काठमाडौँ- माता सरस्वतीलाई विद्याकी देवी मात्र नभई संगीतको प्रमुख देवी भनेर पनि चिनिन्छ। ताल, स्वर, लय, राग–रागिणी आदिलाई उनको योगदान मानिन्छ। यस्तो अवस्थामा यस संसारको सुन्दरतामा सरस्वती माताको योगदान कति महत्वपूर्ण छ भन्ने कुरा बुझ्न सकिन्छ।
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइने चलन छ।
विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
हिन्दु धर्ममा हरेक वर्ष बसन्त पञ्चमीका दिन विद्यार्थी तथा विद्वानहरूले माता सरस्वतीको पूजा गर्ने गर्दछन् । सामान्यतया शैक्षिक संस्था र सरकारी कार्यालयमा वसन्तपञ्चमीलाई ज्ञान प्राप्ति र देवीको आशीर्वाद प्राप्त गर्ने उद्देश्यले पर्वका रूपमा मनाइन्छ।
देवी सरस्वती कसको छोरी हुन् ?
सरस्वती माताको जन्मको बारेमा लोककथा र किंवदन्तीहरूमा धेरै तथ्यहरू वर्णन गरिएको छ। एक पैराणीक मान्यताको अुसार उनी श्रीब्रह्माको मुखबाट निस्किएको तथा उनी देवी शक्ति दुर्गा– प्रकृति– अष्टांगीको शरीरबाट प्रकट भएको पनि भन्निछ।
उनको जन्मसँग सम्बन्धित धेरै तथ्यहरू हिन्दू धर्मका विभिन्न धार्मिक पुस्तकहरूमा बताइएको छ। तर, वास्तविकतामा देवी सरस्वती ब्रह्मा र देवी सावित्रीकी छोरी हुन्।