विषादीयुक्त साग बिक्रीमा रोक लगाउन सक्दैन सरकार

रमेश भारती २१ माघ २०८१ २०:५८
8
SHARES
विषादीयुक्त साग बिक्रीमा रोक लगाउन सक्दैन सरकार

काठमाडौँ- पुसमा सागजन्य तरकारीको प्रयोगशाला परीक्षण गर्दा अत्यधिक विषादी भेटिएको थियो। सागका विभिन्न जातमा गरिएको परीक्षणमा ९९.३८०९ प्रतिशतसम्म विषादी भेटिएको परीक्षण केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको प्रतिवेदनमा उल्लेख छ। यति धेरै विषादीयुक्त साग बजारमा बिक्री भइरहे पनि सरकारी संयन्त्रले साग बिक्रीमा रोक लगाउन सकेको छैन।

सागमा विषादी ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य मानिन्छ। यसै गरी ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर खान मिल्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी विषादी प्रविधिक अस्मिता आचार्य बताउँछिन्।

प्रयोगशालाले गरेको परीक्षणमा भक्तपुर क्षेत्रमा उत्पादन भएको जिरी जातको सागमा ८८.८४० प्रतिशत र पाकुजा सागमा ५४.८६४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको थियो। पुसमै गरिएको अर्को परीक्षणमा भक्तपुरबाट कालीमाटी तरकारी बजार पुगेको रायोको सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी पाइएको उनले बताइन्।

सागमा विषादी भेटिएको पाएपछि समितिले जिरी र रायो साग बिक्रीमा रोक लगाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्राचार गरेको थियो। पुसमै समितिले परीक्षण गर्दा काठमाडौँमा उत्पादन भएका मार्फा सागमा ८३.६६३ प्रतिशत र भाजी तथा रायो सागमा ९९.२३३ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको थियो।

प्रयोगशालाले फेरि मार्फा र भाजी रायोको साग बिक्रीमा रोक लगाउन कृषि मन्त्रालयलाई पत्राचार गर्‍यो। यस विषयमा मन्त्रालयले बेवास्ता गर्दा विषादीयुक्त साग बजारमा छ्यापछ्प्याती बिक्री भइरहेको कालीमाटी तरकारी बजार विकास समितिका कर्मचारी बताउँछन्। समितिले सागमा कार्बामेट र अर्गानोफस्फेटको मात्रै परीक्षण गर्दै आएको छ। बजारमा पाइने सागमा यी दुवै कीटनाशक विषादी रहेको प्राविधिक आचार्य बताउँछिन्।

सरकारले कार्बामेट र अर्गानोफस्फेट विषादी बिक्रीमा पनि रोक लगाउन सकेको छैन। मन्त्री रामनाथ अधिकारी बजारमा विषादीयुक्त साग नियन्त्रण गर्न अनुगमन भइरहेको बताउँछन्। उनले हिमालप्रेससँग भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि विषादीयुक्त साग बिक्री नियन्त्रणका लागि काम गरिरहेको छ।’

केन्द्रीय प्रयोगशालामा कार्बामेट र अर्गानोफस्फेट समूहका दुईवटा विषादी परीक्षण हुन्छ। यसैका आधारमा कालीमाटी तरकारी बजारमा विषादीमा शंका लागेको साग बिक्रीमा रोक लगाएको मन्त्री अधिकारीको दाबी छ। ‘बजारमा बिक्री भइरहेको साग सीधै उपभोक्तासम्म पुग्छ। त्यस कारण परीक्षणमा समस्या छ। सबै सागमा विषादी छ भने रोक लगाउन मिल्दैन’, उनले भने।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी विषादी प्रविधिक आचार्यले ४५ प्रतिशतभन्दा बढी विषादी भएको साग खाए स्वास्थ्यका लागि हानिकारक हुने बताइन्। ‘प्रयोगशाला परीक्षण गर्दा सागमा विषादी भेटिएको छ।। हामीले तत्काल कतिपय साग बिक्रीमा रोक लगाउन मन्त्रालयलाई पत्राचार गरेका थियौँ’, उनले भनिन्।

बागमती प्रदेशमा उत्पादित सागजन्य तरकारीमा सबैभन्दा बढी विषादी भेटिएको उनको भनाइ छ। कालीमाटीको प्रयोगशालामा काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, धादिङ, नुवाकोट, झापा, सर्लाही, कास्की, बुटवल, नेपालगन्ज, कैलाली, सुर्खेत, नवलपुर, सुनसरी, धरान, सिन्धुली र धनुषाबाट भित्रिएका तरकारीको विषादी परीक्षण हुन्छ। काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, धादिङ, नुवाकोट र सिन्धुलीबाट आएको सागमा बढी विषादी भेटिएको समितिले जनाएको छ।

सागको विषादी परीक्षण हुन थालेपछि यी जिल्लाबाट आउने साग सीधै बजारमा भित्रिन थालेको छ। सरकारले २०७१ असारबाट तरकारी र फलफूलको विषादी परीक्षण गर्दै आएको छ। देशभर १२ वटा स्थानमा विषादी परीक्षण प्रयोगशाला छन्। चालु आर्थिक वर्षमा पाँचवटा नयाँ विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी छ।

प्रकाशित: २१ माघ २०८१ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast