काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले तीनवटा प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। राजधानीमा तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो।
जसपा नेपालले लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्जमा बीरबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा प्रेमचन्द्र झालाई जिम्मेवारी दिएको छ।
जसपा नेपालको बैठकमा सरकारले हालसालै ल्याएको विधेयकबारे पनि छलफल भएको छ। प्रतिनिधिसभामा पेस भएका अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्ने बारे मंगलबार संसदीय दलको बैठकले निर्णय गर्ने भएको छ।
जसपा नेपालले पूर्वी नेपालमा भइरहेको ‘नो केबलकार आन्दोलन’ माथि सरकारले दमन गरेको ठहर गर्दै वार्तामार्फत समाधान खोज्न सरकारलाई ध्यानाकर्षण गराएको छ।
कार्यकारिणी बैठकले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को प्रदेश, जिल्ला, पालिका र वडास्तरगत समीक्षा गरेको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।
निर्वाचन क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणामूखी भएको बैठकले निष्कर्ष निकालेको छ।
माघ मसान्तपश्चात अभियान स्थगित गरेर आगामी वैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेशन सम्पन्न गर्न मातहतका संगठनहरूलाई बैठकले निर्देशन दिएको छ।
जसपा नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गर्ने गृहकार्यलाई अघि बढाएको छ। बैठकमा समिति गठनका लागि दुई दर्जन नेताहरूको नामावली संकलन गरिएको छ। थप छलफल र गृहकार्य गरी संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य सदस्य चयन गरिने बताइएको छ।