काठमाडौँ- यतिबेला मण्डला थिएटरमा नाटक ‘मुक्कुमलुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन भइरहेको छ। मुन्धुमअनुसार पृथ्वीको पहिलो मानव मुजिङना खेयङना हुन्। सृष्टिको थालनी तिनै मानवबाट सुरु भएको मानिन्छ। नाटकमा उनले जन्माएको छोरा सुसुवेन लालावेनको कथा प्रस्तुत गरिएको छ।
सुसुवेन लालावेन तत्कालीन समयका जेठा सिकारी भए। उनी सिकार गर्न पाँचवटा कुकुर साथी लिएर जंगल पस्छन्। सुसुवेनको विभिन्न युवतीसँग प्रेम हुन्छ। तिनै युवतीबाट जन्मेका सन्तान लिम्बू हुन्। सिकार खाेज्ने क्रममा सुसुवेनको मृत्युपछि उनको डाढ पहाड र टाउको ढुंगा बनेको मुन्धुममा उल्लेख छ। यिनै याक्थुङहरूको सृष्टि कथालाई नाटकमा कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। मुक्कुमलुङ (पाथीभरा) को अस्तित्व बचाइराख्नुपर्ने सन्देश नाटकमा पाइन्छ।
नाटक अनिल सुब्बाले निर्देशन गरेका हुन्। नाटकमा सुसुवेन लालावेन बनेका छन् नाट्यकर्मी सुरज तमू। तमू गोरखाका हुन्। सुदूरपूर्वको मुन्धुम सुसुवेन लालावेनको भूमिकामा अभिनय गर्नुपर्दा कठिन भएको सुरज बताउँछन्। उनले भने, ‘मुन्धुम अथवा एउटा समुदायको देउता बन्न निकै समय लाग्यो।’ यसअघि सुरज चरित्रको खाका आफैँ तयार गर्थे। जुनसुकै चरित्रलाई पनि आफ्नै ढंगले अभिनय कौशल देखाउँथे। ‘म रिहर्सल कम गर्छु। अभियनको ढाँचा आफैँ तयार पार्छु। पात्रभित्र हराउँदै जान्थेँ’, उनले भने।
मुक्कुमलुङमा अभिनय गर्दा पनि उनी पात्रको दायरा बुझेर आफ्नै ढंगमा प्रस्तुत हुन खोजेका थिए। समुदायको आस्था प्रस्तुत गर्नुपर्ने भएकाले चोट पुग्ने काम गर्न हुन्न भन्ने उनलाई लाग्यो। ‘मेलै धेरै समय दिएर रिहर्सल गरेको पहिलो नाटक हो यो’, उनले भने, ‘ठाउँ र भेगअनुसारको मुन्धुमका अनेक नाम छन्। एउटा समुदायले मानेको, विश्वास गरेको चरित्रलाई आफ्नै ढंगले सोच्नुभएन’, उनले भने।
‘पलपलको मृत्यु’ नाटकमा ४५ मिनेट सोलो संवाद गरेका सुरजलाई ‘मुक्कुमलुङ’ को रिहर्सल गर्दा छोडेर हिडौँ झैँ लागेको थियो। मुन्धुमको एक शब्द पनि बिगार्न नमिल्ने र स्टेजमा जाँदा-फर्किँदा मुन्धुमकै सुस्त गतिमा फर्किनुपर्ने भएकाले सुरुमा निकै कठिन भएको उनको अनुभव छ।
‘मुक्कुमलुङमा अहिले जुन आन्दोलन चलिरहेको छ, नाटकमा मेरो चरित्र त्यसमा सुहाउँदो छ। निर्देशकले मुन्धुमलाई मिलाएर बुझ्नुपर्छ, बिगार्नुहुन्न भनिरहनुहुन्थ्यो। नाटकसँग समुदायको आस्था जोडिएको छ भनेर घच्घच्याइरहनुहुन्थ्यो। औँला चलाउन पनि बिग्रिने पो हो कि भन्ने त्रास हुन्थ्यो’, उनले अनुभव सुनाए।
रिहर्सल गर्दा एक दिन अरूकै दृश्यमा प्रवेश गर्न पुगेको सुरज बताउँछन्। उनले भने, ‘बीचमा पुगेपछि थाहा भयो मेरो दृश्य हैन भनेर। मलाई यो भूमिकामा अभिनय गर्न सक्दिनँ जस्तो पनि लागेको थियो।’ निर्देशकले भनेअनुसार अभिनय गर्न आफूलाई निकै गाह्रो भएको सुरज सुनाउँछन्। ‘मेरो हिँड्ने, फर्किने तरिका फिट भएको थिएन। हामीले मुन्धुमलाई बिगार्नुहुन्न। चरित्र त्यहीअनुसार देखाउनुपर्छ भनेर निर्देशकले बाटो देखाइदिनुभयो। त्यसैले मेरा लागि यो चरित्र विशेष छ’, उनले भने।
सुरज निर्देशककै कारण आफूले उक्त भूमिकामा अभिनय गर्न सकेको बताउँछन्। अहिले दर्शकले फरक चरित्रमा अभिनय गरेको प्रतिक्रिया दिँदा उनी दंग छन्। निर्देशक अनिल सुब्बासँग उनले पहिलोपटक नाटकमा काम गरेका हुन्।
पाथीभरा क्षेत्रमा केबलकार बनाउनु हुँदैन भनेर आन्दोलन चलिरहेको छ। आफ्नो रहर पूरा गर्न अरूको आस्था र विश्वासलाई कुल्चिन नहुने सुरज बताउँछन्। ‘नाटकमा अभिनय गरिरहँदा मेरो विश्वास कहिले रूख, ढुंगा त कहिले खोलानाला, हिमालमा गएर अड्कियो। त्यो विश्वास नचलाइदिनु भन्ने मेरो आग्रह हो’, उनी भन्छन्, ‘विकट गाउँ छ। बाटो, गाडी जान सक्ने अवस्था छैन् भने उक्त गाउँको सेवा र सुविधाका लागि केबलकार लैजानुपर्छ तर गाउँलेको आस्थामा चोट पुर्याउनुहुन्न भन्ने हो।’
नाट्यक्षेत्रमा अहिले माटो सुहाउँदो कथा आइरहेको सुरजको बुझाइ छ। विवादित विषयलाई आन्दोलनभन्दा कलात्मक पक्षबाट मानिसको चेतसम्म पुर्याउन समुदाय र मुद्दाका कथा रंगमञ्च बढिरहेको उनलाई लाग्छ। उनी पूर्वका मानिसमा कला र नाटक हेर्ने र बुझ्ने चेतना परिवर्तन भएको बताउँछन्। उनी भन्छन्, ‘पश्चिमका मानिस सालैजो, ठाडो भाका, कौडा, दोहोरी गीतमै रमाइरहेका छन्। नाटकसम्म पुग्न सकेका छैनन्। पूर्वजस्तै पश्चिममा पनि कलाचेतको विकास हुन जरुरी छ।’
साथीको संगतले अभिनयतर्फ मोडिएका सुरज
गोरखास्थित सिरानचोक गाउँपालिकामा मध्यमवर्गीय परिवारमा जन्मिएका सुरजलाई सानैदेखि गीत गाउन मन पर्थ्यो। त्यसैले गायनतिर आकर्षित थिए। त्यसमै भविष्य खोज्ने योजनामा थिए। समयले नाट्यकर्मीको परिचय दिलाएको सुरज बताउँछन्। २०६८ सालमा एलएलसी दिएपछि उनी काठमाडौँ आए। बाल्यकालदेखि मामाघरमा हुर्केका सुरज काठमाडौँ आएपछि माइजूसँगै बस्न थाले।
नाट्य क्षेत्रमा प्रवेश गर्नुअघि उनी उपत्यकामा टिक्न मुस्किल परेको सुनाउँछन्। ‘मैले श्रम गर्ने मानिस खोज्नेदेखि डिपार्टमेन्ट स्टोर, फाइनस, लाइफ इन्सुरेन्स, मेनपावरमा काम गरेँ।’ मेनपावरमै काम गर्ने क्रममा साथी कार्जु श्रेष्ठमार्फत आफ्नाे नाट्ययात्रा सुरु भएको उनी बताउँछन्।
गीत गाउने धोको पूरा हुने आशाले कार्जुसँग सुरजको हिमचिम बढेको थियो। उनीमार्फत पहिलो नाटक खेल्ने अवसर पाएकोमा खुसी हुँदै सुरज भन्छन्, ‘त्यही साथीले सडक नाटक बनाउँदै रहेछन् ‘खोटो सिक्का’। ऊसँगै म पनि थिएटरमा आउने जाने भइरहेको थियो। नाटकबारे केही बुझ्दै थिएँ। नाट्यघरप्रति चासो पनि बढिरहेको थियो। प्रतिबिम्ब कला केन्द्रको प्रस्तुति रहेको नाटकको निर्देशन केशन लामाले गरेका थिए’, उनले विगत सम्झिए, ‘नाटकमा एकजना कलाकार आएनन्। साथीले त्यो भूमिका अभिनय गर्न मलाई प्रस्ताव गर्यो। २०७१ सालतिर नेपालटारस्थित हलमा नाटक मञ्चन भएको थियो। मेरो अभिनयले निर्देशकको मन छोएछ।’
केही दिनपछि उनलाई निर्देशकले ‘मेरी कुसुम’ फिल्म अभिनय गर्न प्रस्ताव गरे। उक्त फिल्मले दर्शकको मन जित्न नसके पनि आफ्नो जीवनको बाटो कोरिदिएको उनी बताउँछन्। ‘पहिलो नाटकपछि सीधै फिल्ममा अभिनय गर्ने अवसर पाएँ त्यो पनि मुख्य भूमिकामा। अभिनयबाट केही आम्दानी पनि भयो। त्यसपछि नोकरी गर्नै मन लागेन। अहिले निरन्तर कलाकारितामै लागिरहेको छु’, सुरजले भने।
त्यसपछि सुरजले टंक चौलागाईं निर्देशित नाटक ‘माधवी’ मा अभिनय गर्ने अवसर पाए। नाटक भारतीय लेखक भीष्म साहनीले लेखेका हुन्। सुरजले नाटकमा महाराज भृगुको चरित्रमा अभिनय गरेका थिए। उक्त नाटक अभिनयका क्रममा सुरजले वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलसँग भेट्ने मौका पाए। उनकै सल्लाहमा २०७३/७४ सालमा अनामनगरस्थित ‘ज्ञ’ थिएटरबाट अभिनय सिके। सुनिलसँगै केही वर्ष थिएटरमै रहेर काम गरे।
सुरजले अहिलेसम्म ‘ब्यूँझिएको सिरानी’, ‘चोरको स्वर’, ‘मार्क्स फर्किए’, ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’, ‘हरियो ढुंगा’, ‘कोरा’, ‘एलआइजी पिकनिक’, ‘योगमाया’, अर्को अर्थ नलागेमा’, ‘मीमांसा’ जस्ता दर्जनजति नाटकमा अभिनय गरिसकेका छन्। सुरजसँग बालबालिका लक्षित केही नाटकसहित ‘चालिसे भीर’, ‘स्कुल’ को निर्देशन गरेको अनुभव पनि छ।
सुरज अभिनित फिल्म ‘ऊनको स्विटर’, ‘सारंग’, ‘अञ्जिला’ र ‘जुनकिरी’ प्रदर्शनको तयारीमा छ। ‘गोर्खाः वारियर’, ‘प्रेमलीला’, ‘मेरी कुसुम’, गुरुङ भाषाको ‘नैना’, ‘एली’ लगायत केही फिल्म प्रदर्शन भइसकेको छ।
फिल्ममा अभिनय गरेपछि आफूलाई केही फिल्मकर्मीहरुले ‘नोटिस’ गर्न थालको र कलाक्षेत्रमै रमाइरहेको सुरज बताउँछन्। ‘जीवन यात्राकै क्रममा परिस्थितिले थिएटरतिर डोर्यायो। यतैतिर रुमलिन र रमाउन थाले’, उनी भन्छन्, ‘जुवातास खेल्न नपाउँदा र धूमपान-मदिरा पिउने त्यो नखाई जसरी तडपिन्छ त्यसरी नै अभिनय नगरी हामी नाट्यकर्मी बस्न सक्दैनौँ’, उनी भन्छन्। रंगमञ्च सुन्दर फूलबारीजस्तो उनलाई। ‘आफ्नो अपनत्व हुने ठाउँ हो रंगमञ्च। काम गर्दा एक परिवार भएर अघि बढिन्छ। अभिनयमा पात्र भएर बाँच्न सकिन्छ। यहाँजस्तो सुन्दर ठाउँ अन्त पाउँदिनँ।’