काठमाडौँ- यू–१९ टी–२० विश्वकपको फाइनल खेलमा भारतीय महिला क्रिकेट टिम, दक्षिण अफ्रिकालाई पराजित गरेर च्याम्पियन बनेको छ। फाइनल खेल भारतीय टिम ९ विकेटले जितेको हो।
योसँगै भारतले लगातार दोस्रोपटक यू–१९ टी–२० विश्वकप जितेको हो। यसअघि भारतले सने २०२३ को विश्वकप पनि जितेको थियो।
दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ८२ रन बनाएको थियो।
८३ रनको सामान्य लक्ष्य भारतीय टिमले ११.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो। फाइनल खेल मलेसियाको क्वालालाम्पुरमा भएको थियो।
फाइनल खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
भारतीय टिमका लागि तृषा गोंगाडीले सर्वाधिक ४४ रन बनाएकी थिइन्। त्यस्तै उनले बलिङ गर्दै तीन विकेट पनि लिएका थिइन्। पारुणिक सिसोदिया, आयुषी शुक्ला र वैष्णवी शर्माले २–२ विकेट लिएकी थिइन्।
भारतले सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेर फाइनलका लागि स्थान पक्का गरेको थियो। यो शृंखलामा भारतीय टिमले कुनै पनि म्याचमा हार बेहोर्नु परेन।
भारतका तर्फबाट ओपनर ब्याटर तृषा गोंगाडीले ३३ बलमा अविजित ४४ रनको इनिङ खेलेकी थिइन्। त्यस्तै सनिका चलकेले पनि अविजित २६ रन बनाएकी थिइन्।
टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका ८२ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाका लागि मिक वान वूसर्टले सर्वाधिक २३ रन बनाइन्। खेलका क्रममा दक्षिण अफ्रिकाको सम्पूर्ण टिम रनका लागि संघर्ष गरेको थियो।