काठमाडौँ- नेपाल शिक्षक महासंघले पूर्णता पाएको छ। नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) सँग ७ बुँदे सहमतिपछि महासंघले पूर्णता पाएको हो।
महासंघ र एनएनटीएबीच आज काठमाडौँमा वार्ता भएको थियो। आइतबार विज्ञप्ति जारी गरेर महासंघले सुरु गरेको आन्दोलनमा सहभागी नहुने जनाएको एनएनटीए अब आन्दोलनमा सहभागी हुने भएको छ।
संसद्को जारी हिउँदे अधिवेशनबाटै शिक्षा ऐन जारी गर्नुपर्ने एक सूत्रीय माग राखेर महासंघले आइतबारदेखि एक महिने आन्दोलन सुरु गरेको छ।
एनएनटीएका अध्यक्ष विष्णुप्रसाद भण्डारीले महासंघसँग सहमति भएको बताए। अध्यक्ष भण्डारीले भने, ‘महासंघ र हामीबीच ७ बुँदे सहमति भएको छ। अब हामी सँगै आन्दोलनमा जान्छौं।’
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीले पनि एनएनटीए र महासंघबीच ७ बुँदे सहमति भएको जानकारी दिए। उनले भने, ‘आजको बैठकमा उपलब्ध अध्यक्षमण्डलसँगै ७ बुँदे सहमतिमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले पूर्णता पाएको छ। अब आन्दोलनको आँधीबेहरीसँगै लामो समयसम्म शिक्षा समितिमा रहेको शिक्षा विधेयकमा हिजोका दिनमा भएको सहमति हाम्रो माग मुद्दा समावेश गरी ल्याउने प्रतिबद्धता भएको छ।’
गत वैशाखमा लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा महासंघको नयाँ कार्यसमिति बनेको थियो। उक्त कार्यसमितिलाई एनएनटीएले अवैध भन्दै एनएनटीएले आफ्नो तर्फबाट महासचिव पठाएको थिएन। एनएनटीले अब छिट्टै महासचिवको टुंगो लगाएर महासंघमा पठाउने तयारी गरेको छ।
यस्तो थियो विवाद
शिक्षक महासंघमा कांग्रेस र एमालेको किचलो, ओझेलमा शिक्षक-कर्मचारीका मुद्दा