चीनले पनि अमेरिकामाथि लगायो कर

हिमाल प्रेस २२ माघ २०८१ १७:५६
18
SHARES
चीनले पनि अमेरिकामाथि लगायो कर चिनियाँ राष्ट्रपति सी चिनफिङ

काठमाडौँ- चीनले करका विषयमा अमेरिकाविरुद्ध जवाफी कदम चालेको छ। अमेरिकाले चीनविरुद्ध १० प्रतिशतको कर लगाउने घोषणा गरेको थियो। चीनले पनि अमेरिकाविरुद्ध कर लगाएको हो। चीनले मंगलबार अमेरिकी आयातित वस्तुमा थप कर लगाउने घोषणा गरेको चीन सरकार नियन्त्रित समाचार संस्था ग्लोबल टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ।

यो कर फेब्रुअरी १० देखि लागू हुनेछ। नयाँ करअन्तर्गत अमेरिकी कोइला र प्राकृतिक ग्यासमा १५ प्रतिशत तथा कच्चा तेल, कृषि उपकरण, ठूला इन्जिन भएका गाडी र पिकअप ट्रकहरूमा १० प्रतिशत कर लाग्नेछ। यो निर्णय चीनको सम्बन्धित कानुनी व्यवस्था र अन्तर्राष्ट्रिय कानुनी सिद्धान्तका आधारमा गरिएको समाचारमा उल्लेख छ। अमेरिकी वस्तुहरूमा लाग्ने अतिरिक्त कर हालको दरकै आधारमा हुनेछ।

चिनियाँ अधिकारीहरूका अनुसार अमेरिकी कदमविरुद्ध विश्व व्यापार संगठनमा उजुरी दर्ता गरिनेछ। अमेरिकाको निर्णय संगठनको नियमविपरीत रहेको चिनियाँ पक्षको दाबी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारदेखि चीनबाट आयात गरिएका उत्पादनमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। चीनविरुद्धको १० प्रतिशत कर नेपाली समयअनुसार बिहान १०:१५ बजे लागू भएको छ।

ह्वाइट हाउसका प्रवक्ताले ट्रम्पको यस हप्ताको अन्त्यसम्म पनि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्ने कुनै योजना नरहेको बीबीसीले जनाएको छ। ट्रम्पले आवश्यक परे बेइजिङमाथि थप कर लगाउने चेतावनी दिएका छन्।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार कार्यकारी आदेशमा हस्ताक्षर गरी चीनबाट आयात गरिने वस्तुमा १० प्रतिशत कर लगाउने घोषणा गरेपछि आएको हो।

चीनको राज्य परिषद्को भन्सार आयोगले अमेरिकी सरकारले लगाएको नयाँ करलाई एकपक्षीय वृद्धि भएको भन्दै यो कदम विश्व व्यापार संगठनका नियमको गम्भीर उल्लंघन भएको बताएको छ। यसले अमेरिकी आफ्नै समस्या समाधान गर्न नसक्ने मात्र नभई चीन-अमेरिका बीचको सामान्य आर्थिक तथा व्यापारिक सहकार्यलाई पनि कमजोर बनाउने आयोगको धारणा छ।

चीनले अमेरिकी निर्णयविरुद्ध संगठनको विवाद समाधान संयन्त्रमा मुद्दा दर्ता गरिसकेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले मंगलबार अमेरिकी कर वृद्धिलाई विश्व व्यापार संगठनका नियमहरूको गम्भीर उल्लंघन भन्दै यसलाई एकपक्षीयता र व्यापार संरक्षणवादको स्पष्ट उदाहरण भनेका छन्।

प्रकाशित: २२ माघ २०८१ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast