श्रम सम्झौता गर्न साउदी तयार, घरेलु रोजगारी खुलाउन सर्त

रमेश भारती २० माघ २०८१ ११:०७
104
SHARES
श्रम सम्झौता गर्न साउदी तयार, घरेलु रोजगारी खुलाउन सर्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका समकक्षी अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजीबीच साउदीको रियादमा भएको द्विपक्षीय बैठक। तस्बिर सौजन्य : श्रममन्त्रीको सचिवालय

काठमाडौँ– साउदी अरबिया नेपालसँग श्रम सम्झौताका लागि तयार भएको छ। त्यसका लागि घरेलु रोजगारीमा महिला कामदारमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने अडान कायमै राखेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका समकक्षी अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजीबीच साउदीको रियादमा भएको द्विपक्षीय बैठकमा श्रम सम्झौताका विषयमा  सहमति भएको हो।

श्रममन्त्री भण्डारीले साउदी नेपालसँग श्रम सम्झौताका लागि तयार भएको जानकारी दिए। उनले हिमालप्रेससँग भने, ‘नेपाल र साउदीबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भयो। साउदीका अधिकारीहरू श्रम सम्झौता गर्न नयार भएका छन्।’ मन्त्री भण्डारी साउदीको भ्रमण गरी आइतबार स्वदेश फर्किएका छन्। उनी बिहीबार साउदी गएका थिए।

श्रम सम्झौताका लागि नेपाल र साउदी अधिकारीहरूले बनाएको मस्यौदामा सहमति भएको मन्त्री भण्डारीले बताए। उनले भने, ‘साउदीमा नेपाली श्रमिकले भोग्नुपरेका समस्यालाई पनि हामीले उठाएका छौँ। यस विषयमा साउदी सरकार सकारात्मक छ’, उनले भने।

साउदीले नेपालसमक्ष घरेलु रोजगारीमा महिला कामदार पठाउन प्रस्ताव गरेको छ। यस विषयमा नेपालमा छलफल गेरेर मात्रै अघि बढ्न सकिने जवाफ मन्त्री भण्डारीले दिएका छन्।

मन्त्री भण्डारीका अनुसार साउदीले घरेलु महिला कामदारसँगै २९ क्षेत्रमा नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ। उनले भने, ‘कृषि श्रमिक, ड्राइभर, सुरक्षागार्ड (नाथुर), कुक, घरेलु कामदार, उद्योगमा मजदुर, ग्रिल उद्योग र सूचना प्रविधिमा नेपाली कामदार लैजान प्रस्ताव गरेको छ।’

दुवै देशले कानुनी प्रक्रिया पूरा गरेपछि सम्झौतामा हस्ताक्षर गर्ने मिति टुंगो लगाइनेछ। घरेलु श्रमिक र सीप प्रमाणीकरण कार्यक्रमलाई सम्झौतामा समेट्न साउदीलाई प्रस्ताव गरिएको मन्त्री भण्डारीले बताए।

श्रम मन्त्रालयका सहप्रवक्ता वसन्त बोहराले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) को ऐनअनुसार श्रम सम्झौता गर्ने तयारी भइरहेको जानकारी दिए।

साउदीसँग २०६५ मा तत्कालीन श्रममन्त्री लेखराज भट्ट र श्रमराज्यमन्त्री मोहम्मद अफ्ताव आलमले श्रम सम्झौताका लागि पहिलो पटक छलफल गरेका थिए। २०६८ मा नेपाली पक्षको मागबमोजिम साउदी अरेबियाले नेपालमा आफ्नो दूतावास खोले पनि श्रम सम्झौताका लागि वास्ता नगरेको श्रम मन्त्रालयका कर्मचारी बताउँछन्।

२०७२ सालपछि भने साउदीले घरेलु रोजगारीमा लगाइएको प्रतिबन्ध खुलाउन सर्त राख्दै आएको छ।

साउदीसहित अन्य खाडी मुलुकको दबाबका कारण असार २०७२ मा सरकारले २४ वर्ष पुगेका नेपाली महिला वैदेशिक रोजगारीमा जान सक्ने गरी वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका-२०७२ जारी गरेको थियो। सोही वर्ष सरकारले घरेलु रोजगारीमा महिला कामदार पठाउन रोक लगायो। त्यसपछि साउदीले श्रम सम्झौताका लागि बेवास्ता गर्न थालेको साउदीका लागि तत्कालीन नेपाली राजदूत उदयराज पाण्डे बताउँछन्।

साउदीले नेपालबाट घरेलु कामदारसम्बन्धी सम्झौता गर्नेमात्र रुचि राखेको थियो। नेपालले तत्काल घरेलु रोजगारीमा महिला कामदार पठाउन नसकिने जानकारी दिएपछि साउदी श्रम सम्झौताबाट पछि हटेको उनले बताए। ‘श्रम सम्झौताका लागि पाँच पटक मस्यौदा तयार भए पनि प्रक्रिया अघि बढ्न सकेन। यसको मुख्य कारण नेपाली घरेलु रोजगारीमा महिला कामदार पठाउन रोक लगाएको हो’, उनले भने।

२०७६ सालको अन्तिमतिर साउदीले घरेलु श्रमिक आपूर्तिबारे छुट्टै श्रम समझदारी गर्न प्रस्ताव पठाएको थियो। नेपालले भने घरेलु श्रमिकका लागि मात्र नभई सबै प्रकारका श्रमिकलाई समेट्ने अडान राख्दै आएको छ। यस पटक नेपालले घरेलु कामदार पठाउन तयार भए मात्र श्रम सम्झौता हुने उनको दाबी छ।

साउदीमा कार्यरत नेपाली कामदार आर्थिक, शारीरिक तथा मानसिक शोषणमा पर्दै आएका छन्। यस विषयमा नेपालले पटकपटक ध्यानाकर्षण गराए पनि साउदी सरकारले बेवास्ता गर्दै आएको छ।
हाल साउदीमा चार लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्।

प्रकाशित: २० माघ २०८१ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast