
काठमाडौँ- पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रले औपचारिकरूपमा पार्टी राजनीतिमा प्रवेश गरेका छन्। उनलाई गत सोमबार बसेको माओवादी पदाधिकारी बैठकले उत्पादन क्षेत्रको जिम्मेवारी दिँदै पार्टी राजनीतिमा ल्याएको हो।
पार्टीमा कुन तहको जिम्मेवारी हुने भन्नेचाहिँ अझै निर्णय भइसकेको छैन। उनी उपाध्यक्षकै हैसियतमा बैठकमा सहभागी भइरहेका छन्।
माओवादीका कतिपय नेताहरू भने उनलाई आमन्त्रित रूपमा सहभागी गराइएको दाबी गर्छन्। उपराष्ट्रपतिबाट हटेको २२ महिना र पार्टी राजनीति छोडेको ९ वर्षपछि पुन पार्टीको जिम्मेवारीमा फर्किएका हुन्। २०७२ कात्तिक १३ गते पहिलोपटक उपराष्ट्रपति भएका उनी दोस्रो कार्यकालमा पनि दोहोरिएका थिए।
यता उनी उपराष्ट्रपति हुँदा राष्ट्रपति बनेकी विद्या भण्डारी पनि पार्टी राजनीतिमा आउने तयारीमा छन्। उनी अहिले देश दौड गर्दै एमाले कार्यकर्ता भेटिरहेकी छन्। उनले एमालेमै प्रवेश गर्ने सम्भावना रहेको संकेत यसअघि नै गरेकी छन्। केही दिनअघि पनि भण्डारी विराटनगर पुगेकी थिइन्।
उनले विराटनगर पुगेर पनि आफू परिस्थिति मिले एमालेमा फर्किने बताएकी थिइन्। उनले विराटनगरमा पनि एमाले कार्यकर्तासँग भेटघाट गर्दै पार्टी राजनीतिको विषयमा चासो राखेकी थिइन्।
यता एमाले नेताहरू भने भण्डारी राजनीतिमा फर्किन नहुने बताइरहेका छन्। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भण्डारी प्रतिष्ठित व्यक्ति भएको भन्दै राजनीतिमा नआउन सुझाव दिएका थिए। तर भण्डारीको तयारी भने एमाले अध्यक्षसम्मको रहेको निकटस्थहरू बताउँछन्।