देश छोड्दाको अन्तिम अनुभव

अन्जु न्यौपाने १९ माघ २०८१ १६:०७
46
SHARES
देश छोड्दाको अन्तिम अनुभव

प्रिय भूमि! यही भूमिमा म जन्मिएँ। यहीँ मेरो बाल्यकालले पहिलो पाइला चाल्न सिक्यो। यहीँ मैले धेरै अध्ययन गरेँ। यहीँबाट मैले आकाश हेरेर अनेक सपना बुनेँ र केही सपना पूरा पनि गरेँ।आफूले सकेजति योगदान पनि दिएँ। यहीँको माटोले मलाई आफूलाई चिन्न सिकायो। तर आज यही माटो छोडेर यात्रा गर्दै छु। टाढाको यात्रा।

आफ्नो क्षमतालाई अझै परिष्कृत गर्ने उद्देश्यले आखिर म जाने नै भएँ। भिसा प्रोसस गर्ने क्रममा त म उत्साहित नै थिएँ। आफूलाई अझै अब्बल बनाउने खालका अनेक सपना बुनेकी थिएँ। लगभग आफ्ना पाइला जमाइसकेको आफ्नो जीवनको बाटो परिवर्तन गरिरहँदा पनि एक खालको नयाँ उत्साह छाइरहेको थियो। जमेको पाइला छाडेको नभई त्यो पाइलालाई अझै दह्रो बनाउने यात्रामा लागिरहेको अनुभव गरिरहेकी थिएँ।

नेपालमा केही गर्न नसकेर बिदेसिन लागेको भए सायद दुःखद् अनुभूति हुन्थ्यो होला। तर मैले यहाँ पनि आफ्नातर्फबाट सकेका कुराहरू गरेकी थिएँ। मेरो नर्सिङ पेसा राम्रो चलिरहेको थियो। मिडियाको क्षेत्रमा पनि राम्रो काम गरिरहेकी थिएँ। दुईवटा पुस्तक पनि लेखिसकेकी छु र अर्को एउटा पुस्तक पनि लेखिसकेर छाप्ने तयारीमा थिएँ। आफ्नो क्षेत्रमा लेखनसँग सम्बन्धित विभिन्न क्रियाकलापहरूमा पनि सामेल भइरहन्थेँ। विभिन्न पत्रिकाहरूमा लेखहरू पनि लेखिसकेकी छु। समाजसेवको क्षेत्रमा पनि लागिपरेकी थिएँ। राजनीतिमा पनि आफूले सकेको योगदान दिइरहेकी थिएँ। तैपनि, जीवनमा केके अपुग भइरहेको जस्तो अनुभव भइरहेको थियो। सायद म अझै फैलिन चाहन्थेँ। आफ्नो योग्यतामा अझै निखार ल्याउन चाहन्थेँ। यसर्थ मैले जाने निर्णय गरिसकेकी थिएँ।

अब त भिसा पनि लागिसकेको थियो। बेलायतले मलाई आफ्नो देशमा आएर अध्ययन गर्ने अनुमति दिइसकेको थियो। र, अब त जाने दिन पनि आइसकेको थियो। भोलि नेपालमा छाड्दै थिएँ। आफ्नो प्यारो जन्मभूमिबाट टाढा हुँदै थिएँ।

यति बेला भने आफ्नो देश छाड्ने विचारले मनलाई अत्यन्तै अस्थिर बनाइरहेको थियो। मुटु भारी भइरहेको थियो, मानौँ हजारौँ टनको ढुंगाले थिचेको छ। टाउको गह्रुँगो भइरहेको थियो, मानौँ पूरै आकाश ठोस बनेको छ र मेरो टाउकोमाथि बसेको छ। हृदय काँपिरहेको थियो, मानौँ हृदय एउटा लामो स्प्रिङ हो र त्यसलाई कसैले हल्लाएर छाडिदिएको छ। रोकिने नाम लिइरहेको छैन।

आफ्नै ठाउँको यो थरीथरीको मौसम त्यहाँ होला या नहोला। चिसोको समयमा घाम तापेको त्यो पल, पानी पर्दा रमाएको त्यो समय, घर-आँगनमा खेलेका ती दिनर गाउँलेले भरिएको त्यो वातावरण अब केवल सम्झनाको कापीमा कैद हुने भयो। राताको समय। अँध्यारो बढ्दै गइरहेको थियो। त्यो अँध्यारोले मानौँ मेरो पूरा मन नै अन्धकार बनाइरहेको थियो।

मन अन्धकार हुँदा संसार पनि अँध्यारो नै देखिँदो रहेछ। पूरै जीवन अँध्यारो लाग्ने। त्यो अँध्यारो जीवनमा भविष्यको उज्यालो खोजिरहेकी थिएँ म। रातको अँध्यारोमा कतैकतै परिरहेको मन्द उज्यालो छरिरहेको जूनको उज्यालोले भविष्यमा पनि उज्यालोको आस त जगायो तर देश छोड्नुपर्ने चिन्ताले मनमा नमीठो स्मृति छोड्यो।

यो नमिठो अनुभवसँगै दिमागमा विभिन्न दृश्यहरू आउन थाले। यतिका वर्षसम्म बिताएका आफ्ना दैनिकीहरू, साथीभाइसँग बिताएर रमाइला पलहरू, सुख-दुःखमा साथ दिने सुन्दर मन भएका मित्रहरू, दुःखमा परेका बाआमालाई सहयोग गर्ने मित्रहरूलाई सहयोग गर्दा पाएको आत्मसन्तुष्टि, प्रियजनसँग बिताएका अविस्मरणीय पलहरू, घरमा परिवारसँग बिताएका क्षणहरू – यस्ता मैले विगतमा अनुभव गरेका यावत् पलहरू आँखाअगाडि एकेक गरेर नाच्न थाले। यसरी नाचे कि मानौँ ती अहिले नै घटित भइरहेका छन्।

अब दुःखी भएर पनि केही हुँदैन भन्ने पनि लागिरहेको थियो र मैले यी दृश्यलाई हटाउन खोजिरहेको थिएँ। तर कतिकति खेर आँखाबाट आँसु झरिसकेछ। भर्खरै मात्रै आफन्तजन र साथीभाइसँग बिदा मागेर आएकी थिएँ। उनीहरूले खुसीसाथ मलाई बिदा त दिए तर उनीहरूको त्यो खुसीभित्र पनि कताकता मैले एक खालको उदासीपन देखिरहेकी थिएँ। उनीहरूबाट छुट्टिँदा मलाई पनि एउटा गहिरो न्यास्रोपनले छोपेको थियो। अहिले त्यो दृश्य पनि मेरो मगजमा खेलिरहेको थियो।

हुन त सबै कुरा अनित्य हुन् रे संसारमा। कुनै कुरा पनि दोहोरिँदैनन् रे। यहीँ बसे पनि यी सबै भोगाइहरू पनि परिवर्तन त हुन्छन् नै। तर अलिअलि गर्दै परिवर्तन हुने भएर होला, एउटा परिवर्तनलाई अर्को कुनै नयाँ आगमनले भुलाइदिन्छ। एक्कासि सबै कुरा परिवर्तन हुँदा भने साह्रै गाह्रो हुँदो रहेछ। लाग्दो रहेछ, के अब नेपालमा बिताएका यी पलहरू मेरो जीवनमा अब फर्किएर आऊलान्?

सबैजनाबाट बिदाइको क्षण बिताइसकेपछि र सबै देश छाड्ने सबै तयारी सकेपछि राति म सुत्न त सुतेँ तर निद्रा पटक्कै लागेन। कताकता नजाऊँ कि अझै पनि भन्ने लागिरहेको थियो। तर यो नजाऊँ कि भन्ने भावलाई आफ्नो उज्ज्वल भविष्यले नजानिँदो तरिकाले थिचिरहेको अनुभव गरेँ मैले। आफ्नो भविष्यप्रतिको उत्साह र विगतप्रतिको मोहबीचको संघर्ष चलिरहेको थियो मनमा।

बेलाबेलामा मनले सोधिरहेको थियो, ‘के यो यात्रा आवश्यक छ? के नगए पनि हुँदैन? यहाँ केही अपुग छ र?’

फेरि त्यही मनले जवाफ पनि दिइरहेको थियो, ‘मैले अझै पढ्नु पनि त छ। फेरि म सधैँ उता हराउन लागेको पनि त होइन। उता सिकेको सीपलाई भविष्यमा यही देशमा, यही समाजमा लागू गर्ने त हो। सधैँका लागि जान लागेको भए पो चिन्ता गर्नु। केही वर्षपछि त फर्किहाल्छु नि। अनि फेरि यहीँ सेवा गर्ने छु।’

मनभित्रको द्वन्द्वमा भोलिको दिनले नयाँ सुरुवातको प्रतीक्षा गरिरहेको महसुसले जितिरहेको थियो। जाने त निर्णय गरिसकेको नै थिएँ, त्यसैले चित्त त बुझाइरहेको थिएँ। तर सुरक्षित भविष्यका निम्ति जान लागेको मलाई भोलिदेखि नै असुरक्षित हुनुपर्ने भावनाले भने धेरै सताइरहेको थियो। नयाँ देश, नयाँ समाज, नयाँ मान्छे – सबै नयाँ चिजसँग बिताउनुपर्नेछ भोलिदेखि। आफूलाई चिनाउन पुनः संघर्ष गर्नुपर्ने छ। थाहा छैन, कति समय लाग्ने हो।

हुन त ‘गाह्रो छ र त गर्नु छ’ भन्ने गरिन्छ। तैपनि एक हिसाबले म सजिलो छाडेर गाह्रो ठाउँमा पाइला चाल्दै थिएँ र गाह्रोमा पाइला राख्न पनि कठिन हुने रहेछ। यहाँ आफूलाई एउटा स्तरमा उभ्याइसकेकी छु तर अब फेरि एउटा बच्चाले जसरी नयाँ परिचय बनाउनुपर्ने छ। थाहा छैन, त्यो बनाउन कतिको सक्छु? यदि मैले आफूलाई अब्बल साबित गरेँ भने पनि पछि यहाँ बनाएको परिचय त पुरानो भइसक्छ होला। अहिलेका सबै परिस्थिति फरक भइरहने होलान् म फर्किँदा।

आखिर जीवन यस्तै त रहेछ! नयाँनयाँ परिस्थिति आइरहन्छन् र कतिपय अवस्थामा नयाँ परिस्थितिलाई अँगाल्दै जाँदा पुराना चिजहरू छुट्दै पनि जान्छन् र केवल याद बनेर बस्छन्। त्यो रात एकातिर आँसु र अर्कातिर सपनाहरूले सँगसँगै यात्रा गरे। मनले एउटा मात्रै कारणले हिम्मत जुटाइरहेको थियो – यो बिदाइ मात्र होइन, नयाँ गन्तव्यसम्म पुग्न गरिएको साहसिक निर्णय पनि हो।

अन्तिममा मैले आफूभित्र साहस भरेँ। आफ्नो माटोलाई हृदयमा अँगाल्दै र नयाँ भविष्यप्रतिको उत्साहलाई साथ दिँदै यो रातले मेरो जीवनको एउटा युगको अन्त्य र अर्को युगको आरम्भ भएको घोषणा गरेँ। अब नयाँ युगमा प्रवेश गरेपछि त्यहाँ पनि खुब मेहनत गरेर आफूलाई अब्बल साबित गर्ने प्रयास गर्नेछु।

प्रकाशित: १९ माघ २०८१ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast