काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले संविधान संशोधनका साथै कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन्।
नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभाग र डमोक्रेटिक लयर्स एसोसिएसनले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘संविधान संशोधन : आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
निधिले संघीय प्रणाली हुनलाई प्रदेश अनिवार्य रहेको बताए। प्रदेशहरूलाई थप अधिकार सम्पन्न बनाउन पनि संविधान संशोधन जरूरी रहेको उनले बताए।
‘संविधानले प्रदेशलाई केही अधिकार दिएको छ। तर, पूरा छैन,’ उनले भने,‘प्रदेशलाई थप अधिकार सम्पन्न बनाउन पनि संविधान संशोधन जरूरी छ।’
दोस्रो संविधानसभाबाट पनि संविधान जारी नहुँदा नेपाल ‘फेलिअर स्टेट’ बन्ने सम्भावना भएकाले त्यसबाट जोगिन पनि केही असहमतिका बाबजुद संविधान जारी गरिएको उनले स्मरण गरे।
निधिले संविधान संशोधनबारे चाहिएअनुसार बहस हुन नसकेको उल्लेख गरे। कांग्रेस र एमालेबीचको सातबुँदे समझदारीमध्ये संविधान संशोधन महत्वपूर्ण रहेको बताउँदै उनले यस विषयमा गहनताका साथ बहस गर्नुपर्नेमा जोड दिए।
नेता निधिले संविधान संशोधनका लागि तत्काल विज्ञसहितको कार्यदल गठन गर्न सरकारलाई सुझाव दिए। कार्यदलले पहिचान गरेका संशोधनका विषयवस्तुका आधारमा अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।