पाकिस्तान आक्रमण : १८ सुरक्षाकर्मीको मृत्यु

हिमाल प्रेस १९ माघ २०८१ २०:२५
6
SHARES
पाकिस्तान आक्रमण : १८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा परी १८ अर्धसैनिक सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका प्रहरी र सेनाले जनाएका छन्।

आक्रमणको बलोच पृथकतावादी समूहले जिम्मेवारी लिएको छ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको गरिब तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तानमा सुरक्षा फौजले दशकौँदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लड्दै आएको छ।

नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपीसँग कुरा गर्दै भने, ‘निहत्था अर्धसैनिक अधिकारी बोकेको एउटा गाडीमा अफगानिस्तानको सीमा नजिकैको मङ्गोचर शहरनजिकै ७० देखि ८० जना सशस्त्र आक्रमणकारीले गोली चलाएका थिए।’

स्थानीय स्रोतबाट प्राप्त समाचारलाई पुष्टि गर्दै उनले भने, ‘रातभर भएको आक्रमणमा १८ अर्धसैनिक बलको मृत्यु भएको थियो।’

अन्य तीन अर्धसैनिक अधिकारी गम्भीर घाइते भएका छन् भने दुई जना सकुशल बाँच्न सफल भएका छन्।

सेनाले जारी गरेको वक्तव्यमा १८ अर्धसैनिक बल मारिएको पुष्टि गरिएको छ, जसलाई उसले ‘आतंकवादीको कायरतापूर्ण कार्य’ भनेको छ।

अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मेवारी लिएको छैन।

सेनाले जारी गरेको विज्ञप्तिमा सुरक्षा बल र प्रहरीले रातभर गरेको आक्रमणको जवाफी कारबाहीमा १२ जना आक्रमणकारी मारिएको उल्लेख छ।

उक्त प्रान्तमा हालैका महिनाहरूमा सुरक्षा बलविरुद्ध आक्रमणहरू बढेका छन्।

गत जनवरीमा पृथकतावादी बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले गरेको बम विस्फोटमा परी छ सुरक्षाकर्मीको मृत्यु भएको थियो।

बीएलएले बलुचिस्तानका पञ्जाबीलगायत अन्य प्रान्तहरूबाट त्यहाँ तैनाथ सुरक्षा बल वा पाकिस्तानीविरुद्ध घातक आक्रमणको दाबी गर्ने गरेको छ।

लडाकूहरूले विदेशी लगानी (विशेष गरी चीन) बाट सञ्चालित ऊर्जा परियोजनाहरूलाई पनि निशाना बनाउने गरेका छन्। उनीहरूले बाहिरी मानिसहरूले संसाधन–धनी क्षेत्रको दोहन गरेको आरोप लगाउँदै आक्रमणहरू गर्ने गरेका छन्।

नोभेम्बरमा क्वेटाको मुख्य रेलवे स्टेसनमा भएको बम विस्फोटमा १४ सैनिकसहित २६ जनाको मृत्यु भएको थियो।

उक्त समूहले अगस्टमा दर्जनौं आक्रमणकारीले गरेको आक्रमणको जिम्मेवारी पनि लिएको छ, जसमा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो।

सन् २०२१ मा काबुलमा अफगान तालिवान सत्तामा फर्किएपछि पाकिस्तानको सीमावर्ती क्षेत्रमा पनि हिंसा बढेको छ।

पाकिस्तानले तालिवान सरकारले अफगान भूमिबाट आक्रमण गर्ने लडाकूलाई परास्त गर्न असफल भएको आरोप लगाउँदै आएको छ।

इस्लामाबादस्थित अनुसन्धान समूह, सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज,का अनुसार सन् २०२४ मा भएका हिंसात्मक आक्रमणमा एक हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जुन करिब एक दशकयताकै सबैभन्दा घातक वर्ष बनेको छ।–रासस

प्रकाशित: १९ माघ २०८१ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast