काठमाडौँ- कलाकार, चराविद् तथा साहित्यकार हेम पौड्यालको प्रथम स्मृति दिवसका अवसरमा आज (आइतबार) काठमाडौँमा उनको कविता संग्रह लोकार्पणसँगै उनले बनाएका चित्र प्रदर्शनी गरिएको छ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान नक्सालमा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा पौड्यालको सम्झनामा चित्रकला प्रदर्शनी गरिएको हो। कार्यक्रममा ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकला क्षेत्रमा चरालाई विषयवस्तु बनाई चित्र कोर्ने सिद्धहस्त कलाकार पौड्याल स्मरणीय व्यक्तित्व रहेको बताए। उनले पौड्यालका कलामा श्रम, सीप जोडेर प्रकृति र सिर्जनामा शिल्पगत विशेषता रहेको धारणा राखे।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भुपाल राईले कलाकार पौड्याल कला सर्जक मात्र नभई प्रकृतिप्रतिको सचेतना भएको भविष्य द्रष्टा पनि भएको बताए। कला र साहित्यमा पौड्यालको अतुलनीय योगदान रहेको उनको भनाइ थियो।
कार्यक्रममा अन्तरविद्यालय चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः करिना बस्नेत, चिराग राई र शीतल महर्जनलाई पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा २२ कलाकार सहभागी थिए।
कविता प्रतियोगितामा अनाम ‘उपेक्षित’ प्रथम, अनिता ढकाल द्वितीय र सुन्दर ‘शिरीष’ तृतीय भए। यसमा २३ कवि सहभागी थिए। पौड्यालले सिर्जना गरेका चराका चित्रसँगै अन्य २२ कलाकारले बनाएका चित्र यहाँ प्रदर्शनीमा राखिएका छन्।