काठमाडौँ- तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको विषयमा आत्मालोचना गर्ने भएको छ। नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) को मागमा महासंघले आत्मालोचना गरेको हो।
केपी ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते संसद् विघटन गरेका थिए। दुवै पटकको संसद् विघटन असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, तत्कालीन एमालेको माधव नेपाल पक्ष आन्दोलित भएका थिए। ओलीको उक्त कदमको विरोधमा नेपाल शिक्षक महासंघ पनि सडकमा उत्रिएको थियो। संसद् विघटनविरुद्ध महासंघ आन्दोलनमा जाँदा अध्यक्ष कमला तुलाधर थिइन् भने महासचिव थिए हालका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी। तुलाधर माधव नेपाल निकट थिइन्। उनी हाल नेकपा एमालेको केन्द्रीय सदस्य छिन्। सुवेदी कांग्रेस समर्थित हुन्। ओलीले दुवै पटक गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो।
एनएनटीको सोही मागमा महासंघ सहमत भएपछि एनएनटीए महासंघमा आबद्ध हुने भएको छ। महासंघको वैशाख १२ गते सम्पन्न दोस्रो महाधिवेशनमा विभिन्न विषयमा विमति राख्दै एनएनटीए महासंघमा आबद्ध भएको थिएन। देशभरका शिक्षकहरूको एउटा प्रभावशाली संगठन एनएनटीए महासंघमा आबद्ध नहुँदा शिक्षकहरूको घोषित आन्दोलन सफल नहुने भएपछि दुवै पक्ष सहमतिमा पुगेका एक शिक्षक संगठनका पदाधिकारीकाले बताए। एनएनटीएको एउटा माग संसद् विघटनविरुद्धको आन्दोलनसम्बन्धी छ। त्यो माग शिक्षक महासंघको झन्डा, ब्यानर प्रयोग गरी तत्कालीन शिक्षक महासंघका पदाधिकारीहरू सहभागी भएकोमा त्यसलाई कमजोरी ठानेर सच्याउनुपर्ने हो।
एनएनटीएले राखेका असहमतिका बुँदामा वार्ता समितिबीच सहमतिपूर्वक महासंघको भूमिकालाई सशक्त बनाउन ७ बुँदे सहमति भएको छ।
सहमतिको एउटा बुँदामा उल्लेख छ, ‘नेपाल शिक्षक महासंघको विधानको परिच्छेद २२ दफा ४ को उपदफा ‘ख’ बमोजिम नेपाल शिक्षक महासंघ कुनै पनि राजनीतिक दलको गतिविधि र प्रभावबाट मुक्त राख्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको संसद् विघटनविरुद्ध राजनीतिक दलहरूद्वारा सञ्चालित विरोध कार्यक्रममा नेपाल शिक्षक महासंघको झण्डा, ब्यानर प्रयोग गरी तत्कालीन शिक्षक महासंघका पदाधिकारीहरू सहभागी भएकोमा तत् कमीकमजोरी महसुस गर्दै आगामी दिनमा यस्ता कमजोरीहरू नदोहोर्याउने लिखित प्रतिबद्धतासहित महासंघको बैठकको निर्णय गरी जाहेर गरिनेछ।’
काठमाडौँको एक पार्टी प्यालेसमा मंगलबार महासंघ र एनएनटीएबीच लामो वार्ता भएको थियो। उक्त सहमतिपछि महासंघमा आबद्ध/सम्बद्ध पेसागत संस्थाहरूका प्रतिनिधिहरूसहितको उपस्थितिमा विगतको आन्दोलनको समीक्षासहित आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरिनेछ। संसद् विघटनसहितका विषयमा महासंघ सहमतिमा आएपछि अब महासंघले पूर्णता पाउने भएको छ। महासंघको पूर्णतासहितको घोषणासभा आगामी फागुन ५ गतेका लागि तय गरिएको छ।
यसअघि नै महासंघले (माघ २० गतेबाट) आन्दोलन घोषणा गरिसकेको छ। फागुन ५ गतेसम्मका घोषित कार्यक्रम परिमार्जन हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उनले भने, ‘आगामी फागुन ५ गतेसम्मका हाम्रा आन्दोलन परिमार्जन गर्छौँ।’ महासंघको एक महत्त्वपूर्ण घटक संगठन एनएनटीलाई बाहिर राखेर आन्दोलन गर्न हतार किन गरिएको प्रश्नमा अध्यक्ष सुवेदीले ‘अब सबै एक भएर आन्दोलनमा जाने’ बताए।
सहमतिपछि मंगलबार नै स्थानीय तहको आन्दोलन कार्यक्रम घोषण गरिएको छ। जसमा फागुन ६ गते मंगलबार दिउँसो १ बजे ‘हाम्रो माग सम्बोधन हुने गरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरीयोस्’ भन्ने नारा सहित हातमा कालो पट्टी बाँधी खबरदारी जुलुससहित सबै पालिकामा ध्यानाकर्षणपत्र बुझाउने र आन्दोलन परिचालन समिति गठन गर्ने कार्यक्रम छ।
यसैगरी फागुन ८ गते हरेक विद्यालयमा अभिभावक, विव्यस र विद्यार्थीबीच अन्तर्क्रिया कार्यक्रम गर्ने, फागुन ९ गते ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा र सात वटै प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीसमक्ष ध्यानाकर्षपत्र बुझाउने र कालो पट्टीसहित बृहत् जुलुस सभा गर्ने र आन्दोलन परिचालन समिति गठन गर्ने जिल्ला र प्रदेशस्तरीय कार्यक्रम रहेका छन्।