
काठमाडौँ- केही दिनयता ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार विवादलाई लिएर आन्दोलित बनिरहेका पहिचानवादीसँग सरकारले छ बुँदे सहमति गरेको छ। मंगलबार बेलुका काठमाडौँमा गृहमन्त्रालयबाट गठित समितिको अगुवाइमा भएको बैठकले अरुण पूर्वको बन्द फिर्ता लिने सहमति भएको हो।
केबलकार निर्माण पाथीभराको आस्थामाथिको प्रहार भएको भन्दै पहिचानवादी आन्दोलित बनेका थिए। यस्तै सहमतिमा केबलकार निर्माण तत्कालका लागि रोक्ने समेत सहमतिपत्रमा छ।
सहमतिको पहिलो बुँदामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ।
दोस्रो बुँदामा सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने तथा तेस्रो बुँदामा माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ। चौथो बुँदामा आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने उल्लेख छ।
यस्तै सहमतिको पाँचौँ बुँदामा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने तथा छैटौँ बुँदामा मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे पुनः वार्तामा बस्ने सहमति भएको छ ।
सहमतिपत्रमा वार्ता सहजीकरण समितिको तर्फबाट सरस्वता सिंगक (सरु) सरकारको तर्फबाट सहसचिव प्रेम प्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् ।
आउँदो माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ ।