काठमाडौँ – महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको दोस्रो खेल पनि नेपालले गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपाली टोली थाइल्यान्डसँग चार विकेटले पराजित भएको हो।
पहिले ब्याटिङ गर्दै घरेलु टोली नेपालले प्रस्तुत गरेको १०२ रनको लक्ष्य थाइल्यान्डले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो। शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि नेपाली टोली शृंखलाको पहिलो खेल नेदरल्याड्ससँग गुमाएको थियो।
टस जितेर ब्याटिङ रोजेको नेपालका ब्याटरहरूले औसत प्रदर्शन गरे। नेपालले निर्धारित २० ओभर खेलेर ९ विकेटको क्षतिमा केवल १०१ रन बनाउनसक्यो।
नेपालका लागि कविता कुँवर र बिन्दू रावलले सर्वाधिक २५ रन बनाइन्। त्यस्तै ओपनिङका लागि आएकी कप्तान इन्दू वर्माले १५ र पुजा महतोले ६ रन जोडिन्।
रुविना क्षेत्री ४, कविता जोशी ८ र सीताराना मगर २ रन बनाइन्। अलिसा यादव २ र मनिषा उपाध्याय १ रन बनाएर नटआउट रहिन्।
थाइल्यान्डले १०२ रनको झिनो लक्ष्य ६ विकेट गुमाएर पूरा ग¥यो। थाइल्यान्डका लागि नानापट कोन्चरोन्काईले अविजित ६० रन बनाइन्। थाइल्यान्डको ओपनिङ जोडी सस्तैमा आउट भए पनि नानापटको अर्धशतकीय इनिङले टिमलाई सहज जित दिलाउन भूमिका खेल्यो।
कप्तान नार्यूमोल चाइवाईले १३ रन बनाउँदा सुवानान काहितोले १४ रनको योगदान दिइन्।
नेपालका लागि मनिषा उपाध्यायले २ र कविता कुँवर तथा रुविना क्षेत्री कविता जोशीले १–१ विकेट लिइन्।