अमेरिका भन्छ, सुडानमा नरसंहार सुरु हुँदैछ। अमेरिकाले भनेको त्यो नरसंहारबारे चर्चा गर्नुअघि यसको पृष्ठभूमि खोतल्नु सान्दर्भिक हुन्छ। कुरा सन् २००२ को हो, गाउँलेको एक समूह यात्रामा थियो। यात्राको नेतृत्व मोहम्मद हामदान डागालो नाम गरेका एक युवक गोठालाले गरिरहेका थिए। उनीहरूलाई डाँकाको समूहले आक्रमण गर्यो। आक्रमणमा डागालोको परिवारका एक दर्जन सदस्य मारिए। उनको परिवारसँग जेजति उँट थिए, सबै खोसिए।
डागालो त्यतिबेला २८ वर्षका थिए। उनको जीवन साधारण थियो। पश्चिमी सुडान र पूर्वी चाडका बीचमा रहेको सुख्खा क्षेत्रमा उनी आफ्नो गोठ सारिरहन्थे। उँटको दूध पिउँथे। पैसा चाहिए चौपाया बेच्थे पनि।
डकैतीको त्यो घटनापछि डागालो फेरिए। परिवार र बस्तुभाउको रक्षा गर्न एउटा समूह बनाए। जसको सदस्य थिए, स्थानीय अरब समुदाय रिजेइगाटका युवक। यी सबैका लागि डागालोले हतियारको व्यवस्था गरे। ‘मेरो परिवार र समुदायमाथि अत्याचार भइरहेको थियो। जसले हामीलाई हतियार उठाउन बाध्य बनायो,’ सशस्त्र दस्ता बनाएको केही वर्षपछि डागालोले सुडानी सरकारी समाचार एजेन्सीसँगको कुराकानीमा भनेका थिए।
डागालोले बनाएको त्यो दस्ता बिस्तारै निजी सेनामा परिणत भयो। निजी सेना अहिले हत्यारा र बलात्कारीको जत्था बनेको छ। सुडानी र अन्तर्राष्ट्रिय मानवअधिकार समूहहरूको दाबी यस्तै छ।
डागालाको यो दस्तालाई सुडानीहरू जन्जाविद भन्छन्। जन्जाविदको अर्थ हो, घोडामा सवार अपराधी। कालान्तरमा डागालोको सशस्त्र दस्ताले सुडानको अर्धसैनिक बलको रूप लियो। जसलाई र्यापिड सपोर्ट फोर्स (आरएसएफ) भनिन्छ। पछिल्लो दुई दशकमा आरएसएफमाथि नरसंहार गरेको आरोप दुई पटक लागेको छ। आरएसएफका मिलिसियामाथि सुडानको दक्षिणी भेग डार्फरमा हजारौँ अश्वेत सुडानीको हत्या गरेको आरोप छ।
‘हिंसा कसरी मच्चाउने भनेर डागालोलाई राम्रोसँग थाहा छ। उनी यसका विशेषज्ञ नै हुन्,’ डागालोका बारेमा टुफ्ट्स विश्वविद्यालयअन्तर्गतको विश्वशान्ति संगठनका कार्यकारी निर्देशक एलेक्स डे वालको टिप्पणी छ, ‘सुडानी राज्यमाथि कब्जा गर्न नसकेपछि यसलाई ध्वस्त बनाउनुपर्छ भन्ने निर्क्योलमा उनी पुगेका छन्।’ डे वालले टिप्पणी गरेझैँ डागालो यतिबेला सुडान ध्वस्त बनाउने अभियान पूरा गर्ने क्रममा छन्।
लगभग ५० वर्षका डागालो दुई वर्षअघिसम्म सुडानी सेनासँगको गठबन्धनमा थिए। सेना प्रमुख लेफ्टिनेन्ट अब्देल फतह अल बुर्हानसँग मनमुटाव भएपछि उनी सुडानी सत्ताबाट बाहिरिए। उनको बहिर्गमनपछि सुडानी राजधानी खार्तुम रणभूमिमा रूपान्तरित भयो।
खार्तुममाथि पूर्ण कब्जाका लागि भइरहेको दुईपक्षीय लडाइँमा परी हजारौँले ज्यान गुमाइसकेका छन्। यो सहरबाट कति विस्थापित भए यसको हिसाबकिताब छैन। न त युद्धले निम्त्याएको भोकमरी र सँगै आएको रोगसँग जुध्नेको संख्या यकिन छ। अमेरिकी परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार विस्थापितको संख्या करिब एक करोड २० लाख छ। अमेरिकाले औपचारिक रूपमै भनेको छ, डागालोले नरसंहार चलाइरहेका छन्।
अफ्रिकाको तेस्रो ठूलो देश सुडानमा जारी युद्ध जतिजति गहिँरिदो छ, त्यतित्यति चिन्ता पनि बढ्दो छ, कतै त्यहाँ अफ्रिकी महादेशकै सर्वाधिक ठूला सुनखानीमाथि कब्जा हुने त होइन? अनि सुडान हुँदै बग्ने नाइल नदी र सहारा क्षेत्रबाट युरोपतर्फ हुने बसाइँ सराइको बोटोमाथि नियन्त्रण कसको हुनेछ?
सुडानले युद्ध भोगेको यो पहिलोपटक होइन। सुडान गृहयुद्धबाट दशकौँसम्म गुज्रिएको देश हो। खार्तुमबाट सत्ता चलाउने अरबी अनि दक्षिणका अश्वेत अफ्रिकी र क्रिस्टियनबीच लामो समय युद्ध चलेको थियो। दक्षिणको त्यो युद्धले अखिरमा देश टुक्र्याएरै छाड्यो। सन् २००५ मा अन्ततः युद्ध अन्त्य भयो र ६ वर्षपछि सुडान विभाजित भयो। के भनिन्छ भने गृहयुद्धका क्रममा सुडानमा भित्रिएका हतियार यतिबेला डागालोका मिलिसियाले बोकिरहेका छन्।
डागालोलाई नजिकबाट चिन्नेहरूको दाबी छ, उनी ‘क्यारिस्मेटिक’ नेता हुन्। उनले आफ्ना लडाकुको मन जितेका छन्। उसो त कब्जा गरिने जमिन, धनसम्पत्ति लडाकुहरूलाई बाँड्ने भएकाले पनि डागालो लोकप्रिय बनेका हुन्।
डागालो मरुभूमिको बालुवाको रङसँग मिल्ने कपडा लगाउँछन्। अनि शिरमा सेतो फेटा। उनले जवानीका धेरै वर्ष आफ्नो मुहार त्यही सेतो फेटामा लुकाए। डागालो अग्ला छन्। यद्यपि उनको उचाइसँग उनले पाएको उपमा मिल्दोजुल्दो छैन। उनलाई उनका समर्थक हेमेड्टी भन्छन्। जसकोे अर्थ हो, सानो मोहम्मद।
डार्फरमा जन्जाविदको नाम पाएको सशस्त्र समूह धेरै थिए। यिनमा एक रहेको डागालोको समूह मरुभूमिको त्यो हिंसामा सबैभन्दा खतरनाक साबित भइरहेको थियो। यहीबीचमा उनीमाथि तत्कालीन राष्ट्रपति ओमार अल बासिरको आँखा पर्यो। डार्फरमा हतियार उठाएका अश्वेत अफ्रिकीका कारण अप्ठ्यारोमा परेका बसिरले डागालो र उनको समूहलाई प्रयोग गर्न चाहे। अरबीहरूले चलाएको सुडानी सत्ताका कारण वर्षौँसम्म अन्यायमा परेको भनिएको यो समुदायका हतियारधारी बसिर सरकारका लागि चुनौती बनिरहेका थिए। बसिरको योजना थियो, उनीहरूविरुद्ध डागालो र उनका लडाकु छाडिदिने।
मानवअधिकारवादीहरूका अनुसार डागालोका लडाकुले डार्फरमा उत्पात मच्चाएका थिए। उनीहरूले महिलालाई बलात्कार गर्ने, पुरुष तथा किशोरको हत्या गर्ने, गाउँगाउँबाट मानिसलाई लखेट्ने लगायतका कार्य गरेका थिए। त्यसपछि खाली जमिन कब्जा गर्ने र आफ्नो समुदायलाई वितरण गर्ने काम डागालोले गरे।
संयुक्त राष्ट्रसंघका अनुसार त्यसबेलाको युद्धमा करिब दुई लाख मानिसले ज्यान गुमाएका थिए। यसमा युद्धका कारण उत्पन्न भोकमरी र रोगका कारण मृत्यु हुनेको संख्या पनि छ। युद्धबापत अन्तर्राष्ट्रिय अदालतले बसिरलाई नरसंहारको आरोप लगायो। यद्यपि हालसम्म बसिर पक्राउ पर्नबाट बचिरहेका छन्। अमेरिकाले बसिरसँगै डागालोलाई पनि नरसंहारमा संलग्न भएको आरोप लगाएको छ। डागालोका प्रवक्ता भने आफ्ना कमान्डरमाथि लागेको आरोपको खण्डन गर्छन्। उनको भनाइ छ, डागालो सुडानी नागरिकका लागि लडेका हुन्।
डार्फरमा अश्वेत अफ्रिकी र क्रिस्टियन समुदायको चुनौती सिध्याएबापत डागालोलाई राष्ट्रपति बसिरले ब्रिगेडियर जनरल बनाए। सँगसँगै डागालोको संगठनलाई औपचारिक रूपमा देशको अर्धसैनिक बल बनाइयो। अन्य जन्जाविद पनि आरएसएफमा मिसिए। राष्ट्रपति बसिर र सत्तासँग नजिक भएपछि डागालोको सम्पत्ति बढ्दै गयो। सुडानका सुन खानी उत्खननमा संलग्न रुसको वाग्नर समूहलाई आफ्ना लडाकु भाडामा दिन थाले डागालोले। समय यस्तो पनि आयो, जब डागालोले सुन खानी उत्खननमा संलग्न युरोपेली देश र ठेकेदारलाई जेजति भुक्तानी गरिनुपर्ने हो, नगदमा गर्न धम्की दिए। उनी यतिमा रोकिएनन्, उत्तर अफ्रिका हुँदै युरोप छिर्न चाहनेका लागि सुडानले सीमा खोलेर सहयोग गर्ने चेतावनी पनि दिए।
सन् २०१७ मा डार्फरको जेबेल अमेर सुनखानी कब्जा गरेपछि प्रशस्त धन जोडेका डागालोले टनका टन सुन रुसलाई बेचेको बताइन्छ। बेलायती अनुसन्धान समूह ग्लोबल विटनेसका अनुसार डागालोले संयुक्त अरब इमिरेट्स (यूएई) लाई समेत निकै सुन बेचेका थिए। अहिले पनि उनी चाड र मध्य अफ्रिकी गणतन्त्रको बाटो हुँदै सुन निर्यात गरिरहेका छन्। सुडानी सेनाका अधिकारीहरूका अनुसार डागालोले खार्तुम र डार्फरमा रहेका आफ्ना हबेलीहरूमा सुन भण्डारण गरेका छन्।
यूएईसँग डागालोको नाता सुनको मात्र छैन। यमन र लिबियामा यूएईले गरेको लगानी र परियोजना रक्षाका लागि डागालोले आफ्ना सैनिकसमेत पठाएका थिए। यसका लागि यूएईले डागालोलाई महँगो शुल्क तिरेको बताइन्छ। अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले गत मार्च, २०२० मा यूएईले आरएसएफलाई गरेको २७ करोड डलर भुक्तानीको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेको छ। सो रकम यूएईले आरएसएफलाई यमनमा सैनिक खटाएबापत भुक्तानी गरेको हो।
प्रतिक्रियाका लागि सम्पर्क गर्दा यूएईले कुनै जवाफ नदिएको वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा लेखेको छ।
डागालोलाई नजिकबाट नियालेका जेरोमी टुबियानाका अनुसार डागालोले कुनै दिन सफल व्यापारी बन्ने सपना बुनेका थिए। सन् २००० दशकको अन्त्यतिर सुडानकै न्याला सहरमा महँगा फर्निचर बिक्री गर्ने स्टोर खोलेका डागालोलाई त्यही स्टोरमा भेटेका टुबियानाले भनेका छन्, ‘उनको मुख्य उद्देश्य सफल व्यापारी बन्ने थियो।’
डागालो व्यापारी त बनेनन् तर उनले धन भने प्रशस्त आर्जन गरे। उनले आफ्नो धन हतियार खरिदमा प्रयोग गरे। लडाकुलाई अत्याधुनिक हतियारले सुसज्जित बनाए। जतिजति धनी बन्दै गए त्यतित्यति शक्तिशाली बन्दै गए। उनको महत्त्वाकांक्षा पनि बढ्दै गयो।
सन् २०१९ मा डागालो सेना प्रमुख बुरहानसँग मिले। उद्देश्य थियो, राष्ट्रपति बसिरको सत्ता ढाल्ने। बसिरलाई सत्ताबाट निकालेपछि बुरहान सुडानको प्रमुख बने भने डागालो उनका उपप्रमुख। यो सहकार्य लामो समय टिकेन। दुवैको लक्ष्य एकल सत्ता सञ्चालन भएपछि टकरावको स्थिति उत्पन्न हुने भयो। आखिरमा दुई जेनरलको महत्त्वाकांक्षाले सुडानलाई सन् २०२३ भित्रमै युद्धमा धकेलिदियो।
युद्धको सुरुवाती चरणमा डागालोको सेना बलियो देखियो। सुन निर्यातबाट बटुलेको अकुत पैसाले खरिद गरिएका हतियारका बलमा डागालोका सेनाले सुडानी सेनालाई मुख्य सहरबाट लखेट्यो। एक बिन्दुमा डागालोले सुडानको एकतिहाई भूभागमा कब्जा जमाए। उनले युद्धमा सफल हुन विश्वका फरकफरक ठाउँबाट भाडाका सैनिक ल्याए। दक्षिण अमेरिकाको कोलम्बियाबाट समेत डागालोको लडाइँ लड्न भाडाका सैनिक सुडान पुगेका थिए।
मानवअधिकार समूहका अनुसार डागालोका सैनिकले युद्धका क्रममा निहत्थामाथि हदैसम्मको ज्यादती गरेका छन्। सन् २०२३ को मध्यतिर डार्फरको अल गेनेइना सहरमा आरएसएफले दसौँ हजार अश्वेत अफ्रिकीको हत्या गरेको बताइन्छ। सयुक्त राष्ट्रसंघका अनुसार १५ हजार वा त्योभन्दा बढीको हत्या भएको थियो।
पछिल्लो समय सुडानी सेना क्रमशः बलियो बन्दै गइरहेको बताइन्छ। नाइल नदीको किनारमा रहेको सहर वाद मदानीमाथि सरकारी सेनाले कब्जा गरेपछि डागालोले आफ्नो सैनिकलाई लडाइँ जारी राख्न आह्वान गरेका थिए। ‘लडाइँ जित्न अर्को २० वर्ष लागे पनि लडिरहनू,’ डागालोको सन्देश थियो।
डागालोका वर्तमान र पूर्वसहयोगी उनको स्वभाव मुडी रहेको बताउँछन्। आफ्ना कमान्डरहरूलाई सजिलै लडाइँ हारेको भन्दै सार्वजनिक रूपमै हप्काउने उनलाई अन्तर्राष्ट्रिय समुदायको आलोचनाले छुँदैन। डागालो कमजोर बन्दै जाने स्थिति भए पनि सुडानको अश्वेत अफ्रिकीको अवस्था तत्कालै फेरिने सम्भावना छैन। सत्ता चलाइरहेका बुरहान र उनको सेनाले पनि स्थानीयमाथि युद्ध अपराध गरेको अमेरिकी दाबी छ।
डागालोले तत्कालै सुडानी भूभागमाथि कब्जा गर्ने लोभ त्याग्नेवाला छैनन्। आफ्नो गाउँ जुरुगमा उनको अझै पनि ठूलाठूला ‘फार्म’ छन्, जहाँ उनका सयौँ उँट र बाख्रा चर्छन्। ‘डागालो परिवारको रगतमा बस्तुपालन छ। उनीहरू यही काममा सीमित हुनुपथ्र्यो,’ सुडानी मानवअधिकारकर्मी मोहम्मद उस्मान भन्छन्।
वालस्ट्रिट जर्नलको सहयोगमा