फेबे मोल्केनबोयरले ४८ रन बनाइन्।
यसअघि नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४५ रनको योगफल खडा गरेको थियो। नेपालका लागि पुजा महतोले अर्धशतकीय इनिङ खेले पनि टिमको जितका लागि काम लागेन। उनले ५१ बलमा अविजित ६२ रन बनाइन्।
त्यस्तै कप्तान इन्दू वर्माले ३९, रुविना क्षेत्रीले २० र कविता जोशीले ७ रनको योग दिएकी थिइन्।
नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २, कारोलिन डी लेङ, हिदर सिजर्स १ विकेट लिएकी थिइन्।
थाइल्याडसमेत सहभागी रहेको शृंखलामा सबै टिमले एकअर्कासँग तीन–तीन गरी ६ म्याच खेल्नुपर्ने छ। नेपालले आफ्नो माच खेल खेलिसकेकोमा अन्तिम खेल थाइल्यान्डसँग खेल्न बाँकी छ।