चित्रकलामा भविष्य देखेका सुनिल

विनोद परियार १९ माघ २०८१ १३:३०
450
SHARES
चित्रकलामा भविष्य देखेका सुनिल क्यानभासमा रङ भर्दै सुनिल।

बुद्धजन्मस्थल लुम्बिनीको चिनारी हो मायादेवी मन्दिर। बौद्धमार्गीहरू चाहन्छन् जीवनमा एक पटक मायादेवी मन्दिरअगाडि उभिएर तस्बिर खिचौँ। मायादेवी मन्दिरको काखैमा जन्मिएका सुनिल हरिजनले तस्बिरमात्रै होइन मायादेवी मन्दिरको दुरुस्तै चित्र (आर्ट) बनाएर आफ्नो सिर्जना प्रस्तुत गरिरहेका छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलवारका २३ वर्षीय सुनिल बुद्ध र लुम्बिनीसँग सम्बन्धित चित्र बनाएर यस क्षेत्रमा परिचित छन्। बुद्धजन्मस्थल लुम्बिनीमा जन्मिएका उनी सानैदेखि चित्रकला त्यसमा पनि बुद्ध, शान्ति, करुणा र  अहिंसाको सन्देश दिने कलामा रुचि राख्थेँ। त्यसमाथि उनी पढ्दै आएको मेत्तय गुरुकुल स्कुलको वातावरणले पनि उनलाई बुद्ध र शान्तिको कलातर्फ डोर्‍याउन मद्दत गर्‍यो।

त्यसो त सुनिलको चित्रकला मोह स्व. हजुरबुबा प्यारेलाल र पिता बाबुलालले जगाइदिएका हुन्। पिता बाबुलाल लुम्बिनी क्षेत्रका अब्बल मूर्तिकार र चित्रकारका रूपमा परिचित छन्। बाबुलालको कलाले नेपालमा मात्रै होइन रोजगारीका लागि कतार पुग्दा पनि उत्तिकै चर्चा पाएको छ। त्यहाँका राजा उनको कलाबाट प्रभावित भएर बाबुलालले बनाएका ३० वटा चित्र घरमै राखेका छन्।

‘हजुरबुााले देवीहरुको मूर्ति बनाउनुहुन्थ्यो, बुवाले पनि मूर्ति र चित्र बनाउनुहुन्थ्यो’, सुनिलले भने, ‘त्यही बेला कोइलाले घरको भित्ता र आँगन कोरेर चित्र बनाउन सिकेँ।’ घरमा मूर्ति र चित्र बनाउने हजुरबुबाको कामले नै प्रेरेणा मिलेको उनी बताउँछन्। मेत्तय गुरुकुलमा अध्ययनकै क्रममा सुनिलले विभिन्न प्रतियोगितामा भाग लिएका थिए।

‘जिल्लास्तरीय पेन्सिल आर्टमा मैलै ५ पटक भाग लिएँ, पुरस्कारहरु पनि जितेँ’, सुनिलले भने, ‘कक्षा ५ मा हुँदा पाटनमा भएको चित्रकला प्रतियोगितामा प्रथम भएपछि झन हौसला बढ्यो।’

सुनिलले कक्षा १२ सम्म लुम्बिनीकै मेत्तय गुरुकुलबाट गरेका हुन्। सानैदेखि पेन्सिल आर्ट गर्दै चित्रकलामा रमाएका सुनिल अहिले आफ्नो सीपलाई व्यावसायिक बनाउन ललितकला क्याम्पस काठमाडौँमा फाइन आर्टमा स्नातक अध्ययनरत छन्।

सुनिलले क्यानभासमा उतारेको मायादेवी मन्दिर।

‘मेरो हजुरबुबा, बुबाहरुले पढेर यसमा लाग्नुभएको थिएन, मैले अध्ययन गरेरै आर्टमा आफूलाई चिनाउनुपर्छ भनेर ललितकला पढेको छु’, सुनिलले भने। उनले हजुरबुबादेखि सुरु भएको मूर्ति र चित्रकलालाई आफूले आधुनिक युगसँग जोडेर अन्तर्राष्ट्रियकरण गर्ने योजनामा रहेको बताए। ‘सानैदेखि यो फिल्डमा काम गरिरहेको थिएँ, विदेशी कलाकारको जीवनी पनि पढेँ’, उनले भने, ‘भिजुअल आर्टको डिमान्ड र बजार दुवै देखेकाले यता लागेको छु।’

सुनिलले आफ्ना लागि चाहिने खर्चको जोहो पनि आफैँ जुटाइरहेका छन्। ‘बुवाले धेरै दुःख गर्नुभयो, हाम्रै लागि विदेशमा अझै पनि काम गरिरहनुभएको छ। त्यसैले मैले रुममै वर्क स्पेस बनाएर आर्ट गरेर आफ्नो खर्च व्यवस्था गरेको छु’, उनले भने। सुनिल अध्ययनसँगै आफ्नो कलालाई निखार्दै आर्टमै जीवन बिताउने योजनामा छन्।

क्यानभासमा उनी नयाँनयाँ थिमका चित्रहरु कोर्छन्। ‘बुद्ध, शान्ति र करुणाका सन्देश दिने चित्र पहिल्यैदेखि बनाइरहेको थिएँ, अब समाजलाई कलामार्फत डोर्‍याउने चित्र बनाउने प्रयत्नमा छु’, उनले आफ्नो योजना सुनाए।

त्यसो त सुनिलले बनाएका कला लुम्बिनी वरपर देखिन्छन्। लुम्बिनीस्थित होटल पिसल्यान्डमा उनले बनाएको आर्टले जोकोहीलाई मोहित तुल्याउँछ। उनले नेपालका चर्चित कलाकार र व्यक्तिहरूको लाइभ पेन्टिङ पनि गरेका छन्। यसका अतिरिक्त वात्सल्य, प्रेम, करुणा, प्रकृति र शान्तिका सन्देश दिने चित्रकला सिर्जना गरेका छन्। उनको बुझाइमा कलालाई स्वीकार गरे पनि समाजले चित्रकारलाई पेसाका रुपमा अझै पनि सम्मान गर्दैन। यही कुरालाई ध्यानमा राखेर चित्रकार पनि डाक्टर, इन्जिनियर वा यस्तै सम्मानित पेसा हो भन्ने बुझाउने इच्छा उनको छ।

‘कला सोचको प्रतिबिम्ब हो, क्यानभासमा पोतिएका रङहरुले मान्छेको सोच नै परिवर्तन गराउन सक्छ’, सुनिल भन्छन्, ‘हजार शब्दले भन्न नसक्ने कुरा एउटा चित्रले उतार्छ, त्यो शक्ति भएकाले पनि म आर्टमा झन् बढी लागिरहन्छु।’ उनी कलामै उच्च शिक्षा अध्ययनका लागि विदेश जाने योजनामा छन्।

‘विश्वव्यापी रुपमा आर्टको क्रेज बढ्दो छ। म परिवारको विरासत राख्न चाहन्छु, लुम्बिनीको इज्जत फैलाउन चाहन्छु’ उनले आफ्नो सपना सुनाए। आर्थिक अभावका कारण बुवा बाबुलाल कतारमा रोजगारीका जानुपरेको तितो अनुभव छ सुनिलसँग। यद्यपि बुबा कतार गएपछि कलाले थप ठाउँ पायो। आर्थिक अभावसँग जुध्दै यो परिवारले कलामा बिताएको संघर्षले अब प्रतिफल दिँदैछ।

२० वर्षदेखि कतारमा रहेका सुनिलका बुबाको कला कतारी राजा सेख तमिम बिन हमाद अल थानीको घरमा पुगेको छ। ‘मेरो बुवाले गरेको संघर्ष र सपनालाई मैलै पूरा गर्ने अठोट गरेको छु’ सुनिल भन्छन्, ‘म आर्टबाटै आफूलाई चिनाउन चाहन्छु।’ २०५७ साल फागुनमा जन्मिएका सुनिल घरका जेठो छोरा हुन्। उनका तीन बहिनी र एक भाइ छन्।

प्रकाशित: १९ माघ २०८१ १३:३०

प्रतिक्रिया

One thought on “चित्रकलामा भविष्य देखेका सुनिल

  1. “सानोक्षदा उनको संसारलाई हेर्ने शैलीनै फरक थियो।एउटा राम्रो कलाकार सँगै उनी एउटा राम्रो मान्छे पनि थिए सदै आफ्नो कलाको संसारमा रमाइलो मान्ने उनी साथीभाईको समु कलाले मात्र न भै आफ्नो मिलनसार र सायोगी भावनाले पनि प्रिये थिए “- सुनिलको बल्लेकालको मित्र आशिष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast