इटहरी- पूर्वका ९ जिल्लामा यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ। ताप्लेजुङको पाथीभरामा केबलकार बनाउन नहुने माग राख्दै सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्द गरिएको हो। बन्दको प्रभावका कारण जनजीवन प्रभावित बनेको छ।
मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत सम्पूर्ण संस्था एवम् राजनीतिक दलहरूले बन्द गरेका हुन्। केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समितिलगायत संघसंस्था उभिएका छन्।
केबलकार खारेजी समितिका संयोजक खगेन्द्र फेम्बूका अनुसार पाथिभरा केबलकार कम्पनीले निर्माण प्रक्रिया सुरु गरेदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने पक्षमा विरोध हुँदै आएको छ।
केबलकार बनाउँदा स्थानीय संस्कृति, सभ्यता र वातावरण विनाश हुने बताउँदै यसका लागि स्थानीय रूपमा गठित विभिन्न संघसंस्था सक्रिय छन्। खासगरी गत शनिबार काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएपछि विवादले उग्ररूप लिएको हो। झडपका क्रममा चारजना गम्भीर घाइतेसमेत भएका थिए।
स्थानीयको चाहनाविपरीत राज्यसत्ताले प्रहरी, प्रशासनको बल प्रयोग गरेको फेम्बूको आरोप छ।