कैलाली- प्रहरीले धनगढी उपमहानगरपालिका-१८, एफगाउँबाट आज (मंगलबार) भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन्।
भारतको लखिमपुरखिरी नउसर बस्ने ३२ वर्षीय रियासत अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरूप्रसाद चौधरीलाई भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए।
उनीहरूको साथबाट दुई थान भरूवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी, टीकापुर र भजनी क्षेत्रबाट भन्सार छली गरेर ल्याउँदै गरिएको आठ लाख २३ हजार ३० मूल्य बराबरको मालसामान बेवारिसे अवस्थामा बरामद गरेको छ।
सीमापारि भारतीय क्षेत्रबाट ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएका सामानमा आइफोन र त्यसको कभर, डाटा केबल, राँगा, गोरू र डन्लप रहेको छ। रासस